सप्तरी, वैशाख ४ गते। स्थानीय बैङ्कहरूले भारतीय रुपियाँ उपलब्ध गराउन छाडेपछि सर्वसाधारण पीडित भइरहेको भन्दै सद्भावना पार्टीले राष्ट्रिय वाणिज्य बैङ्क राजविराजमा सटही काउन्टर सञ्चालन गर्न माग गरेको छ । सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी र जिल्ला अध्यक्ष सुनिलकुमार झाले सो माग गरेका हुन् ।
राष्ट्रिय वाणिज्य बैङ्क राजविराजका प्रबन्धकलाई प्रेषित पत्रमा बैङ्कले भारतीय रुपियाँको सटही काउन्टर बन्द गरेपछि बजारमा भारतीय नोटको अभाव हुन गएको र यस अवस्थामा काला बजारीयाहरूका कारण सर्वसाधारण प्रभावित भइरहेको उल्लेख गरिएको छ।
सप्तरीसहित मधेस केन्दि्रत अन्य जिल्लाहरूमा पनि भारतीय नोटको अभाव हुँदा सर्वसाधारण नागरिक भारतमा गई स्वास्थ्य उपचार गराउनबाट पनि वञ्चित भइरहेका कारण अविलम्ब सटही काउन्टर सञ्चालन गरी भारतीय रुपियाँ सहज रूपमा प्राप्त गर्ने वातावरण निर्माण गर्न उहाँहरूले माग गर्नुभएको छ।