|
काठमाडौँ, वैशाख १९ गते। नेपाल च्याम्पियन फिडेमास्टर मनिष हमाल, नेपालका पूर्व च्याम्पियन शूरवीर लामा, भक्तपुरका गणेशमान दुवाल र पुरुषोत्तम चौलागाईंले मङ्गलबार खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा संयुक्तरूपमा शीर्ष स्थान बनाएका छन्। यी सबैले सातौँ चरण सकिँदा समान ५.५ अङ्क बनाएका छन्। भोलि अन्तिम दिन हो।
छैटौँ चरणमा गणेशमानलाई हराएका मनिषले सातौँ खेलमा शूरवीरसँग बराबरीमा खेलेपछि एक्लो अग्रता लिने मौका गुमाए। शूरवीर पनि सातौँ चरणको खेल जितेको भए एक्लै शीर्ष स्थानमा रहने समीकरण थियो। शूरवीरले छैटौँ खेलमा राजेन्द्रप्रसाद श्रेष्ठलाई हराएका थिए। यसैगरी, छैटौँ चरणमा हारे पनि गणेशमानले अर्को खेलमा अनुभवी सीताराम अग्रवाललाई पराजित गरी आप\mनो उपाधि जितको सम्भावनालाई कायम राखे। पुरुषोत्तमले भने आज दुवै खेल जित्ने क्रममा नेपालका पूर्वच्याम्पियन नवीन तण्डुकार र मदनकृष्ण कायस्थलाई हराए।
सर्लाहीका फरक क्षमता भएका खेलाडी महेश थापाले पनि अपराजित यात्रा जारी राख्ने क्रममा छैटौँ र सातौँ खेलमा क्रमशः पीएलए क्लबका राजन पुरी र धरानका चुडामणि राई कुलुङलाई बराबरीमा रोके। महेशसहित राजन, विजय श्रेष्ठ, प्रेमकृष्ण महर्जन, सुमन लामा र राजेन्द्रप्रसाद श्रेष्ठ समान ५ अङ्क प्राप्त गरी संयुक्तरूपमा देास्रो स्थानमा रहेका छन्।
यसैगरी, मदनकृष्ण, चुडामणि, यू-१९ च्याम्पियन रूपेश जैसवाल, सुरज गुरुङ, फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, कपिलदेव रघुवंशी, सीताराम अग्रवाल, महेन्द्रकुमार साम्बाहाम्फे, विवेक लामा, कृष्ण शाह र विपिन अमात्य ४.५ अङ्कमा छन्। स्विस लिगअन्तर्गत नौ चरणमा खेलाइएको प्रतियोगिता बुधबार सम्पन्न हुनेछ। |