काठमाडौं, वैशाख ९ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले रु. चार खर्ब ३९ अर्बभित्रको सीमामा रहेर आगामी आर्थिक वर्ष २०६९/७० बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
मिडिया भिजन नेपालद्वारा आज यहाँ आयोजित अन्तक्रिर्यामा उहाँले जिल्ला परिषद्बाट पारित भई सम्बन्धित मन्त्रालयले अगाडि बढाएका योजनामा केन्दि्रत रहेर बजेटको तयारी भइरहेको जानकारी दिनुभएको हो ।
बजेट बाँडफाँडमा राजनीतिक तहबाट दबाब आउने गरे तापनि प्रचलित नियम-कानुनलाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने उल्लेख गर्दै उपाध्यक्ष क्षेत्रीले कार्यक्षमताको आधारमा बजेट तर्जुमा गरिने स्पष्ट पार्नुभयो ।
रोजगारी र उच्च आर्थिक वृद्धिलाई विशेष ध्यान दिएर कार्यक्रम अगाडि बढाइएको बताउँदै उहाँले जनचाहनालाई विशेष ध्यान दिएर मात्र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने उल्लेख गर्नुभयो ।
राष्ट्रिय विकास परिषद्ले स्वीकृत दिएपछि मात्र ठूला र बहुवषर्ीय योजनाहरू अगाडि बढाइने गरेको उल्लेख गर्दै उपाध्यक्ष क्षेत्रीले सरकारी तथ्याङ्क नै देशको वास्तविकता थाहा पाइने आधार भएकाले विज्ञहरूलाई शङ्का नगर्न अनुरोध गर्नुभयो ।
अर्थशास्त्री डा. विमल कोइरालाले सरकारले महìवकाङ्क्षी नीति तथा कार्यक्रम बनाए पनि कार्यान्वयन नगरेकाले जनतामा निराशा छाएको तर्क गर्नुभयो ।
सरकारको स्रोत, साधन र सामथ्र्यले गर्नसक्ने कार्यक्रम मात्र ल्याइनुपर्नेमा जोड दिँदै उहाँले जनताप्रति उत्तरदायी भएर काम गर्न कर्मचारी र राजनीतिकर्मीलाई सुझाव दिनुभयो ।
प्रा. वासुदेव शर्मा पौडेलले विगतमा दस्तावेजका रूपमा अत्यन्त राम्रा कार्यक्रम तथा योजनाहरू बनेको भए तापनि कार्यान्वयन नभएको उल्लेख गर्दै उत्पादन क्षेत्रलाई केन्दि्रत गरेर नयाँ कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।