अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
'संविधान निर्माण अन्तिम चरणमा'
नेपालगन्ज/बाँके समाचारदाता
 

नेपालगन्ज, वैशाख १५ गते। सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मधेसी मोर्चामाथि जस्तोसुकै आरोप लगाइए पनि नेपालमा बसोवास गर्ने सबै नेपालीले गर्व गर्न सक्ने नयाँ नेपाल निर्माणमा मोर्चा कस्सिएर लागेको बताउनुभएको छ।

उहाँले भन्नुभयो- विगतमा मधेसलगायत विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रमा बसोवास गर्नेहरूको उपेक्षा गरिएकै कारण माओवादी र मधेस आन्दोलन भएको हो त्यसैले अब सबैलाई अधिकारसम्पन्न बनाउने संविधान जारी गरेर सबैले गर्व गर्ने नेपालको निर्माण गर्नुपर्छ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिक बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको मधेसी अस्तित्वको माग मधेसी जनअधिकार फोरम गणतान्त्रिकको अभियान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारमन्त्री यादवले सबै नेपाली आ-आफ्नो पहिचानसहित देशमा अटाउने गरी राज्य पुनःसंरचना गरिए मात्र देशको एकता र अखण्डता बलियो हुने बताउनुभयो।

उहाँले थप्नुभयो- केही सीमित जातजाति र भाषाभाषीको मात्र नयाँ नेपाल निर्माण हुनुहुँदैन। त्यसो भए मुलुकका लागि ठूलो दुर्भाग्य हुनेछ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्षसमेत रहनुभएका मन्त्री यादवले समग्र मधेस एक प्रदेशको माग अझै पनि यथावत रहेको जनाउँदै मधेसलाई पहाडसँग जोडेर संविधान बनाउने कुरा मधेसी मोर्चालाई मान्य नहुने बताउनुभयो।

नेपालको इतिहासमा पहिलोपटक ढिलै भए पनि जनताले चुनेका प्रतिनिधिले संविधान निर्माण गरेर नेपालीको भाग्य कोर्ने भएकाले यसपटक जनताले चाहे अनुसारको शान्ति र संविधान आउने कुरामा ढुक्क हुन उहाँले पार्टी कार्यकर्तालाई आश्वस्त पार्नुभयो।

कृषिराज्य मन्त्री प्रेमप्रकाश यादव गुल्जारीले मधेसी जनताको अधिकार खोस्ने दुष्प्रयास गरिए गम्भीर परिणाम आउने चेतावनी दिनुभयो।

जिल्लाभरिका कार्यकर्ताको ठूलो उपस्थिति रहेको उक्त कार्यक्रम मधेसी जनअधिकार फोरम गणतान्त्रिक बाँकेका अध्यक्ष कपिलदेवप्रसाद गुप्ताको सभापतित्वमा भएको थियो।

यसैगरी, बाँकेमै भएको एक अर्को कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले नेपाली जनताले चिताएको र इच्छाएको नयाँ संविधान निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ।

भोलि साँझ -शनिबार) सम्ममा राज्य पुनःसंरचना र शासकीय स्वरूपमा सहमति हुन्छ, नेपाल पत्रकार महासङ्घ बाँकेको निर्माणाधीन भवनको शुक्रबार स्थलगत निरीक्षणपछि मन्त्री यादवले भन्नुभयो- नेपाली जनताले ढिलै भए पनि नयाँवर्षको अवसरमा नयाँ संविधान उपहार पाउने निश्चित भएको छ। समयमै संविधान निर्माणका लागि दलहरू घनिभूत छलफलमा जुटेका कारण समयमै संविधान बन्ने उहाँको भनाइ छ। दलहरूको सम्पूर्ण शक्ति र ध्यान संविधान निर्माणमा केन्दि्रत भएको उहाँको दाबी छ।

माओवादीले पहिचान र जातीयताका आधारमा १० प्रदेश प्रस्ताव गरेका कारण अरूभन्दा सकारात्मक भएको उहाँको भनाइ छ। मन्त्री यादवले मधेस एक प्रदेशको राम्रो विकल्प दिइए आफूहरू छलफलका लागि तयार रहेको बताउनुभयो। उहाँले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि सरकार गम्भीर रहेको बताउँदै पत्रकार र पत्रकारिताको सहयोगका लागि मन्त्रालय सदैव लागिपरेको छ भन्नुभयो।

सो अवसरमा कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव गल्जारीले फोरम गणतान्त्रिकका सचिव सन्ध्यादेवलगायतको सहभागिता रहेको थियो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home