काठमाडौँ, वैशाख १८ गते। थारू जातिलाई साथमा लिएर मात्रै हालको सुदूरपश्चिमको मौजुदा भूगोललाई सङ्घीय राज्यका रूपमा विभाजन गर्नुपर्ने धारणा प्रमुख राजनीतिक दलका नेताहरूले व्यक्त गर्नुभएको छ।
सुदूरपश्चिमको भूगोलबाट तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई अलग पार्ने गरी आएको प्रस्तावको विरोधमा सुदूरपश्चिममा अनिश्चितकालीन बन्द भइरहेका बेला सोमबार राजधानीमा प्रमुख दलका नेताहरूले पत्रकार सम्मेलन गरी यस्तो धारणा व्यक्त गरेका हुन्। राज्य पुनःसंरचना गर्दा सुदूरपश्चिमको जातीय, भौगोलिक, प्राकृतिक स्रोतको अवस्था तथा ऐतिहासिक पक्षलाई अध्ययन गरेर मात्र सेती महाकालीका विषयमा निर्णयमा पुग्नसमेत सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई आग्रह गर्नुभएको छ।
सुदूरपश्चिमेलीको भावना, अखण्ड सुदूरपश्चिमको चाहनाको नारा दिएर आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली, कञ्चनपुरका आदिवासी जनजाति डगौरा थारू, राना, कठरिया, राजी र पहाडका दलित, राउटे, सौका, व्यासीसहितको अखण्ड सुदूरपश्चिम राज्य निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।
"नेपाली काँग्रेस सात प्रदेशको अडानमा छ, हालको सुदूरपश्चिमको मौजुदा भूगोललाई कायम राखी सेती महाकाली प्रदेश निर्माणमा काँग्रेस अन्तिम समयसम्म लड्नेछ", नेता देउवाले भन्नुभयो। नेपाली काँग्रेसले प्रस्ताव गरेको प्रदेशका खाका सबैभन्दा वैज्ञानिक र सबै जातजातिलाई समेट्नसक्ने बताउँदै वरिष्ठ नेता देउवाले जातीय सङ्घीय संरचना बने देश द्वन्द्वमा जाने निश्चित भएको तर्क प्रस्तुत गर्नुभयो।
जातीय नाममा राज्यको निर्माण गर्दा एउटै राज्यमा अर्काे जातिले अपमान सहनुपर्ने स्थिति आउन नदिन नेपाली काँग्रेस सजग रहेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, "जातीय सद्भाव खलल हुने गरी सेती