शक्तिको अर्को नाम हो टुँडिखेल। फुर्सद, अनुकूलता र खोजी गर्नुपरे टुँडिखेल जान्छु म। यसले मलाई दिएको छ धेरै-धेरै विषय, बहस र विम्ब। जब विम्बको खाँचो हुन्छ, जान्छु टुँडिखेल। जब बहसको आवश्यकता हुन्छ, लम्कन्छु टुँडिखेल। जब विषयको खोजी हुन्छ, लाग्छु टुँडिखेल।
टुँडिखेल एउटा सामथ्र्यको मैदान रहेछ।
यसलाई सयौँ कोणबाट पढ्ने प्रयास भो मेरो निसोधार झरीमा निथु्रकिएको टुँडिखेल। टन्टलापुर घाममा बाफिएको टुँडिखेल। ठिहीमा कक्रिएको टुँडिखेल। सम्बोधनको चेपमा सधैँ असम्बोधित लाग्छ टुँडिखेल।
आवाजको मूल्य बडाबड हुने गर्छ यहाँ। विचारको बाझाबाझसँगै मोलमोलाइको खुसामदी हुन्छ यहाँ। नापतौलसँगै समर्पणको अन्तिम बिसौनी हुने गर्छ यहाँ।
मलाई टुँडिखेलको सार्वभौम पि्रय लाग्छ।
देशमा धेरै छन् टुँडिखेल। सरकार, विपक्षी, सङ्घ, युनियन, आन्दोलन वा धर्नाका आवाजले यसलाई गति दिन्छन्। सबैले यसको चौकुनामा घेरा हालेर क्षमता पस्कन्छन्। टुँडिखेल भर्नु भनेको जित्नु हो अरूलाई। विजयको पगरी लाउनु हो रे।
साँझ, दिउँसो र बिहान- यी तीन भिन्न समयका अलग चरित्रमा बाँच्छ टुँडिखेल। सहेर सानो र बोलेर ठूलो नहुने तर्कलाई पढ्न सकेको छ टुँडिखेलले। उही र उस्तै अनुहारमा स्थिर लाग्छ यो।
सपनाहरूको किनबेच यहीँ हुन्छ। विपनाहरूको सालनाल पनि गाडिन्छ, यहीँ नै। दर्शन लापत्ता पनि टुँडिखेलमै हुन्छ। दृष्टिकोणले माटो खाने चौतारो पनि निर्माण छ यहीँ नै।
टुँडिखेलको अर्को नाम नृत्य।
नाच्दा-नाच्दा तपाईं यहाँ पुगिहाल्नुभो भने देख्नुहुन्छ अरू नयाँखालका नाच। ती नाचमा तपाईं सरक्क मिसिएर ताल दिन थालिहाल्नुहुन्छ। बिहान जतिसुकै सत्तोसराप दिनुस्, साँझ त्यहाँ पुगिहाले आङ मर्काएर नाचिहाल्नुहुन्छ तपाईं। दिउँसो, राति वा बिहान उही स्थिति बन्छ, नृत्यमग्न।
सहरको रुवाबासी एकातिर छ। लालची आँखा र भोकाएका ओठले जतिसुकै खुइय्य गरून्- टुँडिखेलको आयाम खुम्चिन्न। सहरको रोग र सलहबारे जतिसुकै मोटा कार्यपत्र लेखियून्- टुँडिखेलको अँगालो साँगुरिन्न। सहरको कमाइ जतिसुकै चुलियोस्- टुँडिखेलको बुझाइ पातलिन्न।
हरेक सहरमा टुँडिखेल जन्माइन्छन्।
सहरले बोक्ने शब्दसँग टुँडिखेलको सार्थकता हुन्छ। सहरले थाप्लामा राखेको टुँडिखेलको अर्थ उपलब्धिसँगै इतिहास पनि हो। जिल्ला वा सदरमुकामका नै किन नहोऊन्् यो सम्बोधनले शक्ति बोल्छ, सरकार बोल्छ र सामथ्र्यको लहर सार्वजनिक हुन्छ।
मैले टुँडिखेल बुझ्न सकेँ उपत्यकामा।
खेल, व्यायाम, व्यापार, राजनीति वा सङ्गीतको उपस्थितिमा यसको साख। संस्कृति, धर्म, प्रवचन वा झाँकी टुँडिखेलकै शरणागत। अमूर्तजस्तो लागे पनि यसको दोस्रो नाम हो-
स्थिर सरकार।
उद्दन्ड अनुहारको लस्कर यहीँ छ। अविश्वासको भल यहीँ बग्छ। अपराजित खुसीलाई हुत्याउने दर्शन सुन्न पाइन्छ यहीँ नै। विजयीका हात मिलाइ यहीँ देख्न पाइन्छ। हरूवाका घुर्कीले टुँडिखेलको धूलो उड्छ बुङबुङी।
टुँडिखेल एक हरफ कविताजस्तो Û
समयको लहरमा यो सहरले नयाँ शासक पायो आप\mनो कुर्सीमा। पुरानो सत्ताको ढलोट अनुहार टुँडिखेलवरपर कोच्चिएर बसेका छन्। कति युवा तिनै मूर्तिमा छेलिएर केश मिलाउँछन्। कति युवतीहरूले बैँसको बन्दोबस्त गर्छन् तिनै ढलोटका मूर्तिमा हात टेकाएर।
टुँडिखेलकोसमय छरिएको छ सर्वत्र ।
मलाई फैलिरहेको सहरले दरिद्रयाइँ देखाएको लाग्छ । चोटले थल्लिरहेर याचना गरिरहेको लाग्छ मलाई । टुँडिखेलको साँधमा घरघरी हस्तक्षेप, किचलो वा झेला गरिरहेको लाग्छ मलाई ।
देवताजति आˆना घरका खोपीमा राखेर असुरजति यो टँुडिखेलमा लखेटेजस्तो पनि लाग्छ यदाकदा । कपटलाई टुँडिखेलमै हार लाएर करुणाजति आˆनै खोकिलामा लुकाएर लगेजस्तो त होइन टुँडिखेलमा ? आत्तिन्छु म बेलाबखत ।
टुँडिखेल लाग्छ दहजस्तो।
नबगाईकन पानी। थुनिएको जलसंसार सङ्लो बस्न सक्तैन सधैँभरि। कतै न कतैबाट धमिलिइन्छ यो। दुर्गन्धित पारिएकै हुन्छ दहलाई। त्यसैले दहकै विम्बमा टुँडिखेल चिन्छु म।
छिनछिनको वाक्युद्ध। पलपलको वैमनश्य। खेपखेपको अविश्वास र क्षणक्षणको डाँटडपेट। त्यहीक्रमको छिनाझपटी। टुँडिखेलका काव्य हुन्, आख्यान हुन्। आख्यान र काव्यका रचनाकारले दिएका उपहारलाई हत्केलामा थाप्नु छ हामीले सगर्व, सहर्ष र सविनय।
हृदयले कठोर यतै आउँछन्। शरीरले जटिल यतै देखिन्छन््। सुकोमल वा दम्भी सबै परेलीका हेराहेर देख्न पाइन्छ टुँडिखेलमै। रच्ने, कथ्ने वा गाउनेका मुटु पनि यहीँ हेर्न सकिन्छ। सुन्ने, गम्ने र जाँच्नेका छाती पनि यतै देख्न सकिन्छ।
टुँडिखेल लाग्छ सपना नगरी।
सरोबरी आउँछु म टुँडिखेल। यो घाँसेचौरमा कुदिरहेका कलिला अनुहारमा हिमालको ज्योति टल्पलिन्छ। यो हरियो मैदानमा दगुरिरहेका किशोर मुहारमा पहाडी चमक टुप्लुकिन्छ। यो बारबेर पारिएको फाँटिलो टारमा तराईकी युवतीले खित्का हालेर घुम्टोमा उभिएको लाग्छ।
मैले यसको रूप पढ्न छोडेको छैन।
टुँडिखेल कानेखुसी गर्नेहरूको अड्डाजस्तो पनि। टुँटिखेल आँखा लडाउनेहरूको अखडाजस्तो पनि। टुँडिखेल भालेजुधाइको घेरोजस्तो पनि। टुँडिखेल पन्जा लडाउने चौतारोजस्तो पनि।
एकदमै व्यस्त यो धर्ती।
लाग्छ, मौन र चुपचाप टुँडिखेलले भइरहनुपर्छ। सबै कुरा हेरिरहनुपर्छ। हरेक चुक्ली सहिरहनुपर्छ। जम्मै बेहिसाब चरित्रहरू भोगिरहनुपर्छ। सारा अनाचारको साक्षी भए पनि पट्टी नराखी भएकै छैन टुँडिखेलको ओठले।
टुँडिखेलमा धेरैखाले अनुहारको उपस्थिति भएको देख्छु म।
बारम्बार आउँछन् घँसिनीहरू। रहर होइन तिनको। कर, बाध्यता र श्रमको टीको निधारमा टाँस्सिएको हुन्छ तिनको। हातमुख जोर्ने न्यूनतम अधिकारले ब्युँझाएर ती घँसेनी पुगेका हुन्छन् टुँडिखेल।
कुनै कसरत, योग वा व्यायामको चाहना तिनमा हुँदैन। जीवनको बोझिल र विवशक्रममा जोडिएका हुन्छन् ती। टुँडिखेल तिनका निम्ति केही भरपेटको साधन।
'टुँडिखेलमा गएर ज्यान बनाऊँ Û'
कुनै तन्नेरीको जोडीले असिनपसिन भएर स्वाँस्वाँ, ˆवाँˆवाँ भएको पनि देख्छु यहीँ नै। कुरामा कुरा चल्दा तिनले पाएको खुला संसार र जीवनको स्वप्निल ठाउँ पर्यो यै टुँडिखेल Û
भोलिको लाहुरे, रेमिट्यान्सको एक उच्चारण पनि टुँडिखेलकै हो कि ? मैले भित्रैदेखि अर्थहरूको गहिराइमा भेटेको लहर हो, यो।
टुँडिखेलमा जोवनको लेखाजोखा भइरहन्छ। घाँसका भालेपोथी जोड्दै वा टुक्राउँदै यौवनको मूल्य तोक्ने पनि देख्छु धेरै-धेरै। फेरि अर्को कुनामा सर्वस्व गुमाएर परेली चिसा पार्ने सन्तप्त मनको लर्कन भेटिन्छ त्यत्तिकै।
नाटक भइरहेको छ टुँडिखेलमा।
नजिकै सिंहदरबार छ। त्यसमा हाँसिरहेका अनुहारको समर्थनमा थोरै थपडी बज्छन् यता। टुँडिखेलको अर्को कुनामा रोइरहेकाहरूको हूलले त्योभन्दा बढी ताली ठोकिरहेका हुन्छन्।
घाँसमा बस्नेले माटोमा बस्नेलाई गिल्याइरहेको हुन्छ। माटोमा बस्नेले कुर्सीमा बस्ने चाहना पालेको देखिन्छ। कुर्सीमा बस्नेले टुँडिखेलको सिँढी मास्तिरका गद्दे आसनमा ढसमस्सिने आकाङ्क्षा राखेको देखिन्छ। टुँडिखेल आशाहरूको भर्याङजस्तो ठानिरहेको छु।
टुँडिखेलमा इन्दे्रणी छ जीवनको।
बिहानै प्राणायाम हुन्छ। मध्याह्नमा सुस्ताउनेहरूको ओइरो लाग्छ। साँझमा एकान्तको चाहना व्यक्तिन्छ। राति त अपराधका लुकामारीमा टुँडिखेलको होसहवास उडिरहेको हुन्छ। यी स्पर्श, माया र गुनासाका अँठ्याइमा टुँडिखेलको उमेर ढल्किँदो छ निरन्तर-निरन्तर।
सबैखाले शक्तिको अर्को नाम हो टुँडिखेल।
पर्चा, किताब, पुस्तिका, पोस्टर वा चिर्कटाले विचार बोकेर टुँडिखेल पस्न रोकिएका छैनन्। बलात् लादिएका तर्क र सिद्धान्तले थिच्न छाडेका छैनन् टुँडिखेललाई। खेलका अनेक नियममा नचाउन छोडिएको छैन हामीलाई टुँडिखेलमा।á