नेपाली समाजमा विभिन्न प्रकारका महिला हिंसाका घटना भइरहेका छन्। घरपरिवार र कार्यस्थलमा महिला हिंसाको सिकार हुँदै आएका छन्। सामाजिक र सांस्कृतिकरूपमा महिला हिंसापीडित बन्दै आएका छन्। बलात्कार, बलात्कारको प्रयास, चेलीबेटी बेचबिखन, बोक्सीको आरोपलगायतका घरेलु हिंसा आदिबाट महिला निरन्तर पीडित बन्दै आइरहेका छन्। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्याङ्कअनुसार महिला सबैभन्दा धेरै घरेलु हिंसाबाट पीडित बन्ने गरेका छन् र यस्तो घटना हरेक वर्ष बढ्दो क्रममा छ।
आर्थिक वर्ष २०६७/६८ मा मात्रै एक हजार ३५५ वटा यस्ता घरेलु हिंसाका घटना भएको तथ्याङ्कबाट देखिएको छ। तर हिंसा उन्मूलन भने घट्नुको साटो दिनदिनै बढ्दै गइरहेका छन् र पीडितले न्यायसमेत पाउन नसकेको अवस्था छ। यसका विभिन्न कारणमध्ये एउटा सामाजिक-सांस्कृतिक सचेतनाको कमी हो भने अर्कोचाहिँ हो न्यायालयसम्मको पहुँचको कमी। यसका साथै न्यायप्रणालीलाई नै अपव्याख्या र दुरुपयोग गर्ने प्रवृत्तिले पनि पीडितमा न्यायालय धाउने साहसमा कमी आउने गरेको छ। यसमा परिवर्तन नआएसम्म अर्थात् सबैमा सम्यक् रुपले न्यायको पहुँच नभएसम्म। अछामको सामूहिक बलात्कार घटनाकी पीडित सुन्तली धामी र बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरिएकी चितवनकी ढेगनीदेवी महतोदेखि बोक्सीकै आरोपमा आफन्तबाटै दुवै आँखा फोडिएकी जोरपाटीकी सुनिता पुडासैनीजस्ता सयौं पीडित र तिनका परिवारका सदस्यले न्यायका लागि रोइरोइ भौंतारिएर हिँड्नुपर्नेछ भने पीडकहरूचाहिँ पीडितकै सामु निर्भयतापूर्वक हाँसीहाँसी हिँड्दैछन्।
महिला हिंसा र महिला हकअधिकारका विषयमा आवाज उठाउने व्यक्ति तथा सङ्घसंस्थाले पनि सशक्त ढङ्गमा आवाज उठाउने नगरेको र विदेशीले दिएको दान पचाउने उद्देश्यमात्रै लिने गरेकाले महिलाविरुद्ध हुने गरेका घरेलु तथा यौनजन्य हिंसाका घटनाको उन्मुलन हुनसकेको छैन। सहरी क्षेत्रका महँगा होटेलमा सेमिनार र गोष्ठी गरेर महिलाविरुद्ध हुने गरेका हिंसा र महिला हकअधिकारका कुरा गरेकै भरमा मात्रै महिलाविरुद्ध हुने हिंसाको उन्मूलन र आम महिलाको विकास पनि हुनसक्दैन। भाषण, गोष्ठी, सेमिनार, र्याली र जनचेतनामूलक कार्यक्रम गरेर पनि महिलाविरुद्धको हिंसा उन्मूलन हुनसक्दैन। यसका लागि सामाजिक र सांस्कृतिक व्यवहारमै परिवर्तन हुनुपर्दछ। सडकमा आवाज उठाएरमात्रै महिला हिंसाको क्रम रोकिन सक्दैन।
हिंसापीडित महिला विभिन्न माध्यमबाट न्यायका लागि न्यायालयसम्म पुगे पनि निष्पक्ष न्याय भने कमैले मात्रै पाउने गरेका छन्। न्यायसम्पादनकै क्रममा सामाजिक दृष्टिकोणले पीडितलाई उपहासको पात्र बनाइने अथवा न्यायसम्पादनको प्रक्रियालाई धेरै लामो बन्नेे पीडितले न्यायका लागि पहलै गर्न नचाहने अवस्था विद्यमान छ। कसैगरी न्यायालय अथवा न्यायकर्तासम्म त्यस्ता पीडित पुगिहाले पनि न्याय दिलाउनेहरू आर्थिक प्रलोभनमा बिक्ने अनि पावरका सामु झुक्ने र डराउने प्रवृत्तिले गर्दा पीडकहरूको हौसला घट्नुको साटो बढ्ने गरेको छ भने पीडितले नै मुख लुकाएर हिँड्नुपर्ने परिस्थिति छ। महिलाविरुद्ध हुने हिंसा उन्मूलन र महिला हकअधिकारको आवाज उठाउँदा यी विषय र सन्दर्भलाई पनि सशक्त ढङ्गमा सम्बोधन गर्नु आवश्यक छ।
बोक्सीको आरोपमा, चरित्रहीनको आरोपमा र दाइजोका निहुँमा पनि महिलामाथि अन्याय र अत्याचार हुँदै आएका छन्। विशेषगरी समाजका दलित तथा गरिब परिवारका वृद्ध महिला, जो राम्रोसित एक छाक पेटभरि खान नपाएर शारीरिकरूपमा कमजोर र दुब्ला देखिएका छन् र आङ्भरि एकसरो कपडा पनि लाउन नपाएर झुत्रेझाम्रे देखिएका छन्, जसको अनुहार हेर्दा केही नराम्रो र अस्वाभाविक देखिन्छ, तिनैलाई समाजले बोक्सीको रूपमा हेर्ने गरेका छन्। व्यक्तिगत रिसइबी र बदलाको भावनाले त्यस्ता महिलालाई शारीरिक र मानसिक यातना दिएर सन्तोष मान्ने निर्दयी र अपराध मनोवृत्तिका मानिसका कारण सोझासिधा र गरिब परिवारका निर्दोष वृद्ध महिलाले अनाहकमा शारीरिक र मानसिक यातना भोग्नुपरिरहेको छ। आजको एक्काइसौं शताब्दीमा पनि यस्तो अन्धविश्वासका कारण समाजका महिलाले पीडित बन्नुपर्ने अवस्थामा रहनु ज्यादै दुःखको कुरा हो। यस अवस्थालाई बदल्न वा यस्तो अवस्थामा सुधार ल्याउन त्यस्तो अन्धविश्वास हटाउनेतर्फ जनचेतना जगाउनु र पीडक वा अपराधीमाथि कडा कारबाहीको कानुनी व्यवस्था हुन अति आवश्यक भइसकेको छ।
यद्यपि बोक्सीको आरोपमा निर्दोष महिलामाथि कुटपिट गर्ने, निरन्तर शारीरिक तथा मानसिक यातना दिने र हत्यासमेत गर्नेजस्ता जघन्य अपराध गर्ने दोषी तथा अपराधीलाई कडा कारबाही हुन सकिरहेको छैन। समाजका उच्च जातिका भनिने र हुनेखाने वर्गका मानिसबाटै यस्तो अपराध हुँदै आइरहेकाले हरतरहबाट त्यस्ता अपराधीले कारबाही हुनबाट उन्मुक्ति पाउँदै आएका छन्। त्यस्ता अपराधीलाई कारबाही गराउन र दण्डसजाय दिलाउन त्यति धेरै सहयोग र समन्वय नगर्ने हुँदा त्यस्ता अपराधीको मनोबल घट्न सकेको छैन। बोक्सीको अस्तित्व नरहेको र बोक्सीको आरोप लगाइएका महिला निर्दोष रहेको भन्ने जान्दाजान्दै पनि सामाजिकरूपमा बेइज्जत गर्नकै लागि मात्रै पनि बोक्सीको आरोप लगाएर त्यस्ता महिलामाथि शारीरिक आक्रमण गरी शारीरिकलगायत मानसिक यातना दिन उद्यत हुनेहरूको सङ्ख्या अपेक्षितरूपमा घट्न सकेको छैन। दलित जातिमा पर्नु, गरिब हुनु, गरिबीकै कारण मीठोमसिनो खान नपाएर Åष्टपुष्ट बन्ननसक्नु र सुकिलोमुकिलो लाउन नसक्नुले गर्दा बोक्सीको आरोप खेप्नुपर्ने र यस्तो आरोप खेप्न नसकेर परिवार नै समाजबाट विस्थापित हुनुपरेका वा भएका घटना पनि धेरै छन्। यस पङ्क्तिका लेखकका एक मित्र, जो नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रमा निरन्तर लागिपरेका छन्, उनको परिवारले पनि यस्तै आरोप खेप्न नसकेर जन्मेहुर्केको थातथलो छोडेर अन्यत्र विस्थापित हुनुपरेको थियो। हालै राजधानीको जोरपाटीमा बोक्सीको आरोपमा सुनिता पुडासैनीमाथि भएको सांघातिक हमलाको समाचार सञ्चारमाध्यमबाट थाहा पाएपछि उनले दुःखी हुँदै आˆनो कथा सुनाएका थिए।
नेपालको विशेषगरी तराई क्षेत्रमा बोक्सी वा डाइनको आरोपमा महिलाहरू शारीरिक र मानसिक यातनाको सिकार बन्ने गरेका छन्। कहिलेकाहीं पुरुषलाई समेत बोक्साको आरोपमा यसरी यातना दिने गरिएका घटना पनि सञ्चारमाध्यम मार्फत सार्वजनिक हुने गरेका छन्। सञ्चारमाध्यममा आएपछि मात्रै यस्ता घटना सार्वजनिक हुने गरेकाले सञ्चारमाध्यममा नआएका धेरै घटना गाउँठाउँमै सीमित हुने गरेका छन्। यसो हुँदा सयौंको सङ्ख्यामा हुने यस्ता घटनाका पीडितले चुपचाप यातना सहेर बस्नुपर्ने अवस्था छ भने समाजले लगाएको बोक्सीको आरोपका कारण आˆनो र परिवारको बेइज्जती भएको सहन नसकेर त्यस्ता आरोपीले आत्महत्यासमेत गर्ने गरेका घटना पनि बेलामौकामा सार्वजनिक हुने गरेका छन्।
निर्दोष महिलालाई बोक्सीको आरोपमा शारीरिक तथा मानसिक यातना दिनु र यसैका कारण सिङ्गै परिवारको बदनाम गराउनु जघन्य सामाजिक अपराध हो तर यो अपराधलाई नियन्त्रण गर्न वा त्यस्तो अपराध गर्न निरुत्साहित गर्ने बलियो संयन्त्रको विकास भने सन्तोषजनक ढङ्गमा हुनसकेका छैनन्। कानुनी जानकारकै अनुसार पनि यो मामिलामा कानुनी व्यवस्था पनि फितलो भएका कारण त्यस्ता अपराधीको मनोबल घट्न नसकेको बताइएको छ।
हालै काठमाडौंको जोरपाटीमा बोक्सीको आरोपमा सुनिता पुडासैनीमाथि भएको साङ्घातिक आक्रमण र त्यसै आक्रमणको फलस्वरूप उनले आˆना दुवै आँखा गुमाउनुपरेको घटनालाई हेर्ने हो भने पनि त्यस्तो आरोप अत्यन्तै निराधार र निरर्थक रहेको देखिन्छ। अन्य कारणले उब्जिएको व्यक्तिगत रिसइबी, बदलाको भावना वा सम्पत्ति वा आर्थिक कारणले प्रेरित भई निराधार आरोप लगाई गाली, बेइज्जती गर्ने अथवा व्यक्तिको चरित्रहत्या गर्ने र सामाजिक दृष्टिकोणले बदनाम गराउने निहित उद्देश्यले त्यस्तो आरोप लगाउने गरेको देखिन्छ कतिपय अवस्थामा भावावेशमा आएर भौतिक आक्रमणसमेत गर्ने गरेको देखिन्छ। यद्यपि त्यस्ता आक्रमणकारी दोषी वा अपराधीहरूलाई राज्यले कठोर कानुनी सजाय दिन नसक्दा तिनले नैतिकरूपमा र मानसिकरूपमा पनि आफू दण्डित भएको महसुस गर्ने गरेका छैनन्। केही दिनको प्रहरी थुनछेकपछि नै तिनले उन्मुक्ति पाउने हुँदा तिनले नैतिक जिम्मेवारीबोध र सामाजिक उत्तरदायित्वको समेत बोध गर्ने गरेका छैनन्। यसो हुँदा पीडकले भन्दा पीडितले नै बढी सामाजिक मूल्य चुकाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य हुनसकेको छैन।
बोक्सीको आरोपमा हत्या गरिएकी चितवनकी ढेगनीदेवी महतोको परिवारलाई राज्यले दश लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरेको थियो भने जोरपाटी घटनाका पीडितलाई पनि राज्यले तत्काल दुई लाख रुपियाँ क्षतिपूर्ति घोषणा गर्यो। आˆना नागरिकप्रतिको राज्यको दायित्वका दृष्टिकोणले यो सकारात्मक पक्ष भए पनि दोषीबाट भराउनुपर्ने क्षतिपूर्ति राज्यले बेहोर्ने परिपाटी बस्दै गयो भने दोषी वा अपराधीको मनोबल बढ्न सक्छ। यसरी हरेक कुरामा राज्यले क्षतिपूर्ति बेहोर्ने परिपाटी बस्दै गयो भने एकातिर पीडकको मनोबल घट्न सक्दैन र पीडितले पनि तत्काल राहत पाए पनि पीडकले सजाय नपाएसम्म मानसिक शान्ति र सन्तुष्टि पनि प्राप्त गर्न सक्दैनन् भने राज्यले क्षतिपूर्ति प्रदान गर्ने परिपाटीले दोषी, पीडक वा अपराधीको राज्यले संरक्षण गर्न खोजेको गलत सन्देश पनि जनमानसमा सम्प्रेषण हुनसक्छ।
यसै सन्दर्भमा सरकारले बोक्सीको आरोपसम्बन्धी -कसुर तथा सजाय) ऐन अध्यादेशमार्फत ल्याउने तयारी भइरहेको जनाइएको छ। दुर्गम गाउँदेखि राजधानीसम्म एकपछि अर्को महिलालाई बोक्सीको आरोपमा अमानवीय यातना दिन थालिएपछि सरकारले अध्यादेशमार्फत ऐन ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. त्रिलोचन उप्रेतीले जानकारी गराएको समाचारमा उल्लेख छ। उक्त ऐनमा बोक्सीको आरोप लगाउने व्यक्तिलाई एक वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था र १० हजारदेखि एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको पनि बताइएको छ। उक्त ऐन लागू भएपछि पक्कै बोक्सीको आरोपमा महिला पीडित हुने घटनामा न्यूनता आउने अपेक्षा गर्न सकिन्छ।