काठमाडौँ, वैशाख २६ गते। एसीसी यू-१६ इलाइट क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले मङ्गलबार सेमिफाइनल स्थान पक्का गरेको छ।
एजेन्सीका अनुसार मलेसियाको क्वालालम्पुर नजिक रहेको वायुमास सहरमा नेपालले इरानलाई १६७ रनको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २४६ रनको विशाल योगफल खडा गरेको थियो। इरान जवाफमा २८ ओभरमा नौ विकेट गुमाएर ७९ रनमा समेटियो। इरानका जुवेर अफिन घाइते भएपछि ब्याटिङ गर्न सकेनन्।
यू-१६ इलाइट क्रिकेट प्रतियोगितामा नेपालले इरानविरुद्ध बनाएको योगफल सर्वाधिक ठूलो हो। नेपाल तीन खेलबाट सर्वाधिक छ अङ्क बटुल्दै शीर्षस्थानमा उक्लेको छ। आयोजक राष्ट्र मलेसिया रन औसतले दोस्रो स्थानमा छ। नेपालले बुधबार मलेसियाविरुद्ध खेल्नेछ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले प्रारम्भिक ब्याट्सम्यानद्वय दीपेन्द्र चन्द -१२) तथा नुरुध्वज सेन -१५) लाई सस्तोमै गुमाएको थियो। प्रारम्भिक जोडी क्रिजबाट हटेपछि नेपाल ३०-२ को कमजोर स्थितिमा थियो। त्यसपछि अदिल खान -७१) र महमद आसिफ -३७) ले तेस्रो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गदर्ैै नेपाललाई २६.६ ओभरमा १४४-३ को बलियो अवस्थामा पुर्याए।
चालू प्रतियोगिता नेपाली ब्याट्सम्यानको यो दोस्रो सतकीय साझेदारी हो। यसअघि दीपेन्द्र र नुरुध्वजले बहराइनविरुद्ध पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए। आसिफ रन आउट भएपछि आदिलले जगदीश चन्दसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याए। जगदीशले २५ बलमा अर्धशतक बनाए। उनको पालिमा चार छक्का सामेल थियो। जगदीशले जोवेर अफिमको सातौँ ओभरमा दुई छक्का तथा एक चौका प्रहार गरेका थिए।
इरानका ब्याट्सम्यानले लक्ष्य पछ्याउने क्रममा आकास विष्ट तथा कालिचरण यादवको घातक बलिङ सामना गर्न सकेनन्। दुवै बलरले चार/चार विकेट लिएपछि इरानले लक्ष्य निजकसम्म पनि पुग्न सकेन।
नेपालका आदिल म्यान अफ द म्याच भए। म्यान अफ दि म्याच आदिलले क्रिजमा आउँदा लामो पालि खेल्नसक्छु जस्तो नलागेको प्रतिक्रिया दिए। सुरुमा त मैले राम्रो गर्नसक्छु जस्तो लागेको थिएन, एक र दुई रन लिँदै स्कोर अगाडि बढाउँदै लगेँ, मलाई आसिफको पनि गतिलो साथ मिल्यो- उनले भने।