काठमाडौँ, वैशाख १० गते। वाणिज्य विभागको बजार अनुगमन टोलीले न्यूरोडका अधिकांश पसल नवीकरण तथा नापतौल विभागको प्रमाण नलिई सञ्चालन गरेको फेला पारेको छ। कामपा-२२ न्यूरोडस्थित नयाँसडक बेकरीले कम्पनीले तोकेको मूल्यलाई ढाकछोप गरी नयाँ मूल्य टासेर सामान बिक्री वितरण गरेको फेला पारेपछि कारबाहीका लागि वाणिज्य विभागमा बोलाइएको विभागका प्रतिनिधि रमेशकृष्ण कायस्थले बताउनुभयो।
विभागको बजार अनुगमन टोलीले आइतबार बेकरीमा अनुगमन गर्दा पसलको नवीकरणका साथै नापतौल विभागको प्रमाणसमेत नभएको अनुगमनमा संलग्न उपभोक्ता मञ्च नेपालमा प्रतिनिधि रोशन पोख्रेलले बताउनुभयो। बेकरीलाई तीन दिनभित्र लिखित स्पष्टीकरणसहित वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै स्पष्टीकरण पछि छानबिन गरी कारबाही प्रक्रियामा लगिने कायस्थले बताउनुभयो।
टोलीले नयाँसडकको स्वीट एण्ड सावर सपमा पनि नवीकरण नगरी पसल सञ्चालन गरेको फेला पारेको छ। त्यस्तै न्यूरोडकै केदार शाहीले चकलेट तथा पाउँ पसल नवीकरण नगरिकनै व्यवसाय गरेको फेला परेेको छ।
उक्त पसलधनीलाई सात दिनभित्र प्रक्रिया पूरा गरी लिखित स्पष्टीकरणसहित वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको पोख्रलले बताउनभुयो।