समय तीव्रगतिले दौडिरहेको छ। विगत चारवर्षमा पहिलो पटक अब हामी- नेपाली पनि समयको गतिसँगै तीव्रगतिमा कुदिरहेका छौं। यद्यपि कसैले भन्न सक्छ, कुद्नु बाध्यता हो तर यसो भन्नु समस्याको अति सरलीकरण गर्नु हुनेछ। केही वर्षयता हाम्रो मुलुक असफल राष्ट्र बन्ने हो कि गहन चिन्ता जनसाधारणदेखि बौद्धिक नेपालीहरूमा छाइरहेको थियो। त्यो चिन्ता अकारण पनि थिएन। नेताहरू स्वार्थचक्रमा फसेर हो, अदूरदर्शी, अपारदर्शी, संवेदनहीन भएर हो वा अज्ञानवश देशको भविष्य घोर सङ्कट अनिश्चयको घना बादलभित्र फसेको थियो। चैत २८ गतेबाट अकस्मात् राष्ट्र एक नयाँ परिस्थितिमा प्रवेश गरिसकेको छ। एनेकपा माओवादी र विशेषगरी पुष्पकमल दाहाल प्रचण्डको साँच्चिकै साहसिक कदमले सम्पूर्ण राष्ट्रको 'बडी ल्याङ्गवेज' नै बदलिसकेको छ। तुवाँलो लागेको लामो समयसम्म अन्धकार र अन्योल व्याप्त माहोलमा सूर्योदयसँगै नेपालमा आशाको नयाँ उज्यालो देखापरेको छ। कोही पनि प्रथम नहुने खेलमा विराम लागेको छ।
माओवादी जनयुद्ध, तत्कालीन सरकारहरूको विफलता, शाही निरङ्कुशता, ०६२-६३ को जनआन्दोलजन, मधेस आन्दोलन, संविधानसभाको निर्वाचन र त्यसपछिको पट्यारलाग्दो राजनीतिक प्रहसनले नेपाली जनता राजनीतिको नामबाट दिक्क मात्र होइन एक किसिमले विरक्त नै भइसकेको अवस्था थियो। सबैखाले जनता खासगरी बहिष्करण र उपेक्षामा परेका जनताका चाहना अकस्मात् निकै बढेको र समाधान गर्ने हैसियतमा रहेका शासकीय शक्तिको सोच सतही र सङ्कीर्ण देखिएको अवस्थामा आन्तरिक सङ्कट चरममा थियो। आपसी अविश्वासको खाडल बढ्दै गइरहेको अवस्थामा यो पङ्क्तिकारको र सम्भवतः धेरै नेपालीको मनमा बारम्बार प्रश्न उठ्ने गथ्र्यो के नेपाल सम्हालिन सक्ला ? सक्छ भने यसका आधार के के हुन सक्छन् ? नेपाल राष्ट्रको अस्तित्वको सर्वाधिक महìवपूर्ण यसै प्रश्नमा सबभन्दा कम चिन्तन र विवेचना भएको पाइन्छ। वस्तुतः आत्मनिरीक्षण, आत्मविश्वासको कमीको कारण नै हाम्रा सङ्कट घनीभूत र विकराल देखिएका हुन्।अहिले पनि यो समस्या कुनै न कुनै रूपमा हाम्रा मनमस्तिष्कमा छ। मेचीदेखि महाकालीका नेपाली हामी के हौं, कस्ता हौं, किन हौं आदि प्रश्नमा ठण्डा दिमागले संयमित र यथार्थवादी विश्लेषण नगर्ने हो भने मात्र केही राजनीतिक पहलले हाम्रा मूलभूत सङ्कट समाप्त हुनेवाला छैन। कुनै पनि पद्धतिको सफलता या असफतला त्यसको उपभोक्ता समाजको सोच र मनोविज्ञानसँग सम्बद्ध हुने गर्छ अफसोच हाम्रा समाजका अभियन्ताहरू आफैं दिग्भ्रमित छन्। मृगको नाभिमा कस्तुरीको वास छ तर स्वयं मृगलाई थाहा छैन सुवास कहाँबाट आउँछ। यो कवीर वचन हो। हाम्रो सङ्कटको मूलस्रोत हो हामीले आफैंलाई बिस्र्यौं। हाम्रा सन्त, सिद्धपुरुष, पुर्खाहरू के थिए, के सिकाए। सम्बोधि प्राप्त गर्नुअघि बुद्धमाथि 'मार' -नराम्रो विचार) ले आक्रमण गर्दा साहसी बुद्धले भनेका थिए, ममा श्रद्धा छ, ममा वीर्य छ, ममा प्रज्ञा छ। हे मार Û तिमी मलाई कसरी पराजित गर्न सक्छौ ?.... पराजित भएर बाँच्नुभन्दा सङ्ग्राममा मर्नु मेरोलाई श्रेयस्कर छ।" कठोपनिषद्मा भनिएको छ, विधाताले इन्दि्रयहरूलाई बहिर्मुखी बनाएका छन्, त्यसैले मानिस बाहिरतिर नै हेर्दछ, भित्रतिर हेर्दैन"। जसले भित्रतिर हेर्छ त्यसलाई जीवनको धर्म र मर्म के हो भन्नुपर्दैन, यस्मिन् जीवति जीवन्ति बहवः सोऽत्र जीवन्तु... -जुन मानिस जीवित रहँदा धेरै धेरै मानिस बाँच्दछन् भने त्यस्ता व्यक्ति यो संसारमा बाँच्नुको अर्थ हुन्छ) आजभन्दा ५० वर्ष पहिलेको समाजमा बाहुनले हलो जोत्नु हुँदैनथ्यो तर आजभन्दा हजारौं वर्ष पूर्व जुन भूमिमा राजाले जनअनिकाल दूर गर्न हलो चलाए, राजषिर् भनिए।ष् ज्ञानी यति कि विदेह मानिए त्यो समाजको धरातल हामीले बिस्र्यौं। दुर्भाग्यवश, अहिलेका हाम्रा समस्त शासकीय संस्कृति, सोच, 'स्कुलिङ', चिन्तन छोटिएर साढे दुई सय वर्षको सेरोफेरोमा घुमिरहेको छ र यही हाम्रो सङ्कटको मूल कारण हो। हाम्रा प्राचीन सभ्यता, संस्कृति, चिन्ता, उदात्तता साँघुरिएर सानो घेराभित्र कैद भएको छ। यही नयाँ नेपाल निर्माणको बाटोमा सबभन्दा ठूलो तगारो हो। समस्याको जरो चिन्ने र समाधान उत्पादन गर्न क्षमता हामीले गुमाइरहेका छौँ।
दोस्रो नयाँ नेपाल कसरी बन्छ भन्ने प्रश्न छ। यो साम्थ्र्यको भन्दा पनि सोच र सिर्जनाको पक्ष हो। अङ्ग्रेजहरूले आˆनो सुविधाको लागि भारतमा चिसो पहाडी ठाउँ दार्जिलिङलाई रोजे। त्यत्रो उचाइमा रेल पुर्याए। नतिजा के भयो ? दुर्गम सुगम झैं भयो। दुर्गम जब सुगम हुन थाल्छ त्यहाँ विकास दौडिन थाल्छ। दार्जिलिङ स्तरीय शिक्षा र पर्यटनको ठूलो केन्द्र बन्यो। यहाँसम्म कि वीरेन्द्र र ज्ञानेन्द्र पनि दार्जिलिङको सेन्ट जोसेफका उत्पादन बन्न पुगे। केही पहिलेसम्म दार्जिलिङ नेपालीहरूका लागि स्तरीय शिक्षाको ठूलो आकर्षणभूमि थियो। थप वरदान के सावित भयो भने त्यहाँ जातीय कटुताभन्दा सद्भाव सहजै स्थापित भयो। इन्द्रबहादुर राईलगायत जनजातीय पृष्ठभूमिका ठूला साहित्यकार संस्कृतिकर्मी जन्मिए। जातीय दूरी घटाउन लामा भाषण वा उपदेश छाँट्नुपर्दैन। असल नियत र विकासलाई प्राथमिकता दिए पुग्छ। दार्जिलिङ एउटा प्रतीकमात्र हो। हाम्रा नेपाली दार्जिलिङेहरू दृष्टिहीन दुर्बल नीतिका कारण उपेक्षित छन् उता आपसी विश्वास र समग्र विकास फक्रिदै समृद्धिको फड्को मारिरहेको छ। हामी गरिब छैनाँै, हाम्रो दृष्टिकोण, सोच गरिब छ। हाम्रा सम्भावनाको हत्या हामी स्वयंले गरिरहेका छौं। एउटै भाषा एउटा भेष, हाम्रो -मेरो Û) राजा, हाम्रो देश यो सोच गलत थियो यो भूल साहसपूर्वक शासक समुदायले स्वीकार्नुपर्छ। स्वीकार्नुपर्छ कि नेपालको यथार्थविपरीत जाँदा हाम्रा समस्या धेरै जटिल हुन पुगेका हुन् र हामी दक्षिण एसियाकै सबभन्दा गरिब राष्ट्र बन्न पुगेका हौं। हाम्रो नियति साझा, हाम्रो समस्या साझा, चुनौती, चिन्ता साझा, उन्नति प्रगति साझा यो बाहेक हाम्रो भविष्य छैन सोच्नेबित्तिकै समस्या समाधानतर्फ स्वतः उन्मुख हुनथाल्छन्। सय करोडभन्दा बढी आवादीको भारत त्यत्रो विविधता र चुनौतीलाई समायोजन गर्दै अगाडि बढ्नसक्छ भने हाम्रो तीन करोड जतिको देश अगाडि बढ्न नसक्ने कारण नै छैन। मुख्य कुरा, उनीहरू धेरै हल्ला नगरी समावेशी लोकतन्त्रलाई व्यवहारमा आत्मसात् गर्दै अघि बढ्दै गए हामी धेरै हल्ला गरेर पनि जडसूत्रवादी बनी आपसी हानथापमै रुमल्लिइहृयौं।
हाम्रा समग्र समस्यालाई जबसम्म हामी सम्पूर्णतामा र इमानदार भइ विवेचना गर्न तयार हुँदैनौँ तबसम्म हाम्रो नयाँ नेपाल निर्माणको सपना सपनै रहन्छ। प्रजातन्त्रवादीले माओवादीलाई लोकतान्त्रिक प्रक्रियामा आउन सहज बाटो दिएको हो भने यो पनि मान्नुपर्छ माओवादीले समेत प्रजातन्त्रवादीलाई सुधि्रने ,न्यायपूर्ण समाज बनाउने खुराक दिएका छन्। बिर्सनु हुन्न, शाही शासनविरुद्ध सात दलको सभामा सुरु सुरुमा सयजना जुट्न पनि धौ धौ परेको थियो र सुखद के छ भने चैत २८ गतेको माओवादी निर्णयपछि दलहरूबीचको कटुता घटेको छ। समझदारी, संवाद र सहकार्य बढेको छ। शान्तिप्रक्रियाको तार्किक निष्कर्षको अध्याय पूरा भएको छ। अपेक्षाकृत परिस्कृत संविधान बन्ने सम्भ्ाावना बढेर गएको छ। तर यहींनेर बढी सुझबुझ, परिश्रम र गम्भीरताको खाँचो छ। अहिले सबभन्दा बढी मिहिनेत राज्यको पुनः संरचनाको प्रश्नमा गर्नुपर्नेछ। सबैथरीका नेपालीको हितलाई समायोजन गर्नु नै अहिलेको सबभन्दा ठूलो टाउको दुःखाइ नेताहरूसमक्ष छ। साथै केही जोखिम पनि उठाउनेपर्ने अवस्था छ। अधिकारको माग गर्ने र अधिकारको उपेक्षा गर्ने, अधिकारविरोधी दुईथरी शक्तिबीच इमानदार ,दूरदर्शिता र दृढतापूर्वक काम गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ। एउटा नयाँ इतिहास निर्माण भइरहेको बेला नेताहरूको साहस र सुझबुझको आवश्यकता राष्ट्रलाई छ। संविधानसभाको चारवर्षमा बल्ल नेताहरूको मति फिरे जस्तो छ। यसको मुख्य श्रेय प्रचण्डलाई जान्छ। सर्वोच्च अदालतले संविधानसभाको म्याद नथपिने जनाएर एक किसिमले नेताहरूलाई जनादेश नै दिएको थियो। तैपनि नेताहरू विवाद छोड्न तयार थिएनन्। माओवादीलाई शान्ति र संविधानको बाधक भन्दै सबै दोषको अचानो बनाउन लागिएको स्थिति थियो। माओवादीभित्र ठूलो बवाल थियो। त्यस परिवेशमा प्रचण्डले सावित गरे कि उनी पुष्प हुन्, कमल र प्रचण्ड पनि। यसपटकको प्रचण्डमा के देखियो भने विजेता हुनुको केही अहंकार देखिएन। भारत, अमेरिका, चीनले उनको कदमको तारिफ गरे। चकित छन् अन्य दलका नेता। बुद्धिजीवी, आमजनता एकपटक पुनः उनको प्रशंसक बने। अन्य दलका प्रमुख नेताहरूको दृष्टि पनि अहिले सहकार्य र संविधानका कुरामा सकारात्मक नै देखिन्छ। यो शुभ लक्षण हो। तर अहिले पनि मिसन अधूरो छ। सबै नेपालीलाई सम्बोधन हुने, सबैको भावना समेटिने संविधान निर्माणका लागि शेष समयमा नेताहरूले कडा परिश्रम गर्न जरुरी छ। यसका लागि कोठे तपसिलका चर्चा र गफभन्दा विज्ञ र सरोकावालासँग परामर्श, संवादको प्रक्रिया सबै पार्टीमा तीव्र हुन जरुरी छ।