काठमाडौँ, चैत २८ गते। आपूर्तिमन्त्री लेखराज भट्टले कर्मचारीको असहयोगका कारण आयल निगमलाई चुस्त र प्रभावकारी बनाउन नसकेको बताउनुभएको छ।
ग्यास बिक्रेता महासङ्घद्वारा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री भट्टले सो कुरा बताउनुभएको हो।
कर्मचारीले निगमको नाफा देखाउने तर राजस्व चुहावट नदेखाउने प्रवृत्तिले नोक्सानी बढ्दै गएको उल्लेख गर्दै उहाँले कर्मचारीद्वारा झुटको खेती हुने गरेको बताउनुभयो।
मन्त्रालयमा गर्न सकिने काममा समेत कर्मचारीको असहयोग रहेको भन्दै उहाँले कर्मचारीकै असहयोगका कारण जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताउनुभयो।
कार्यक्रममा निगमका कायममुकायम निर्देशक सुरेशकुमार अग्रवालले निगम घाटामा गइरहेको बताउँदै एउटै मूल्य कायम नभएसम्म यो अवस्था रहने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य अनुसार नेपालमा पनि घटबढ हुनसके निगमले घाटा खेप्नु नपर्ने बताउनुभयो।
ग्यास बिक्रेता महासङ्घका महासचिव महेश्वर श्रेष्ठले सरकारले ग्यास डिलरलाई व्यवस्थित गर्न लागेको तर यसलाई तोड्नका लागि केही माफियाहरू सक्रिय रहेको बताउनुभयो। उहाँले माफियाहरूबाट सजग रहनुपर्नेमा पनि जोड दिनुभयो।
कार्यक्रममा ग्यास बिक्रेता महासङ्घका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले सरकारका योजना र नीति स्पष्ट र कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिनुभयो।
आर्थिक पत्रकार समाजका महासचिव विज्ञान अधिकारीले मन्त्रीसँग नजिक रहेर केही माफियाले समस्या उत्पन्न गराउन खोजेको बताउँदै त्यसबाट सजग रहन अनुरोध गर्नुभयो।