|
काठमाडौँ, वैशाख १९ गते। एसियाली क्रिकेट परिषद् -एसीसी) अन्तर्गत टेस्ट क्रिकेट नखेल्ने राष्ट्रबीच नेपालको नाम सम्मानका साथ लिइन्छ। अझ उमेर समूहमा नेपाल हरेक प्रतियोगितामा उपाधि दावेदारको रूपमा प्रस्तुत हुने गर्दछ। यसैलाई निरन्तरता दिँदै नेपालको यू-१६ टोली बुधबार उपाधि जित्ने लक्ष्यसहित एसीसी यू-१६ इलाइट कपमा खेल्न मलेसिया प्रस्थान गर्दैछ।
एसीसीअन्तर्गत उमेर समूहको क्रिकेटमा नेपालले यू-१९ चार पटक यू-१७ एक पटक र यू-१५ दुई पटक जितिसकेको छ। नेपालले यू-१६ को उपाधि भने जित्न सकेको छैन। सन् २०१० मा घरेलु मैदानमा भएको पहिलो संस्करणमा नेपाल फाइनलमा सिंगापुरसँग हारेपछि उपाधिबाट वञ्चित भएको थियो। अहिले नेपाली युवा टिम मलेसियामा सोही निराशालाई भुलाउने मनसायमा छ। यू-१६ इलाइट कपको दोस्रो संस्करण मलेसियामा वैशाख २२ देखि वैशाख ३१ गतेसम्म हुँदैछ।
नेपाली टोलीमा कप्तान दीपेन्द्र चन्द र जगदीश चन्दसँग मात्र एसीसी यू-१६ को अनुभव छ। नेपाली टोलीमा अन्य खेलाडी आदिल खान, रूपेश बाँस्तोला, कालीचरण यादव, शशीभूषण मिश्र, मुकुन्द यादव, नुरध्वज सेन, अल्फाज मन्सुरी, आकाश विष्ट, रविन गुप्ता, अनुप न्यौपाने, आसिफ शेख र कुशल भुर्तेर्ेल रहेका छन्।
पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका मन्जुर आलम खानले यसलाई मौका र चुनौती ठानेका छन्। हाम्रो टोली सन्तुलित छ, ब्याटिङ र बलिङ दुवै पक्ष बलियो छ, केटाहरूले निराश पार्छ जस्तो मलाई लाग्दैन- प्रशिक्षक खान भन्छन्। प्रशिक्षक खानले दीपेन्द्र, आदिल, शशिभूषणबाट धेरै रन बन्ने आशा लिएका छन्। मिडियम पेसर कालीचरण र स्पिनर रूपेश पनि चम्किनेमा उनी आशावदी छन्।
प्रशिक्षकझैँ कप्तान दीपेन्द्र पनि नेपाली टिमको ब्याटिङ र बलिङमा समस्या नभएको जानकारी दिन्छन्। यद्यपि उनी फिल्डिङमा सुधार गर्नुपर्नेछ देख्छन्। नेपाल क्रिकेट सङ्घ -क्यान) ले खेलाडी चयन र बन्द प्रशिक्षण ढिलो गर्दा तयारीमा असर परेको बुझाई कप्तान दीपेन्द्रको छ। दुई हप्ता पनि प्रशिक्षक गर्न पाएनौँ तर पनि टिम राम्रो छ, मलेसियाबाट उपाधि लिएर फर्किनेछौँ- दीपेन्द्र भन्छन्।
नेपाली समूह बीमा रहेको छ। सो समूहमा घरेलु टोली मलेसिया, बहराइन, कुवेत र इरान पनि छन्।। समूह एमा सिंगापुर, हङ्कङ, ओमान र थाइल्यान्ड रहेका छन्। नेपालले पहिलो खेल शुुक्रबार कुवतेविरुद्ध खेल्नेछ। यसैगरी, नेपालले आइतबार बहराइन, मङ्गलबार इरान र बुधबार आयोजक मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। प्रत्येक समूहबाट शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनल खेल्ने छन्।
|