|
म्यान्चेस्टर -इङ्ल्यान्ड), वैशाख १९ गते। भिन्सेन्ट कोम्पानीले हेडमार्फत् गरेको गोल निणर्ायक बनेपछि इङ्लिस पि्रमियर लिगमा सोमबार राति म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई १-० ले हराएको छ। सम्भवतः उपाधिको छिनोफानो गर्ने भएकोले यस खेललाई इङ्लिस पि्रमियर लिगकै सर्वाधिक ठूलो 'डर्बी'को रूपमा व्याख्या गरिएको थियो।
यस जितसँगै दुई चरण बाँकी रहेको स्थितिमा सिटीले छिमेकी क्लबलाई दोस्रो स्थानमा धकेलेर आफूलाई शीर्ष स्थानमा उभ्याएको छ। पूर्वार्द्धको इन्जुरी समयमा डेभिड सिल्भाको कर्नर प्रहारमा कोम्पानीले हेड गोल गरेका हुन्। त्यसपछि सिटीले बाँकी समय युनाइटेडलाई रोक्न सफल भयो। यस सत्रको सुरुआतमा पनि सिटीले म्यान्चेस्टर युनाइटेडलाई ६-१ ले हराएर सनसनी मच्चाएको थियो।
सिटी अहिले युनाइटेडभन्दा गोलअन्तरले अगाडि छ। तीन हप्ता अगाडि युनाइटेड आठ अङ्कको आरामदायक अग्रतासहित शीर्ष स्थानमा थियो। अहिले सिटीले युनाइटेडलाई आठ गोल अन्तरले पछाडि पारेको छ। अब बाँकी दुई खेल जितेमा सिटी पि्रमियर लिग च्याम्पियन बन्नेछ। जुन सन् १९६८ पछि सिटीको पहिलो पि्रमियर लिग उपाधि हुनेछ।
यद्यपि सिटीले अन्तिम दुई खेलमा न्युक्यासल र क्विन्स पार्क रेन्जर्सजस्ता बलिया टिमविरुद्ध खेल्नुपर्ने बाध्यता छ। युनाइटेडको अन्तिम दुई खेलमा तुलनात्मकरूपमा कमजोर मानिएका स्वान्सी र सन्दरल्यान्डविरुद्ध खेल्नेछ।
यो ठूलो जित हो, हामी यस क्षणको पखाइमा थियौँ, यस सत्रमा दुई पटक म्यान्चेस्टर युनाइटेडलाई हराएर समर्थकलाई खुशी पारिसकेका छौँ, अब सुखद समापन गर्न मात्र बाँकी छ- गोलकर्ता कोम्पानीले भने। सिटीका गोलरक्षक जोय हार्टले पनि युनाइटेडविरुद्धको महान् जितपछि अब सम्पूर्ण ध्यान न्युक्यासलविरुद्धको खेलमा रहेको जानकारी दिए।
१३१ वर्षको लिग इतिहासमा सबभन्दा ठूलो खेलको व्याख्या गरिए पनि खेल रोमाञ्चक हुन सकेन। यद्यपि दुवै टिमका प्रशिक्षक, खेलाडी र समर्थकमा तनाव भने हेर्नलायक थियो। दुवै टिमका प्रशिक्षक एलेक्स फर्गुसन र रोबर्टो म्यान्सिनीको वाकयुद्ध र मैदानमा निजेल डि जोङले युनाइेडका डेनी वेल्बेकलाई गलत मनसायले लडाउनु तनावका केही उदाहरण थिए।
सिटीका प्रशिक्षक म्यान्सिनीले खेलपछि भने- सर एलेक्सले गलत बोले तर यो तनावको उपजको भन्ने म बुझ्छु। फर्गुसनले भने म्यान्सिनी बिनाकारण म्याच अफिसियलमाथि चिच्याएपछि आफू आवेगमा आएको जवाफ दिए। एपी |