काठमाडौँ, वैशाख १३ गते। नेपाल स्टक एक्सचेन्जमा बुधबार भएको कारोबारमा नेप्सेले चारसयको अङ्क पार गरेको छ।
सेयर बजारमा बढोत्तरी आउने क्रमसँगै बुधबार पनि सर्किट ब्रेकरसहित नेप्सेमा २१.०७ अङ्कको बढोत्तरीले नेप्से चार सयको अङ्क पार गर्दै ४०९.४१ को बिन्दुमा पुगेको छ।
आगामी जेठ १४ गतेभित्रमा मुलुकले पाउने भनिएको नयाँ संविधान बन्ने दिशामा आधारभूत कुराहरूमा राजनीतिक दलहरूबीच सहमति हुँदै गएको समाचारहरूसँगै सकारात्मक प्रभाव बजारमा देखिएको विज्ञहरूले बताएका छन्।
नेप्सेमा सेयर खरिद कर्ताको आकर्षण बढेकोले माग अझै उच्च भएका कारण बुधबार बजारमा सर्किट ब्रेकरसहितको वृद्धि
देखिएको हो।
नेप्सेमा अझै खरिदकर्ताहरूको सेयर खरिदका लागि माग रहेकाले बिहीबार पनि सेयरमा बढोत्तरी देखिने निश्चित भएको बजार विश्लेषकहरू बताउँछन्।
नेप्सेमा बुधबार कुल ६४ कम्पनीको चार सय ५३ वटा कारोबारबाट एक लाख ४५ हजार २८९ कित्ता सेयर खरिद बिक्री भई पाँच करोड ४१ लाख ७१ हजार ३२२ रुपियाँ बराबरको सेयर खरिद बिक्री भएका छन्।
नेप्सेमा बढोत्तरीमा कमाउने प्रमुख कम्पनीहरूमा बैङ्क तथा वित्तीय सस्था नै प्रमुख भए पनि हाइड्रो, टेलिकम, बीमा कम्पनीलगायतका शेयरहरूमा समेत बढोत्तरी आएकोले समग्र नेप्सेमा सुधार देखिएको हो।