सप्तरी, वैशाख ३ गते। भारतीय सहयोगमा स्थापना भएको सप्तरी जिल्लाको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अवस्था जीर्ण बन्दै गएको छ।
दुई सय ९४ रोपनी -साढे २२ बिघा)मा फैलिएको औद्योगिक क्षेत्रको विक्रम संवत् २०४४ मा सुरु भएको थियो। २०५१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरिसकेपछि यसमा नौवटा उद्योगहरू सञ्चालनमा आएका थिए।
विभिन्न असुरक्षाको कारण तथा द्वन्द्वको कारण देखाई सबै उद्योगहरू विस्थापित भइसकेको छ। यसमा अहिले एक मात्र उद्योग दीपक प्लास्टिक उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रका निमित्त कार्यालय प्रमुख मो. वसिर हुसैन बताउनुहुन्छ।
दुईवटा उद्योगहरू सञ्चालन हुँदै आएको यस औद्योगिक क्षेत्रमा २०६५ फागुन १ गतेबाट दीपक पोलिमर्स उद्योग बन्द भई मात्र दीपक प्लास्टिक उद्योग सञ्चालनमा रहेको छ।
यसभित्र बैङ्क भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत् टेलिफोनलगायत सम्पूर्ण सुविधा सम्पन्न छ। जसमा दसवटा घरेलु उद्योगहरू सञ्चालन गर्न सकिन्छ। औद्योगिक क्षेत्रका केही भवनहरू जीर्ण अवस्थामा पुगिसकेको छ।
यस औद्योगिक क्षेत्रमा नेपाल सरकारको तर्फबाट कार्यालय प्रमुखसहित दसजना कर्मचारीको दरबन्दी रहेको छ। औद्योगिक क्षेत्रका कार्यालय प्रमुख सुरक्षाको प्रत्याभूति नभएकै कारण कर्मचारीहरू बताउँछन् तर अहिले निमित्त कार्यालय मो. वसिर हुसैन काजमा रहनुभएको छ।
उक्त औद्योगिक क्षेत्रलाई विकास गर्न हृदयेश त्रिपाठी उद्योग मन्त्री भएका बेला गजेन्द्रनारायण सिंहको नामसँग जोडेर स्थापित गर्ने प्रयास गरिए पनि औद्योगिक क्षेत्रलाई घेरेको कालो बादलले अहिलेसम्म मुक्त गर्न सकेको छैन।