काठमाडौँ, वैशाख १५ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले अहिले राजनीतिक दलका नेताहरू फराकिलो सोचाइ बनाएर उपलब्धि संस्थागत नगरे ऐतिहासिक भूल हुने बताउनुभएको छ।
संयुक्त लोकतान्त्रिक थारू मोर्चाको दुईदिने सम्मेलनको उद्घाटनसत्रमा शुक्रबार बोल्दै मन्त्री गच्छदारले उक्त कुरा बताउनुभएको हो। उहाँले सङ्घीयतासहितको नयाँ संविधान बनाउने कसरतमा नेताहरू रहे पनि आन्तरिक कलह र किचलोले संविधान निर्माण कार्यमा ढिलाइ भइरहेको
उल्लेख गर्नुभयो।
तराईमा बहुप्रदेश सम्भव नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, "एउटा प्रदेशका निम्ति पसिना चुहाउनु परिरहेको छ, दुई वा तीन प्रदेश पाउन त रगतको खोलो बगाउनुपर्ने हुन्छ" उहाँले भन्नुभयो। थारूहरूले तराईमा बहुप्रदेशको अवधारणा अगाडि सारे पनि सो व्यावहारिक नरहेको तर्क उहाँले गर्नुभयो। थारू र मधेसी समुदाय शताब्दीऔँदेखि राज्यबाट उपेक्षामा पारिएका वर्ग, समुदाय रहेकाले अधिकारका निम्ति एक भएर अगाडि बढे मात्र प्राप्त गर्न सकिने धारणा राख्नुभयो।
अधिकार प्राप्त गर्न एक दिनको आन्दोलन र लडाइर्ं अपर्याप्त हुने उल्लेख गर्दै मन्त्री गच्छदारले "हिजोका इतिहास हेर्दा अधिकार पाउन निरन्तर राजनीतिक लडाईं लडेको देखिन्छ। राज्यबाट उपेक्षित थारू, मधेसी, दलित, मुस्लिम समुदाय अधिकार पाउनका निम्ति निरन्तर राजनीतिक लडाईं लड्नै पर्छ" भन्नुभयो।
"तराईमा थारू प्रदेश र मधेस प्रदेश मात्र प्राप्त गरेर पुग्दैन, मुख्यमन्त्रीसहित प्रदेशको शासनसत्तामा आफ्नो पकड कायम गर्नैपर्छ" उल्लेख गर्दै उहाँले "प्रदेशको नामकरण थरुहट हुने तर मुख्यमन्त्री र मन्त्रीहरू अन्य समुदायका भए त्यसको के अर्थ रहन्छ ?" प्रश्न गर्नुभयो। संयुक्त मधेसी मोर्चाको बटमलाइन मधेस स्वायत्त प्रदेश रहेको भन्दै उहाँले संविधानका लागि मधेसी मोर्चा लचिलो हुन तयार रहेको बताउनुभयो।
एकीकृत नेकपा -माओवादी) आफ्नो तर्फबाट १० वटा प्रदेशको अवधारणा राखे पनि काँग्रेस र एमाले अझै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न नसेकेको बताउनुभयो। अखण्ड सुदूरपश्चिम, अखण्ड चितवन र अखण्ड धवलागिरिको नारा लगाउनेहरू सङ्घीयता विरोधी भएको आरोप पनि मन्त्री गच्छदारले लगाउनुभयो।
आदिवासी जनजाति विज्ञ परशुराम तामाङले औलो,
सर्प, विच्छी, मलेरिया, बाघ, भालुलाई जितेको थारूजाति ठूला जातसँग डराएको बताउनुभयो। ठूला जातसँग डराएकै कारण विगतमा थारूहरू अधिकारबाट वञ्चित भएको भन्दै तामाङले नयाँ संविधानमा अधिकार सुनिश्चित गर्न निडर भएर लड्न आग्रह गर्नुभयो। भोको पेट र नाङ्गो शरीरले सङ्घीयता मागेको नभई अधिकारसम्पन्नताका लागि सङ्घीयता चाहिएको उहाँले तर्क गर्नुभयो।
थारू बडघर संस्थाका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले हिजोसम्म अरूका निम्ति लडेका थारूहरू अब आफ्नो अधिकारका लागि लड्ने बताउनुभयो। थारू बडघरलाई अधिकारसम्पन्न नबनाइए गाविस र जिविस कार्यालय कब्जा गरी आफ्नो सत्ता आफै सञ्चालन गर्ने चेतावनी चौधरीले दिनुभयो।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च -थरुहट) का उपाध्यक्ष योगेन्द्र थारूले दास मानसिकताबाट ग्रसित केही राजनीतिक दलका नेताहरू थारूलाई अझै दास बनाउने प्रपञ्च गरिरहेको आरोप लगाउनुभयो। थारूको अधिकार सुनिश्चिततासहितको संविधान नआए जारी भएकै दिनदेखि जलाउने धम्की उहाँले दिनुभयो।
थारू मोर्चाका संयोजक सुरेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री उमाकान्त चौधरी, रामजनम चौधरी, गोविन्द चौधरी, सभासद् सुक्दैया चौधरी, रुक्मिणि चौधरी, मालामती रानाथारू, नवोदिता चौधरी, मानवबहादुर चौधरी, राप्रपा नेता नरेन्द्र चौधरी, थारू अगुवा शङ्करलाल चौधरी, ठाकुरसिंह थारूलगायतले नयाँ संविधानमा थारूको पहिचानसहितको अधिकार सुनिश्चितताको माग गर्नुभएको थियो।
शनिबारसम्म चल्ने सम्मेलनमा थारू बसोवास रहेका २२ जिल्ला गरी करिब दुई सय पचासजना थारू प्रतिनिधिको सहभागिता रहेको आयोजकले बताएको छ। शनिबार बृहत् छलफल गरी घोषणापत्र जारी गरिने सम्मेलनका संयोजक सुरेन्द्र चौधरीले बताउनुभयो।