पाल्पा, वैशाख ८ गते। दैनिक एक हजार १५० टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित पाल्पाको देउरालीमा खुल्ने तयारी भइरहेको सिजी सिमेन्ट उद्योग पहुँच मार्गको ट्रयाक खोल्ने काम पूरा भएको छ। हार्थोकदेखि २० किलोमिटर देउराली सर्देवा सातमुरेसम्मको ट्रयाक खोलिएको छ। उद्योग र सरकारबीच भएको सम्झौता अनुसार पहुँच मार्ग बनाउनका लागि सरकारले ५० करोड रुपियाँ खर्चिनेछ।
चौधरी समूहले सिमेन्ट उद्योगमा तीन अर्ब लगानी गर्ने गरी तयारी अगाडि बढाएको छ।
उद्योगसम्म पुग्नका लागि सरकारले सडक विस्तार गरिदिने सम्झौता अनुसार पहुँच मार्ग निर्माण कार्य भइरहेको डिभिजन कार्यालयका प्रमुख कर्णबहादुर रानाभाटले बताउनुभयो। उहाँले गत आर्थिक वर्षमा दुई करोड ५० लाख र यो आर्थिक वर्षमा पाँच करोड रुपियाँ उक्त मार्ग निर्माणका लागि भनेर मन्त्रालयबाट आएको जानकारी दिनुभयो।
बीस किलोमिटर लामो खस्यौली-कन्टीपोखरा-डम्बक-सर्देवा पहुँच मार्गको निर्माण कार्य भएको डिभिजन कार्यालयले जनाएको छ। गत वर्षको बजेट ढिला आएका कारण सबै बजेटको काम हुन सकेन भने यो वर्ष दुई ठेकेदार कम्पनीले मार्ग विस्तार गर्ने काम गरिरहेको डिभिजन कार्यालयका इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो।
पहुँच मार्गमा मापदण्ड अनुसारको सडक भने अझै बन्न सकेको छैन। उक्त मार्गसम्म पुग्नका लागि सुरक्षित ढङ्गबाट निर्माण गरिने भनिएको टेवा पर्खाल, पक्की नाली बनाउने र ग्राभेल गर्ने काम अझै बाँकी छ।
सात मिटर चौडाइ र २० किलोमिटर लम्बाइ रहेको सडक बनाउन जति छिटो बजेट आउँछ सोही अनुसार मार्गको काम सकिने इन्जिनियर पौडेलले बताउनुभयो। पहुँच मार्ग पूरा गर्नका लागि भनेर दुई वर्ष पहिले करिब रु. ४७ करोड १५ लाख खर्च लाग्ने प्रारम्भिक लागत अनुमान गरिएको छ।
चौधरी ग्रुपले सदरमुकाम तानसेनदेखि २० किमि पश्चिम पाल्पाको देउराली-४ र ६ मा फैलिएर रहेको चार सय रोपनी जमिन खरिद गरिसकेको छ। सो गु्रपको करिब तीन अर्बभन्दा बढी लगानीमा उद्योग स्थापना गर्न लागिएको सिजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले जनाएको छ।
किनेको जग्गाको माटो परीक्षण, स्थानीयसँग छलफल र जग्गा रजिष्ट्रेसनको काम सकिएको स्थानीय जग्गा व्यवस्थापन समितिका सदस्य नलबहादुर सारुले बताउनुभयो।
जिल्लाको पश्चिम ख्याहा, सोमादी, सिद्धेश्वरमा रहेको खानीबाट सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ चुनढुङ्गा रहेको अनुमान छ। खानीमा १२० वर्षसम्मलाई सिमेन्ट उद्योग सञ्चालन गर्न पुग्ने चुनढुङ्गा रहेको प्राविधिक अध्ययनले पत्ता लागेको बताइएको छ।
उद्योगका लागि पूर्वाधारअन्तर्गत मोटरबाटो र विद्युत््को काम सरकारले गर्नुपर्छ। उद्योगसम्म पुग्ने ट्रयाक खोल्ने काम पूरा भए पनि हेभी ट्रक उद्योग सञ्चालन हुने स्थलसम्म लैजान सकिने अवस्था नरहेकाले तत्काल भौतिक पूर्वाधारका काम अगाडि बढ्न नसकेको उद्योगका पाल्पा प्रतिनिधि केशव खनालले बताउनुभयो।
उहाँले पाँच सय रोपनी जमिन खरिद गर्न मन्त्रिपरिषद्को चैतको दोस्रो साता अनुमति पाइसकेको बताउनुभयो। उद्योगलाई एक हजार चार सय रोपनी जग्गा आवश्यक पर्ने बताइएको छ।