पूर्वी नेपालका ओखलढुङ्गादेखि ताप्लेजुङसम्मका पहाडी जिल्लाको जनजीवन गएका ५० वर्षमा चिन्नै नसक्नेगरी रूपान्तरित भैसकेको छ। ५० वर्ष अघिसम्म त्यहाँको ग्रामीण जीवनशैली २००७ साल अगाडिको समाजको जस्तै पुरानो र पिछडिएको थियो। २००७ सालपछिको नवजागरण र स्वतन्ताको प्रारम्भिक समयमा त्यसबेलाका इलाका थुमहरूमा फाट्टफुट्ट आधुनिक ढाँचाका विद्यालय खुल्न थालेका थिए तर तिनको व्यवस्थापकीय कमजोरी, शिक्षित जनशक्तिको अभाव, जनतामा शैक्षिक चेतनाको कमी अत्यधिक गरिबी र अपर्याप्त विद्यालयका कारण गाउँमा शिक्षाको अवसर थिएन। त्यसबेला शिक्षा हासिल गर्नु भनेको ठूलो उपलब्धि मानिन्थ्यो।
आम्दानीको मुख्य स्रोत परम्परागत खेती थियो। नगदेबाली प्रायः लगाइँदैनथ्यो किनभने देशभित्रको बजारमा नगद तिरेर कृषि उपज किन्ने चलन पनि थिएन न त सामथ्र्य नै थियो। खेतीपातीको शैली पुरानै थियो। मध्यम वर्गीयले समेत च्यातिएका घुँडा टालेका पुराना कपडा लगाउँथे। धेरै हुनेखानेले पनि मेसिनले पेलेका होइन कि काँचा छालाका जुत्ता लगाउँथे भने कैयौँ मध्यमवर्गीयले पनि जुत्ता नलगाई हिंड्ने र हाटबजार आदि अलिक लामो बाटो हिंड्नुपथ्र्याे भने जुत्ता हुनेहरू पनि जुत्ता फाट्ने डरले हातमा बोकेर नाङ्गै खुट्टा हिंडेका देखिन्थे। सदरमुकामका अड्डा अदालत धाएर गाउँलेहरूलाई मुद्दा लगाएर धनी हुने र जग्गा जोड्ने गरिन्थ्यो। सदरमुकामसम्म गएर तारिख लिनुभन्दा खेतबारी सुम्पेर हार्ने गाउँले बढी हुन्थे। यसबाट ठालुहरूको मनोबल झन् बढ्दथ्यो।
थोरै सङ्ख्याका मध्यम वर्गीयसँग मात्र थोरै क्रयशक्ति हुन्थ्यो। गाउँमा अलिकति खाद्यान्न उभारेर बेच्न सक्नेहरूले अनिकाल लागेर बेसाहा चलेका बेला पैसा कमाउँथे। यो लेखकले पाठशाला जानेबेलामा पनि चक्रवर्ती गणितको पुस्तक किन्नका लागि भोजपुरबाट संखुवासभामा चुक अमिलो बेच्न लगेर चैनपुर बजारबाट अमिलो बेचेको नाफाले पुस्तक किनेको तीतो अनुभव छ। धरान बजारबाट एकटिन मट्टीतेल ढाक्रे भरियालाई बोकाएर ल्याई वर्षदिनभरि बाल्नुपर्दथ्यो। छोरीबुहारी खासगरी बुहारीहरूले पढ्न पाउने त कुरै थिएन, बेलामा सुत्न र खानसमेत पाउँदैनथे। बिहान ४ बजेदेखि राति १०/११बजेसम्म नै बुहारीले काम गर्नुपर्दथ्यो। ढिकी,जाँतोमा कुटानी—पिसानी गर्न चारै बजे उठयो। त्यो सकेपछि घाँस—दाउरा गयो, अनि हतार—हतार आएर धानको भात, मकैको भात, वा ढिँडो सासूले जे ठीक पारिदिएकी छन्, त्यो खायो अनि भरिसक्य भाँडा पनि मोल्यो र गयो अर्काको घरको मेलामा पर्म तिर्न वा पर्म लाउन। यही थियो छोरी—बुहारीको दिनचर्या। छोरी पनि काम गर्न सक्ने भएपछि विवाहका लागि माग्न आउँथे र विवाह गरेर पठाइदिन कल्याण देख्थे। घरमा उपभोग्य वस्तुको किनमेल गर्नुपर्यो भने हिउँदमा ढाकर बोकेर चार/पाँच दिन बाटाबाटामा वास बस्दै लामो समय लगाई धरान बजार गयो र केही आˆनो केही ज्यालामा अर्काको भारी बोकेर ल्याइदिने गर्दथे ढाक्रे किसानहरूले। वर्षभरि खेतबारीमा काम गर्यो अनि हिउँदभरि कि गोठ बस्यो, कि तास खेल्यो कि जाँगरिलो र बाठो छ भने पस्यो मुग्लान। झन्नै बीस सालसम्म नै यस्तै चलन थियो पूर्वी पहाडको।
विसं २०२० सालपछि जब ०१८ सालको कथित अराष्ट्रिय तत्वसँगको लडाइँ सरकारले साम्य पारेको घोषणा गर्यो पहाडबाट बाहिर बसाइँ सर्नेको धारो लाग्न थाल्यो। खासगरी तराईतिर मानिस ओइरिए। पूर्वी पहाडबाट तराईतिर बसाइँ सर्ने यो तेस्रो लहर थियो। पहिलो जुद्ध शमसेरको शासनकालमा,जब दोस्रो विश्वयुद्ध र भूकम्पले आधुनिकता र नयाँ परिस्थिति पैदा गर्यो। दोस्रो, २००७ सालको क्रान्तिपछि र तेस्रो २०१७ साल पछिको परिस्थितिमा।
बसाइँसराइको यो तेस्रो लहरले भने पूर्वी पहाडको जनजीवनमा निकै परिवर्तन ल्याउन सुरु गर्यो। बसाइँसराइ पनि व्यापकरूपमा हुनथाल्यो। त्यही बसाइँसराइका क्रममा पहाड छोडेर तराई र काठमाडौँमा लामो समय बिताएर यो लेखक जब चार दशकपछि पहाडका केही ठाउँमा पुग्यो, जनजीवनमा व्यापक परिवर्तन आएको र सामाजिक रूपान्तरण भएको प्रष्ट महसुस गर्यो। यद्यपि यो परिवर्तन र रूपान्तरणमा सरकारले दिएका कार्यक्रम र खर्चको देन रहेको कतै महसुस गर्न सकिंदैनथ्यो। यो रूपान्तरणमा सरकारले कुनै प्रकारको व्यवस्थापन गर्न सकेको पनि कतै देख्न पाइएन। तर सरकारी नीतिको प्रभाव भने यो परिवर्तनमा विश्लेषण गर्न सकिने अवस्था छ।
समाजमा बाहिरै देखापर्ने गरी देखिएका परिवर्तनमा ती क्षेत्रमा पुगेको विद्युत् प्रसारण र बाटोघाटोको ठूलो महत्व देखिन्छ। सगरमाथा अञ्चलका पहाडी जिल्लामा बाटोको अझै राम्रोसँग विस्तार भैसकेको छैन, न त कोशी अञ्चलका पहाडी जिल्लामा नदी र खोलामा पर्याप्त पुलपुलेसाको निर्माण भएर निर्बाध आवागमन नै हुनसकेको छ। तर पनि बिजुलीको लाइन र कामचलाउ सडकका अतिरिक्त बाहृय रोजगारी र नगदेबालीको क्रमशः विकास हुँदै जानाले पहाडमा समाजिक जीवनमा व्यापक रूपान्तरण भएको महसुस चार दशकपछि त्यहाँ पुग्ने जो कसैले सहजै गर्दछन्। आर्थिक स्तरमा आएको सुधार र बाहृयजगत्सँग बढ्दो सम्पर्कले गर्दा र दलगत राजनीतिक सङ्गठन, तिनले फैलाएको चेतना तथा घच्घच्याइ अनि बसाइँसराइ गरेर गएका आफन्तहरूको देखासिकीबाट पहाडी जनजीवनमा शिक्षाको आवश्यकता सबैजसो घरपरिवारले गर्ने गरेको पाइन्छ। समाज रूपान्तरणमा यस चेतनाको ज्यादै ठूलो महत्व छ। हरेक घरबाट जस्तो केटाकेटी स्कूल जाने गर्दछन्। छोरामात्र होइन छोरीले पनि पढ्नुपर्छ भन्ने चेतना र भावना व्यापक भैसकेको छ। अझ उन्नत शैक्षिक जागरुक परिवारमा बुहारीले पनि समय मिलाएर पढ्न जानुपर्छ भन्ने भावना प्रकट हुने गरेका छन्। चार—पाँच दशक अगाडिको तुलनामा यो स्थितिलाई आमूल परिवर्तन भएको भन्न सकिन्छ।
ती क्षेत्रमा बाटोले आवागमनलाई छिटो छिटो तुल्याएर देखासिकी तीव्र बनाएको छ भने उपभोग्य वस्तुमा पहुँच सरल तुल्याएको छ। त्योभन्दा पनि महत्वपूर्ण योगदान बिजुलीले पुर्याएको छ। कुटानी पिसानी गर्ने मिल सञ्चालनमा आउन थालेपछि ढिकीजाँतोबाट महिलाहरू खासगरी छोरी—बुहारीले फुर्सद पाएका छन्। यसैगरी ससाना हाफ इञ्च—एकइञ्चका पोलिथिन पाइपको विकासले टाढा/टाढा रहेको पानीको मुहानबाट घर आँगनमै पानी ल्याउन सम्भव भएपछि त झन् महिलाको दैनिक जीवनमा आमूल परिवर्तन नै ल्याइदिएको छ।
यातायातको विकासले भात पकाउने इन्धनमा पनि सरलता आएको छ। क्रयशक्ति बढ्दै गएकाले होला हाटबजारमा बिक्री हुने र खरिद हुने वस्तु पनि उसबेलाको तुलनामा निकै बाक्लै देख्न पाइन्छन्। पहिले बिक्री गर्ने चलन भएका वस्तु पनि बजारमा बिक्री भैरहेका देखिन्छन्। नगद प्रवाहका स्रोत धेरै बढेका छन्। हरेकजसो घरबाट वैदेशिक रोजगारमा जान थालेका छन्। कतिपय घरबाट त तीन/चारजना नै गएका छन्। बेसार,अदुवा, तरकारी, अमिलो,फलफूल, यहाँसम्म कि रुद्राक्ष दानासमेत नगद आम्दानीका स्रोत भएका छन्।
चिताउँदै नचिताएका मानिसले शिक्षा हासिल गरी सरकारी नोकरी गरेर आˆनो जीवनस्तर सुधारेका छन्। संक्षेपमा भन्नुपर्दा त्योबेलाको गाउँ र अहिलेको गाउँमा धेरै फरक आएको छ। यसलाई सामाजिक रूपान्तरण भएको भन्नु अत्युक्ति हुँदैन। तर समाजमा आएको यो रूपान्तरणको संस्थागत विकास चाहिँ बिल्कुलै हुन सकेको छैन। यो रूपान्तरणको व्यवस्थापन पटक्कै भएको छैन। बरु रूपान्तरणको बाटोमा प्रायः जहाँसुकै देखापर्ने बाधा—व्यवधान ती गाउँमा पनि दह्रोसँग जरा गाडेर बसेका छन्। यद्यपि रूपान्तरण उल्टाउनेभन्दा त्यसको संस्थागत विकास र व्यवस्थापनमा निहित स्वार्थलाई अघि सारेर काम हुन नदिने शक्ति प्रबल देखिन्छ।
गाउँमा समय क्रमले भएका पूर्वाधार विकास र जागरणबाट जुन परिवर्तन आएको छ, त्यसलाई नेपालको पछौटेपन समाप्त पार्ने आधुनिक विकासको भर्याङ बनाउन सकिन्छ तर त्यसका लागि सरकार ,स्थानीय निकाय र राजनीतिक पार्टीका नेता र कार्यकर्ताले स्थानीय समुदायलाई समेत परिचालन गर्ने गरी पुँजी परिचालन,उत्पादन र उत्पादकत्व वृद्धि, बजार विकासजस्ता स्थानीयस्तरका ससाना कार्ययोजना बनाएर जनशक्ति परिचालन गर्न सक्नुपर्दछ। सबभन्दा पहिले त कृषि उपज बिक्री गरेर वा वैदेशिक रोजगारबाट प्राप्त रकमलाई उत्पादन वृद्धिका लागि पुँजीमा परिणत गर्न व्यवस्थापनतर्फ रुचि र दक्षता भएका स्थानीय इमानजमान भएका मानिसको समूहलाई व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएर सहकारी वा ससाना व्यवसायमा सामूहिक लगानी गर्ने वातावरण तयार गर्नुपर्ने देखिन्छ।
गाउँमा धेरै सम्भावना भएका व्यवसाय भनेको कृषि,बागवानी पशुपालन नै हुन्छ। तर माटो परीक्षण र प्राविधिक अध्ययन विशेषज्ञद्वारा गराएर आधुनिक किसिमले नगद आर्जन गर्ने खालको सहकारी कृषि व्यवसायको विकास पहाडका ती गाउँमा निकै उपयोगी हुने देखिन्छन्। यस्तो सहकारीले बजार व्यवस्थापनको कामसमेत गर्न सकेमा किसानहरू झन् स्वावलम्बी हुने कुरा निश्चित छ।
कृषि व्यवसायका कामका क्रममा पहाडका मलिला र सिंचाइ हुनसक्ने खालका जग्गाका स्वामी पहाड छोडेर बसाइँ सरिसकेकाले या त त्यस्ता जग्गाजमिन कृषिकार्यका लागि अनिवार्य उपयोग गर्नदिन अथवा जमिन नहुने किसानलाई जमिन लिजमा उपलब्ध गराउन सरकारले पहल गर्नुपर्दछ। यसैगरी सिंचाइ सुविधा किसानको सानो प्रयासले मात्र सम्भव नहुने हुनाले त्यस्ता योजना जनसहभागितामै भए पनि कार्यक्रममा राखी कार्यान्वयनमा सरकारले नै ल्याइ दिनुपर्दछ। माटोको परीक्षण, बालीको सम्भाव्यता अध्ययन, उत्पादकत्व वृद्धि र कीटनाशक र बाली विकास आदिमा सल्लाह दिन प्राविधिक सल्लाहकारको व्यवस्थामा पनि सरकारले किसानलाई मद्दत दिनुपर्दछ।
गाउँमा पुराना जमानाका मुद्दा लगाउने ठूलाठालु त छैनन् तर राजनीतिक पार्टीको हानथापले गर्दा आˆनो प्रभाव क्षेत्रमा नआउने किसानलाई पूर्वाधार विकासमा सहयोग नपुर्याउने, जानेको कुरा पनि नबताइदिने, वित्तीय र प्रविधिक सल्लाहका स्रोतको जानकारी लुकाई दिने, किसानलाई उत्पादन कार्यमा समेत सङ्गठित हुन नदिने र सरकारी सहुलियत आˆना प्रभावक्षेत्रका किसानलाई मात्र प्राप्त गर्न सिकाउने कुरा गाउँघरमा सामान्यजस्तै मानिँदो रहेछ। केही समय यता गाउँमा गुण्डा लगाएर भए पनि किसानबाट चन्दा असुल गर्ने, कसैले कुनै व्यवसाय गर्न लागेको छ भने पहिले नै कति चन्दा दिन सक्ने हो भनेर चियोचर्चो गर्ने, चन्दा नदिए तर्साएर ठाउँ नै छोड्न बाध्य पार्ने घटना गाउँमा हुने गरेका छन्। यस्ता व्यवहारलाई नियन्त्रण गरेर सुरक्षा दिनसके गाउँमा वैदेशिक रोजगारबाट भएको कमाइको ठूलो भाग दिगो र उत्पादकत्व वृद्धिमा लाग्नसक्ने सम्भावना अत्यधिक देखिन्छ। á