पर्वत, वैशाख १८ गते। जिल्ल खेलकुद विकास समिति पर्वतको आयोजनामा आइतबारदेखि तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु भएको छ।
जिल्लाको फलेबास देवीस्थानस्थित माझीगाउँ चौरमा सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङले उद्घाटन गरे। उद्घाटन समारोहमा कोषाध्यक्ष थिङले विद्यालय तहबाटै खेलकुदको विकास गर्न आवश्यक भएको बताउँदै यस्ता प्रतियोगिताले योग्य खेलाडी तयार गर्न सहयोग पुग्ने धारणा राखे।
जिल्लाका विभिन्न ३५ विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा एकदर्जन खेल हुने जानकारी आयोजकले दिएको छ।
स्याङ्जा समाचारदाताका अनुसार स्याङ्जामा तेस्रो राष्ट्रपति कप राष्ट्रपति कप खेलकुद प्रतियोगिता जेठ १ देखि ४ गतेसम्म मालेबगरमा सञ्चालन हुनेभएको छ।
प्रतियोगिता जिल्ला खेलकुद विकास समिति स्याङ्जाको आयोजनामा हुन लागेको हो। माघ २५ देखि २८ गते सम्म सञ्चालन गर्ने भनिएको प्रतियोगिता शिक्षकहरूको आन्दोलको कारणले स्थगित भएको थियो। प्रतियोगितामा सटपुट, हाइजम्प, लङजम्प, भलिबल, दौडलगायतका विभिन्न खेलकुद प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष मनिराम पौडेलले बताए।
यसैगरी, अर्घाखाँची समाचारदाताका अनुसार जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता वैशाख २१ गतेदेखि २३ गतेसम्म सन्धिर्खकमा हुने भएको छ। प्रतियोगितामा जिल्लाभरका माध्यमिक विद्यालय तहका विद्यार्थीले सहभागिता जनाउने समितिका अध्यक्ष हरिप्रसाद भट्टराईले जानकारी दिए।