अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
सम्पादकिय/विचार
 
नेपाल संस्कृत विश्वविद्यालय र बिएएमएस
 

नेपाल संस्कृत विश्वविद्यालयले यस आर्थिक वर्ष आगामी जेठ देखि आयुर्वेद विषयमा स्नातक तह ब्याचलर इन आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी -बिएएमएस) अध्यापन गराउने भएको छ। सो विश्वविद्यालयले दाङमा नयाँ आङ्गिक क्याम्पसका रूपमा आयुर्वेद केन्द्रीय विद्यापीठ स्थापना गरी सो विषयमा पठनपाठन गराउने भएको हो। त्रिभुवन विश्वविद्यालयले आयुर्वेद क्याम्पस कीर्तिपुरमार्फत बिएएमएस तहको पढाइ गर्दै आएको भए पनि नेपाल संस्कृत विश्वविद्यालयले भने पहिलोपटक यस्तो पढाइ सुरु गर्न लागेको हो। नेपाल जङ्गल र जडीबुटीको पनि धनी देश हो। ऋषिमुनिको तपोभूमि, जहाँँ आयुर्वेदको प्रयोग धार्मिक युगदेखि हुँदै आएको हो थियो तर यसको आधुनिक विकास हुन सकेको छैन। राणाकालदेखि स्थापित सिंहदरबार वैद्यखानाले आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको थियो। नेपालका पुराना उद्योगको गणना गर्ने हो भने राणाकालमा स्थापित सिंहदरबार वैद्यखाना त्यतिखेरको ठूलो र अहिलेको ऐतिहासिक उद्योग हुन सक्छ, जसको आधुनिकीकरणको अभावमा यसले अपेक्षित प्रगति गर्न सकेको छैन। नेपालले शताब्दीअघि आयुर्वेदिक औषधि उत्पादनमा विशिष्ट जानकारी दिने चन्द्रनिघण्टुजस्ता सम्पदाको विकास गरेको भए पनि यस क्षेत्रमा नेपालको विकास गति अति शुष्क छ। बर्सेनि अपार जडीबुटी निष्प्रयोजन खेर गइरहेका छन् तर नेपाल भने यस क्षेत्रको विकासमा उदासीन रहेको छ। बिएएमएसको पढाइ हुन आफैंमा ठूलो उपलब्धि होइन यसबाट नेपालले लिन सक्ने फाइदाका बारेमा लेखाजोखा हुनुपर्दछ। यस्ता विषयको पढाइ तथा आयुर्वेदिक औषधिको उत्पादनबाट नेपालले राम्रो आर्थिक लाभ लिन सक्यो भनेमात्र यस्ता क्षेत्रमा राज्यले गरेको लगानीबाट अपेक्षित प्रतिफल पाउन सकिन्छ। छिमेकी मुलुकहरू भारत र चीनमा आयुर्वेदिक उपचार प्रणाली र औषधिले राम्रो स्थान जमाएका छन्। नेपालमा भने आयुर्वेदिक क्षेत्रमा राज्यले गर्ने लगानी औपचारिकता पुर्‍याउनका लागि मात्र गरिएजस्तो हुने गरेको अनुभव गर्न सकिन्छ। पढ्ने विद्यार्थी पनि एलोपेथीको एमबिबिएस वा अन्य प्राविधिक शिक्षाको अवसर नपाएपछि हुँदै नहुनुभन्दा यो पनि कामचलाउ हुनसक्छ भन्ने मानसिकतामा आयुर्वेद पढ्न आउने र राज्यले पनि आयुर्वेदको विकासभन्दा त्राण धानिदिने गरेकाले यस क्षेत्रमा नेपालको विकास धीमा भएको हो। पछिल्ला दशकमा नेपालीमाझ योग, आयुर्वेद र प्राकृतिक उपचारमा निकै लोकपि्रयता बढेको पाइन्छ। भारतमा स्वामी रामदेवले गर्नुभएका प्रवचन तथा प्रशिक्षण र नेपालमा उहाँँको कम्पनीबाट उत्पादित औषधि तथा औषधालयको स्थापनाका कारण पनि यहाँँ यस्तो जनचेतना आएको हुनसक्छ। साधारणतया आयुर्वेदिक औषधिले साइड रियाक्सन -प्रतिक्रिया) गर्दैन भन्ने आमविश्वासले पनि आयुर्वेदिक उपचार र औषधिको लोकप्रयिता बढेको हो। यस्तो आमविश्वासलाई नेपालले आयुर्वेदिक पद्धति -उपचार र औषधि) को व्यवसायीकरणको माध्यम बनाउन सक्छ तर नेपाल अथाह जडीबुटी कौडीको मूल्यमा बेचेर सुनको मूल्यमा विदेशबाट औषधि किन्ने देश भएको छ। हामीले यहाँको जडीबुटीको सदुपयोग गर्न सक्यौं भने यसबाट रोजगारी, आर्थिक विकास, आयआर्जनजस्ता बहुआयामी फाइदा लिन सकिन्छ।

केही निजी र सरकारी संंस्थाबाट उत्पादित नेपाली औषधि तथा चिया स्वदेशी तथा विदेशी बजारमा लोकपि्रय भएका छन्। सबै यस्ता उत्पादन आयुर्वेदिक हुन सक्दैनन्। निश्चित मापदण्ड र प्रक्रियामा आयुर्वेदिक औषिधि उत्पादन गरिनुपर्दछ। नेपालमा अहिले पनि रहस्यमा नै रहेको चन्द्रनिघण्टुमा यस्ता औषधि बनाउने प्रक्रिया, जडीबुटीको परिचय, ती जडीबुटीको कुन अङ्गले कुन औषधि बनाउन सकिन्छ भन्नेजस्ता जानकारी दिएको छ। त्यति ठूलो सम्पदालाई नेपालमा पोको पारेर राखिएको छ। त्यसमा लेखिएका कुरामाथि अध्ययन अनुसन्धान हुन सकेको छैन। यदि यसमा लेखिएका सन्दर्भलाई महत्व दिएर अध्ययन अनुसन्धान गर्ने हो भने नेपाल आयुर्वेदिक उपचार र औषधि उत्पादनका लागि केन्द्र बन्न सक्छ। यसरी आयुर्वेदिक औषधि उत्पादन गर्न सकिएन भने हामीले उत्पादन गर्ने बिएएमएसका जनशक्ति बिरामी मात्र जाँच्ने मानिस हुनेछन् जसको दक्षता आयातित औषधिको भर पर्नेछ। यसबाट एलोपेथीको फार्मेसी जस्तै हामीले आयुर्वेदिक औषधि बनाउने जनशक्ति उत्पादनका लागि पढाइ सञ्चालन गर्नुपर्ने अवस्था आएको देखिएको छ। बिएएमएसको पढाइसँगै आयुर्वेदिक औषधिको उत्पादन र जडीबुटी खेतीले संस्थागत प्रश्रय पाउन सक्छ। विश्वविद्यालयहरूले जनशक्ति उत्पादन गरिदिन सक्दछन् तर तिनको बजार खोजिदिने काम राज्यले गरिदिनु पर्दछ।

 
अन्य शीर्षक
सुकुम्वासीका नाममा अतिक्रमण
सन्दर्भ : एसएलसी, अनावश्यक आतंक र प्रतिशत
इजरायलमा रोजगारी सम्भावना
भाषिक सुधारतर्फ गोरखापत्र
काठमाडौँमा रात्रिबस सेवा
दानवीरको सम्मान गरौं
महसुल वृद्धि र उपभोक्ता
प्रहरी अनुसन्धानको प्रशंसनीय कार्य
नियुक्तिमा भागबन्डाको रोग
किसानको मर्का बेलैमा बुझौं

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home