अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
सिद्धान्त र व्यवहारको सीमारेखा
श्याम अधिकारी
 

माओवादीको शास्त्रीय मान्यता अनुसार सेना नभएको जनतासँग आˆनो भन्ने केही रहँदैन। यो मान्यता स्वयं माओत्सेतुङ्को उक्तिमा आधारित छ। माओवादको मूल आधार पनि यही नै हो तर नेपालमा भने स्वयं माओवादीले आफैँले सङ्गठित गरेको सेनालाई निःशस्त्र पारे।

रुपियाँ पैसा दिएर, आफैँले बनाएका सेना र तिनका हतियार साटेर विघटन गरे। किन यसो गरे ? यसको उत्तरमा कसैले भने-किनभने माओवादी सुधि्रएर बल्ल ठीकमा आए। केहीले भने- माओवादी बिगि्रए तर स्वयं माओवादीले भने- क्रान्तिको घुमाउरो बाटामा कहिले साथमा हतियार चाहिंदोरहेछ,त्यसैकारण कुनै बेला हामीले सेना बनायौँ र हतियार भिर्न लगायौँ। अब हामीलाई हतियार र सेना चाहिएन, हामी विना हतियारको युद्ध लडिरहेका छौँ त्यसैले हतियार र सेना विघटन गर्‍यौँ। अब नेपाली सेनालाई पनि सङ्ख्या घटाउन सजिलो हुने भयो। सेना अब सामन्तवादीको दास रहेन। ऊ पनि अब राष्ट्रको सेना बन्ने प्रक्रियामा गएको छ। त्यसैकारण पनि अब जनताको छुट्टै सेनाको आवश्यकता रहेन। हामीले त अझै क्रान्ति जारी राखेकै छौँ।

कम्युनिस्ट विचारधाराको सैद्धान्तिक कट्टरताका दृष्टिमा माओवादीले सेनालाई चैत २८ गते आˆना जनसेनाका क्यान्टोन्मेन्टमा सुरक्षा जिम्मा दिनु उसको लाल गद्दारी हो तर माओवादी नेतृत्व यस कामलाई गद्दारी होइन क्रान्तिकै एउटा घुमाउरो कदम भनिरहेछ।

आखिर यो भिन्नता किन देखापर्‍यो ? किनभने यहाँ सिद्धान्त र व्यवहारको प्रयोगात्मक सीमारेखा कोरियो। व्यवहारमा वा सिद्धान्तको व्यावहारिक अभ्यासका क्रममा सिद्धान्तमा जे भनिएको छ वा जे लेखिएको छ, त्यस्तै हुँदैन। यो कुरा सबै कम्युनिस्टलाई थाहा छ। माक्र्सवादलाई व्यवहारमा वा सत्ताको प्रयोगमा लैजाने व्यक्ति लेनिन हुन्।

लेनिनले जब रुसमा माक्र्सवादको प्रयोग गर्नथाले त्यसबेला माक्र्सवादका धुरन्धर विद्वान् थिए बनिस्र्टन। उनले लेनिनको बाटो माक्र्सवादविरोधी भएको फर्मान जारी गरेका थिए तर इतिहासले आज लेनिनलाई जुन ठाउँमा राखेको छ, माक्र्सवादका सन्दर्भमा लेनिन आधिकारिक व्यक्ति बन्नपुगेका छन् भने बनिस्र्टन चाहिँ माक्र्सवाद विरोधी ठहरिएका छन्

सिद्धान्त र व्यवहारको कुरा गर्दा एक्काइसौँ शताब्दीको प्रारम्भमा कम्युनिस्ट युद्ध, कम्युनिस्ट सरकार, कम्युनिस्ट पार्टी बारे धेरै चर्चा, बहस र प्रयोग भइरहेको देशमध्ये नेपाल पनि एक भएकाले यहीँको अर्को उदाहरण पनि दिन लायकको छ। आफूलाई सबैभन्दा ठूलो र सेनासमेत भएको क्रान्तिकारी पार्टीका रूपमा एमाओवादीले स्थापित गरिसक्दा पनि माओवादी नेताका गुरु नेपालका पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंह घर्ती र उहाँको पार्टी मसालले चाहिँ माओवादीलाई कम्युनिस्ट पार्टी नै होइन भनेर सिद्धान्त बाहिर धकेलिदिएको छ।

यो बडो आश्चर्यलाग्दो विषय हो, गैर कम्युनिस्टका लागि कम्युनिस्ट संसारको झगडा। वास्तविक व्यावहारिक कारण खोतल्ने हो भने मोहनविक्रम सिंहको नेतृत्वमा प्रचण्ड कामरेडले काम गर्दा नेता र कार्यकर्ताबीच परेका केही खटपटले स्थिति यहाँसम्म आइपुगेको हुनसक्छ। अथवा सिद्धान्तकै मतभेदले नै एउटाले अर्कोलाई कम्युनिस्ट नै नभन्ने स्थिति आइपरेको पनि हुनसक्छ तर मसाल कम्युनिस्टहरू माओवादीलाई कम्युनिस्ट उपाधिबाटै वञ्चित गरिदिन्छन्। उनीहरू माओवादीलाई सिद्धान्तच्युत र बिरादरी बाहिरको मान्दछन्। तर व्यवहारले वा समाज र दुनियाँले मोहनविक्रम सिंहको चाहनाअनुसार माओवादीलाई बहिष्कार गर्ने वा गैरकम्युनिस्ट ठान्ने सोच पनि राख्दैन र व्यवहार पनि गर्दैन बरु कम्युनिस्टका रूपमा माओवादीलाई नै मान्यता दिएर काम गरिरहेको छ।

माओवादीले युद्ध लडयो, कम्युनिस्टविरोधीसँग कम्युनिस्टको हैसियतले सम्झौता गर्‍यो र मुख्यकुरा सापेक्षतावादी सिद्धान्तअनुसार कम्युनिस्टविरोधी विश्वका शक्तिबाट देशको प्रमुख कम्युनिस्ट शक्ति हो भन्ने मान्यता प्राप्त गर्‍यो।

यस अर्थमा मोहनविक्रम सिंह सिद्धान्तवादी भए पनि व्यवहारमा माओवादी कम्युनिस्टको अग्रगामी दस्ता बन्न पुग्यो। यो इतिहासले सिद्ध गरिसकेको कुरा हो। उसो भए माओवादी र मसालबीचको भिन्नता के ठान्ने त ? त्यो भिन्नता भनेको सिद्धान्त र व्यावहारिक प्रयोगको भिन्नता हो। कुनै पनि सिद्धान्तकारले आˆनो सिद्धान्तको प्रयोग यसरी नै हुन्छ भनेर भन्न सक्तैन जसरी कुनै गीतकारले आˆनो गीतको सङ्गीत र स्वर यस्तै हुनुपर्छ भनेर किट्न सक्तैन, केहीगरी किटयो भने त्यो गीतकारमात्र रहँदैन बरु गायक वा सङ्गीतकार पनि हुनजान्छ।

सिद्धान्तको प्रयोग सोचेभन्दा फरक हुनसक्छ। प्रयोगकर्ताको सोच र शैलीबाट पनि सिद्धान्त कसरी प्रयोग भइरहेछ भन्ने कुरा भर पर्दछ। यसो हुँदैमा कसैलाई सिद्धान्तच्युत भनिहाल्न मिल्दैन तर प्रयोग गर्नेको नियतमा भने सिद्धान्तविपरीत काम पनि हुन्छ। मानिसका नियतलाई उसका निकटवर्तीले बुझ्नसक्तछन्। मसाल र माओवादीबीच सङ्गठनको इतिहासलाई केलाउँदा माओवादी प्रयोगमा होमिएको, युद्ध लडेको र शासनमा पुगेर आमजनतामा प्रभाव पार्ने काम कसरी गर्नुपर्छ भन्ने अनुभव बटुलेको पार्टी भइसकेको छ तर मसाल हिजो जहाँ उभिएको थियो आज पनि त्यही अविचलितरूपमा उभिएको छ।

हो, मसाल कट्टरसिद्धान्तमा अडिएको छ तर सिद्धान्तमा धेरै अडिन नसक्ने मान्छेको बाहुल्य रहेको यो दुनियाँमा मसालका कट्टरपन्थी नेताहरू 'हिंड्दैछ पाइला मेट्दैछ'को स्थितिमा पुगेको इतिहासको ठहर छ। कम्युनिस्ट इतिहासको प्रथम चरणका वरिष्ठ नेता मोहनविक्रम सिंहबाट सिकेर नेपाली कम्युनिस्ट नेता कहाँबाट कहाँ पुगे तर उहाँ जहाँको तहीँ हुनुहुन्छ। व्यावहारिक दृष्टिले जहाँको तहीँ उभिनसक्नु कुनै सफलता होइन।

माओवादी नेता प्रचण्डले व्यावहारिक प्रयोगको बाटो पहिलेदेखि अहिलेसम्मपनि अँगालिरहेको देख्न सकिन्छ। प्रयोगमा होमिनकै लागि उहाँले पहिले मोहनविक्रम सिंहको नेतृत्व छोडेर हिंड्नुभयो र यहाँसम्म आइपुग्नुभयो। अहिले माओवादी सेनाका लडाकूलाई सेना समायोजनमा पठाउने बेलामा पनि उहाँले त्यस्तै प्रयोग गर्नुभयो।

सेनाप्रति ज्यादै लगाव भएको पार्टीका कार्यकर्ताले सेनासमायोजन कसरी हुनदेलान् भन्ने धेरैलाई लागेको थियो तर प्रचण्डले सेना र हतियार त्याग गर्ने प्रयोग पनि त्यसैगरी गर्ने साहस गर्नुभयो, जसरी त्यसको निर्माण गर्ने प्रयोग गर्नुभएको थियो।

सिद्धान्तमा टाँसिएर बस्ने नेता नेता नै हुँदैन,ऊ त विचारक र विश्लेषक मात्र बाँकी रहन्छ। जो प्रयोगमा होमिन सक्छ नेता पनि त्यही हुन्छ तर प्रयोगमा होमिने नेता पनि सधैँ सफल र सही हुन्छ भन्न सकिन्न। माओत्सेतुङ् जस्ता महान् प्रयोगवादी नेताको जीवनको अन्तिम समयको प्रयोग उनकै देशले असफल सावित गरिदिएको छ। सफलता भनेको त्यही हो जसबाट लक्ष्य प्राप्त हुन्छ। यसपटक आˆनै पार्टीभित्रबाट विरोध हुँदाहुँदै प्रचण्डले सेनासमायोजनको जुन"बोल्ड"निर्णय दिनुभयो त्यो वास्तवमा लक्षित दिशामा नै थियो। किनभने १२बुँदे समझदारी र २०६३को शान्ति सम्झौताले नै त्यही गर्ने म्यान्डेट दिएको थियो।

असहमत पक्षबाट सेना र लडाकूबीचको समायोजनका लागि मान सम्मानलगायतका जुन सर्त अघि सारेका थिए, तिनको ठाउँ नै सम्झौता र समझदारीले राखेको थिएन। वैद्यपक्षबाट जनविद्रोहको र मानसम्मानको कुरा उठाइएको छ ती समझदारी र सम्झौतापछि उठेका विषय हुन्। समझदारी र सम्झौताबाट हात मिलाएर जोसँग करार गरिन्छ त्यो पूरा गर्नु कम्युनिस्टको परम्परा पनि हो। लौ, मानसम्मान गरेनन् भने पनि समझदारी र सम्झौतामा त्यसबारे पछि हट्ने कुनै ठाउँ राखिएको पनि त हुनुपर्‍यो नि।

वास्तवमा माओवादी पार्टीले जहिले अनिश्चितकालीन हडतालबाट पछि हट्न बाध्य हुनुपर्‍यो तहिलेदेखि नै उसका जनविद्रोहमा जानसक्ने विकल्प सीमित भइसकेका थिए। यस्तो बेलामा एक जिम्मेवार र व्यवहारमा जान सिपालु नेताले यथार्थ स्थितिलाई हृदयङ्गम गरेर लडाकूलाई सेनाको जिम्मा लगाउने निर्णय गर्नुबाहेक अर्को फाइदाको विकल्पै थिएन। सबै मान्छेले एकदिन त मर्नैपर्छ तर मर्नेबेला भएपछि हो र ? मैले मर्नैपर्छ र, भनेर जति आक्रोश पोखे पनि उसले त जसरी पनि जानैपर्छ।

सेना समायोजनका बेला हतियार बुझाएको, आत्मसमर्पण गराएको गर्नै नहुने काम गरेको जे भने पनि जनवादी क्रान्ति परित्याग गरेर गणतन्त्रमा सम्झौता गरेपछि सम्झौता पालनाका लागि पनि जनसेनाको सेफल्यान्डिङ् त जसरी पनि गर्नुपरिहाल्थ्यो। यहाँ सिद्धान्तले काम गर्दैन, यहाँ त व्यवहारकै खाँचो पर्दछ।

मान, सम्मानसाथ समायोजन गरे पनि वा पुनःस्थापना गरे पनि अथवा अपमानपूर्वक शिविरबाट निकाले पनि निष्कर्षमा त्यो जनसेनाको विघटन हो, निःशस्त्रीकरण हो। त्यसैले प्रश्न अपमानजनक भयो वा सम्मानजनक भयो भन्ने होइन, जनसेनाको विघटन वा राष्ट्रिय सेनामा विलय भयो कि भएन भन्ने हो। वैद्यपक्षले सम्मानजनक हुँदा क्रान्तिकारी हुने र अपमानजनक हुँदा क्रान्तिको विसर्जन हुने भन्नु मर्नेबेलाको मानिसले यमराजसँग आक्रोश पोख्नुजस्तै मात्र हो।

सिद्धान्त र व्यवहारको सीमारेखा कोरेर सन्तुलनसाथ हिंड्न सक्नु नै नेतृत्वको खुवी हो। माओवादीले आफूसँग भएका जनसेनाको सेफल्यान्डिङ् सकेपछि आफूलाई अरूभन्दा क्रान्तिकारी सिद्धान्तको पार्टी हो भन्ने सिद्ध गर्नु अबको सिद्धान्त र व्यवहारबीचको सीमारेखा कोर्नु हो किनभने हिजो एमालेले पनि व्यवहारिकताकै नाममा माले कालबाट आफूलाई मुक्त पारेर एमाले बनाएको हो। सिद्धान्तका अनौपचारिक बहसमा एमालेका नेताहरू उग्रवामपन्थलाई गाली गर्नुभन्दा व्यवहारिकताको नै बढी दुहाइ दिने गर्दछन्।

काङ्ग्रेसले त माओवादीलाई अव्यवहारिक नारा दिने उग्रवामपन्थी भन्दै आएको छ। अहिले उनीहरू माओवादीप्रति यति प्रसन्न र आत्मीय बन्नुको कारण पनि अब माओवादी पनि आफूहरूजस्तै "व्यवहारिक" बन्नेभयो भनेर हो। त्यसो भए जनताको नजरमा त काङ्ग्रेस,एमाले र माओवादी सबै "व्यवहारिक" बन्नेभए। अनि फरक केमा हुने भयो त ? जब सबै नै "व्यवहारिक" बने भने सबै एउटै भए भइगयो नि,किन चाहिए चुनावी घोषणापत्र बेग्लाबेग्लै ? बस, यहीँनेर अरूभन्दा पृथक् देखाउन सक्नुपर्छ माओवादीले। माओवादीसँग पृथक् सिद्धान्त हुनुपर्छ। अहिलेसम्म आˆनै जनसेना भएकाले सबैभन्दा बलियो र जनताको पक्षमा ठोस कदम चाल्नसक्छ कि भन्ने आशा थियो तर अब त्यति आशाका लागि मात्र त्यत्रो सेना पालेर राज्यसँग दुस्मनी गर्ने कुरा रहेन।

हिजोसम्म माओवादीका अगाडि सिद्धान्तवादी मात्र नभएर व्यवहारवादी बन्नुपर्ने ठूलो समस्या थियो तर आज कसरी सिद्धान्तवादी बन्ने भन्ने मुख्य समस्या छ किनभने सेना नभएको मात्र होइन, माओवादी कार्यकर्तामा हिजो त्याग, बलिदान र सामाजिक ऐक्यबद्धताको भाव पनि हराउँदै र शिथिल हुँदै जान थालेको देखिन्छ। त्याग, बलिदान र सामाजिक भावना कुनै अमूर्त कारणबाट मात्र पलाउँदैन। त्यसका लागि ठोस लक्ष्य र उद्देश्य चाहिन्छ।

हिजो जनताको जनवाद ल्याउनु छ, राजा फालेर गणतन्त्र स्थापना गर्नुछ भन्ने बृहत् र कठिन लक्ष्य राखेर काम गरेको हुनाले जनताको जनवाद आएपछि आफूलाई नभए पनि सन्तान र समाजलाई त केही हुन्छ भनेर अधिकांशले बलिदान गरेका थिए तर अब गणतन्त्र प्राप्त भइहाल्यो र पनि जनवाद आउन सकेन भनेर कति निराश र शिथिल नै भइसके भने जनवाद होइन पुँजीवाद भनेर कैयौँले मनस्थिति फेरिसके। यस्तो अवस्थामा माओवादी नेतृत्वले कसरी कार्यकर्तामा नयाँ सैद्धान्तिक दिशा दिनसक्छ त्यस कुराले मात्रै माओवादी सिद्धान्तवादी रहेको प्रमाणित हुनसक्छ।

त्यो सिद्धान्त कोरा र अमूर्त भयो भने जनतामा र युवामा स्थापित हुनसक्तैन,ठोस र मूर्त बन्नका लागि केही ठोस कर्यक्रम र कार्ययोजना हुनैपर्छ। गाउँमा ठेकेदारबाट चन्दा असुलउपर गर्न अगाडि छ ? भन्ने कुराका भिन्नताले अब सैद्धान्तिक भिन्नता दर्शाउँदैन। माओवादीले यात्रा जहाँबाट सुरु गरेर जहाँ पुगेका छन् त्यहाँबाट अघि बढ्न सकेनन् भने मोहनविक्रम सिंहको मसालजस्तै हिंड्दैछ पाइला मेट्दैछ गर्नमा माओवादी झन् अग्रगामी बन्नेछ। á

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home