पोखरा, वैशाख ३ गते। वैदेशिक रोजगारमा जाने नेपाली युवाहरूको सङ्ख्या बढ्दै गए पनि वैदेशिक रोजगारमा लैजाने कम्पनीहरूले पोखरामा पनि ठगी गर्न थालेका छन्। यसै क्रममा पोखराको सिर्जनाचोकमा कार्यालय रहेको पीसीजीआई ग्रुप सेक्युरिटी सर्भिस प्रालिले वैदेशिक रोजगारमा पठाइदिने भन्दै करिब १५ लाख रुपियाँ ठगी गरेको जानकारीमा आएको छ।
वैदेशिक रोजगार विभाग काठमाडौँबाट आएको अनुगमन टोलीले सो कार्यालयमा छापा मार्दा यो तथ्य बाहिर आएको हो। कम्पनीले स्वदेश तथा विदेशका उद्योग प्रतिष्ठान तथा कलकारखानालाई चाहिने सुरक्षाकर्मीको तालिम गराउने उद्देश्यले खोलिएको भनिए पनि अवैध रूपमा विदेश पठाउँदै आएको खुलेको छ।
वैदेशिक रोजगार विभागका निर्देशक सूर्यबहादुर भण्डारीले भन्नुभयो, कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता नभई अवैध रूपमा सञ्चालनमा आएको कारण छापा मारेको हो।
कम्पनीले हाल ४५ जना व्यक्तिहरूलाई विदेश पठाइदिने भन्दै करिब रु. १५ देखि ५० हजारसम्म उठाएको देखिएको छ।
कुवेत लैजाने भन्दै सञ्चालक मैतबहादुर गुरुङले तीन महिनाअघि १५ हजार रुपियाँ हाल बिरौटा बस्ने रामप्रसाद पनेरुसँग लिएको भए पनि अहिलेसम्म बाहिर पनि नपठाएको र भेालि आउ भनी आश्वासन मात्र दिने गरेको पीडितले बताए। उनलाई ड्राइभिङका लागि वैदेशिक रोजगारमा लैजाने बताइएको थियो।
कम्पनीका सञ्चालक मैतबहादुर गुरुङ रहे पनि हाल कम्पनीले अर्कै कम्पनीको नामबाट काम गर्दै विभिन्न अरबियन मुलुकहरूमा कामदार पठाउने गरेको समेत पाइएको छ।
कम्पनीबाट सङ्कलित रकम कर्मचारी जीतबहादुर गुरुङ र चन्द्रबहादुर गुरुङको नाममा पोखरा फाइनान्समा जम्मा गरेको देखिएकोले प्रहरीले कम्पनीका कर्मचारी जितबहादुर गुरुङलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। हाल कास्कीमा एक सय २८ वटा मेन पावर कम्पनी सञ्चालनमा रहे पनि आठवटा मेन पावर कम्पनीले मात्रै इजाजत लिएर काम सञ्चालन गरेको अनुगमन टोलीले जनाएको छ।
कम्पनी सञ्चालनका लागि रु. ३० लाख धरौटी राख्नुपर्ने र शाखा सञ्चालनका लागि रु. दुई लाख धरौटी राख्नुपर्ने प्राबधान छ। अनुगमन टोलीले कार्यालयबाट कम्प्युटरलगायतका सामग्रीहरू नियन्त्रणमा लिएको छ।