जनकपुरधाम, चैत २८ गते। राष्ट्रपति डा.रामवरण यादवले आउँदो जेठ १४ गतेभित्र सङ्घीयतासहितको संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ।
जनकपुरमा आजदेखि सुरु अन्तर्राष्ट्रिय मैथिली नाट्य महोत्सवको उद्घाटन गर्दै डा. यादवले भन्नुभयो- "तोकिएको समयभित्रै संविधान जारी गर्ने कुरामा दलहरूबीच सहमति भइसकेको छ।"
उहाँले भन्नुभयो- "जनचाहना अनुरूप संविधान बन्ने कुरामा म विश्वस्त छु। त्यसको लागि अन्य सम्बन्धित पक्षले समेत आवश्यक सहयोग गर्नुपर्दछ। उहाँले दलहरूबीच सहमति कायम गर्न प्रमुख चार राजनीतिक शक्तिको भूमिका महìवपूर्ण हुनेसमेत बताउनुभयो।
सबै राजनीतिक दललाई शान्तिप्रक्रिया र संविधान लेखन कार्यमा तदारुकतापूर्वक लाग्न आफूले सक्रिय पहल गरिरहेको हँुदा जनचाहना र सङ्घीयतासहितको संविधान आउने निश्चित रहेको डा. यादवले बताउनुभयो।
राष्ट्रपति डा. यादवले मुलुकमा गणतन्त्रलाई संस्थागत गर्नका लागि शांन्ति र संविधान अपरिहार्य रहेकाले राजनीतिक दलहरूलाई दलीय र निहित स्वार्थभन्दा माथि उठेर यसलाई पूर्णता दिन आग्रह गर्नुभयो।
उहाँले मधेस तराई, पहाड र हिमालका उपेक्षित, उत्पीडित, शोषित, दलितलगायत सबैको हकहित, पहिचान, स्वाभिमानको प्रत्याभूति दिलाउने किसिमको संविधान लेखन कार्य भइरहेको जानकारी पनि दिनुभयो।
उहाँले सार्वभौम नेपाली जनता र राष्ट्रिय अखण्डतामाथि कुनै किसिमको आँच आउने कार्यमा नलाग्न सबैलाई आग्रह गर्नुहुँदै राष्ट्रियतालाई मूलमन्त्र बनाएर आगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता रहेको बताउनुभयो। राष्ट्रपति डा. यादवले मिथिलाको भाषा, कला-संस्कृति, साहित्य, नाट्य, शिक्षाको क्षेत्रमा अग्राणी भूमिका रहेको कुरा इतिहासमा रहेकाले यसको संरक्षण सम्वर्द्धन, विकासमा राज्यको तर्फबाट ध्यान जानु आवश्यक रहेको बताउनुभएको छ।
उहाँले मैथिली भाषाका लेखक, नाटकार, फिल्मकार, कलाकारहरूले मुलुकमा शान्ति अमनचयन, आपसी भाइचारा, समन्वय स्थापना गराउने कार्यमा टेवा पुग्ने लक्ष्य राखी मैथिली भाषाको ठूलो पर्दाको फिल्महरू निर्माणमा लाग्नुपर्ने सुझावसमेत दिनुभयो। विश्वकै नाट्य क्षेत्रमा मैथिली नाट्य कलाको स्थान अग्रस्थानमा रहेको र नेपालको मल्लकालमा राजाहरूले स्वयं मैथिली भाषाका नाटकहरू लेखेर मञ्चन गरेको हुँदा आज पनि मैथिली भाषाका सबै विधाको प्रवर्द्धन, सम्वर्द्धन र विकासलाई अग्रगति दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
सो अवसरमा राष्ट्रपति डा.यादवलाई मिथिला पाग, दोसल्ला, धोती, कुर्ता र मायाको चिनोसहित सम्मानित गरियो।
महोत्सव मूल समारोह समितिका संयोजक सञ्जयकुमार मिश्रको सभापतित्वमा भएको सो उद्घाटन सत्रमा प्राज्ञ रमेशरंजन झा, प्राज्ञ राम भारोष कापडी भ्रमर, भाषाविद् डा. रामअवतार यादव, पूर्वमन्त्री रामचन्द्र झा, लेखा समितिका सभापति रामकृष्ण यादवसहितले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।
महोत्सवमा नेपाल र भारतका गरी आठवटा नाट्य संस्थाले नाटक मञ्चन गर्नेछन्।
महोत्सवको उद्घाटन गर्नुभन्दा अघि राष्ट्रपति डा.यादवले धनुषामा पर्ने चुरिया क्षेत्रको स्थलगत निरीक्षण गर्नुभयो।
स्थलगत निरीक्षणपश्चात स्थानीय वासिन्दासँगको कुराकानीमा राष्ट्रपति डा. यादवले भन्नुभयो, "चुरे क्षेत्रमा भएको वनफँडानीकै कारण प्रत्येक वर्ष यस क्षेत्रका जनता बाढीको चपेटामा पर्ने गरेका छन्। चुरियाको संरक्षण नगरी धनुषालाई बाढीको प्रभावबाट बचाउन नसकिने उहाँले बताउनुभयो।
राष्ट्रपति डा.यादवले विगतका वर्षहरूमा बाढीबाट प्रभावित भएको क्षेत्रको समेत स्थलगत निरीक्षण गर्नुभयो। तीव्र गतिले भइरहेको वनफँडानीलाई समयमै रोक्न सकिएन भने आउँदो तीन दशकभित्र यस क्षेत्रका अधिकांश भूभाग मरुभूमिमा परिणत हुने उहाँले उल्लेख गर्नुभयो।
विगतका वर्षहरूमा आएको बाढीका कारण धनुषा उत्तरी क्षेत्रका दर्जनौँ गाउँका हजारौँ घरपरिवार विस्थापित भइसकेका छन्। चुरिया क्षेत्रको निरीक्षण गर्ने क्रममा ठाउँ-ठाउँमा राष्ट्रपति यादवको भव्य स्वागत गरिएको थियो।
सोही क्रममा बाढी प्रभावित क्षेत्रका पीडित जनताले राष्ट्रपति डा.यादव सामु आफ्नो पीडा पोखेका थिए। यस क्षेत्रको समस्याको विषयमा सरकारलाई जानकारी गराउनुको साथै समाधानको लागि आफूले गम्भीरतापूर्वक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
महोत्सवको उद्घाटन पश्चात राष्ट्रपति डा. यादवले आफू अध्ययन गरेको श्री सरस्वती माध्यमिक विद्यालय, जनकपुरको निरीक्षण गर्नुभयो। निरीक्षणको क्रममा बिगि्रँदैगएको विद्यालयको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति डा. यादवले प्रधानाध्यापक र शिक्षकहरूसँग असन्तुष्टि व्यक्त गर्नुभयो।
विद्यालयको शैक्षिक अवस्था खस्किँदै गएकोप्रति आक्रोश व्यक्त गर्दै उहाँले भन्नुभयो- "सरस्वती स्कुल भनेको यस क्षेत्रको शान हो, यसलाई बचाई राख्नुपर्दछ।
सोही समारोहमा राष्ट्रपति यादवले मैथिली नाट्यकलाक्षेत्रमा उल्लेखनीय योगदान पुयार्उनुभएका पाँचजना स्रष्टा रामरेख पंडित, विष्णुकान्त मिश्र, नित्यानन्द मिश्र, रमेश रंजन र राधाकान्त झालाई सम्मानित गर्नुभयो।