काठमाडौँ, चैत २७ गते। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले 'एनसेलसँग सबै दङ्ग' उपहार योजना अन्तर्गत छैटौं हप्ताको उपहार घोषणा गरेको छ।
एनसेलद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा छैटौं हप्ताको पनि बिजेताहरू घोषणासँगै पाँचौँ हप्ताका उपहार विजेता मकवानपुरका राजन पण्डितलाई ब्ल्याकबेरी स्मार्टफोन र राजविराजका सुरज चौरसियालाई नगद एक लाख रूपियाँ प्रदान गर्नुका साथै आइप्याड र एलसीडी टेलिभिजनका विजेतालाई उपहार सङ्कलन गर्नका लागि आग्रह गरेको छ।
छैटौं हप्ता गरिएको लक्की ड्रमा पनि नगद एक लाख रूपियाँ, ब्ल्याकबेरी स्मार्टफोन, आइप्याड र एलसीडी टेलिभिजन उपहारको उपहार विजेता बन्न सफल ग्राहकहरूको नम्बर सार्वजनिक गरिएको छ।
योजनाको अन्तिम अर्थात् आगामी हप्ता २०६९ वैशाख ५ गते दिन बम्पर उपहारस्वरूप कार, नगद दश लाख रूपियाँ र मोटरसाइकलको घोषणा गरी विजेताहरूलाई प्रदान गरिने एनसेलले जनाएको छ। सात हप्तासम्मका लागि सञ्चालनमा ल्याइएको योजनामा एनसेलका पि्रपेड तथा पोस्टपेडअन्तर्गतका सम्पूर्ण ग्राहक सहभागी हुन सक्नेछन्। यो योजनामा एनसेल कनेक्टका ग्राहकहरू सहभागी हुन नपाउने एनसेलले जनाएको छ।
योजना अवधिभर प्रत्येक एक हप्ताभित्र कम्तीमा ५० रूपियाँसम्मको ब्यालेन्स रकम खर्च गरेका ग्राहकलाई एसएमएसमार्फत एउटा नम्बर प्रदान गरिन्छ। ग्राहकले एक हप्ताभित्र १०० रूपियाँ खर्च गरेमा भने २ वटा लक्की नम्बरहरू अर्थात् एक हप्ताभित्र ५० रूपियाँको दरमा जति गुना रकम खर्च गरिन्छ, त्यसैको अनुपातमा नै लक्की नम्बरहरू प्राप्त हुनेछन्।
जसको नाममा सिम दर्ता भएको छ सिम पनि सोही व्यक्तिले नै चलाउनुपर्छ र उपहार प्राप्त गरेमा पनि सोही व्यक्तिले मात्र प्राप्त गर्छ भन्ने सन्देश हाम्रा ग्राहकहरूले विस्तारै बुझ्दै गएको भन्दै कम्पनीका प्रमुख व्यापारिक अधिकृत अब्दुजावोर कायुमोभले बताउनुभयो।