काठमाडौँ, वैशाख १० गते। प्रमुख तीन दल एकीकृत नेकपा -माओवादी), नेपाली काँग्रेस, नेकपा -एमाले) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूको दिनभरको छलफलमा उल्लेखनीय प्रगति नभए पनि संविधान लेखनका विवादित विषयमा सहमतिको नजिक पुगेको छ। सहमति गरेर मस्यौदा तयार गर्ने अन्तिम दिन आइतबार दलका नेताहरूले दिनभरि दुईपक्षीय, सर्वपक्षीय तथा अन्तरपार्टीमा समेत छलफल गरेका थिए।
संविधान निर्माणका लागि प्रमुख पाँच विषय राज्य पुनःसंरचना, शासकीय स्वरूप, नागरिकता, न्यायपालिका र निर्वाचन प्रणालीमा रहेका विवादित विषयलाई टुङ्गो लगाउन दलहरूको बैठक बानेश्वरस्थित संविधानसभा भवनमा बसेको थियो। बिहान ९ बजे बसेको बैठकले कुनै सहमति निकाल्न नसकेपछि साँझ बैठक पुनः बसेको थियो। एमाओवादी र एमालेका नेताहरू कम्युनिस्ट पार्टीको स्थापना दिवस कार्यक्रममा व्यस्त भएपछि राति ११ बजेसम्म बसेर भए पनि विवादित विषयमा टुङ्गो लगाउने गरी बिहानको बैठक स्थगित भएको थियो।
तर साँझ ५ बजे बसेको बैठकमा प्रमुख पाँच विषयमा छलफल भए पनि तत्काल कुनै निष्कर्ष निकाल्न नसकेपछि सोमबार बिहान पुनः बस्ने गरी बैठक स्थगित गरिएको थियो। सोमबार ३ बजे बोलाइएको संविधानसभको बैठकअघि नै विवादित विषयमा निष्कर्षमा पुग्ने सहमति दलहरूबीच सहमति भएको बताइएको छ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले विवादित सबै विषयमा गहन छलफल भएको र छलफल सहमति नजिक पुगेको बताउँदै नागरिकता र संवैधानिक अदालतको विषयमा लगभग सहमति भइसकेको जानकारी गराउनुभयो। ती विषयलाई औपचारिकता दिन मात्र बाँकी रहेको
उहाँले बताउनुभयो।
नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले सबै विषयमा छलफल भए पनि कुन विषयमा कसरी मिल्ने कुरामा अन्योल देखिएको बताउनुभयो। एकैचोटि सबै विषयमा छलफल सुरु भएपछि यस्तो देखिएको हो तर छलफल सकारात्मक भएको छ, भोलिसम्म यसको टुङ्गो लाग्ने सम्भावना बढ्दै गएको प्रतिक्रिया उहाँले दिनुभयो। एमाओवादी र मधेसी मोर्चाले संवैधानिक अदालत गठनमा जोड दिएको बताउँदै पाँच वर्षका लागि संवैधानिक अदालत गठन गर्ने कुरा सहमति नजिक पुगेको जानकारी उहाँले दिनुभयो।
एमालेका अध्यक्ष झलनाथ खनालले पनि विवादित विषयमा छलफल भएको र छलफल सहमति नजिक पुगेको बताउनुभयो। उहाँले भोलिको बैठकले त्यसलाई टुङ्गो लगाउने जनाउनुभयो।