काठमाडौँ, वैशाख १८ गते। अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनमा उत्रिएकाहरूलाई सो क्षेत्रबाट संविधानसभामा प्रतिनिधित्व गर्ने तेइसजना सभासद्ले सामन्तवादी प्रवृत्ति र सोचको उपमा दिनुभएको छ। सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी आफू सधैँ राज गरिरहने उद्देश्यले त्यस्तो माग गरेको आरोप उहाँहरूले लगाउनुभएको हो। "सुदूरपश्चिमलाई अखण्ड बनाउने सोच यथास्थितिवादी, सङ्घीयताविरोधी र पश्चगामी विचार हो", विज्ञप्तिमा उल्लेख छ।
कैलाली र कञ्चनपुरलाई थरुहट वा थारुवान क्षेत्रमा समेटी पुनःसंरचना नगरिए जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ। "आआˆना क्षेत्र र भूगोललाई अखण्ड बनाउने नारा सङ्घीयताविरोधी छ, यस्तो सोचलाई हामी पूर्णतः खारेज गर्दछौँ", विज्ञप्तिमा भनिएको छ।
कैलालीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) का संसदीय दलका प्रमुख सचेतक रामजनम चौधरीले थारू जातिलाई अधिकारबाट वञ्चित गर्ने र दास बनाउने सोचबाट ग्रसितहरूलेे सुदूरपश्चिम अखण्डताको माग उठाएको आरोप लगाउनुभयो।
अछामबाट प्रतिनिधित्व गर्नुहुने एकीकृत नेकपा -माओवादी) का सभासद् शरत्सिंह भण्डारीले कैलाली, कञ्चनपुरको तल्लो भेग तथा माथि पहाडी भेग दुवै ठाउँमा घर भएकाहरूको स्वार्थको उपजले अखण्ड सुदूरपश्चिमको माग आएको तर्क गर्नुभयो।