पाल्पा जिल्लाको सदरमुकामका रूपमा रहेको तानसेन ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले धनी एवम् प्रसिद्ध छ। सगरमाथाको तानसिंबाट नामकरण भएको यो स्थल ढाकाटोपी एवम् करुवाका लागि प्रख्यात रहेको छ। यो नगर प्राचीनकालमा सेनवंशी शासकको राजधानीका रूपमा रहेको इतिहासमा उल्लेख छ। यस स्थानबाट थुप्रै प्राकृतिक दृश्यावलोकन गर्न सकिनुका साथै धौलागिरि, अन्नपूर्ण, मनास्लुजस्ता प्रसिद्ध हिमशृङ्खला अवलोकन गर्न सकिन्छ।
अझ यस स्थानबाट देखिने दक्षिणपूर्वतर्फको माडीफाँटको सुन्दर दृश्य एवम् वनजङ्लको हरियाली दृश्यले यहाँको पर्यटन विकास एवम् सुन्दरतामा 'सुनमा सुगन्ध' थप्ने काम गरेका छन्। यस नगर मध्यकालीन र शाहकालीन वास्तुकलाबाट सुशोभित छ। बहुसङ्ख्यक रूपमा नेवार समुदायको बसोबस रहेको यस ठाउँमा विभिन्न तिथिमिति एवम् समयमा जात्रा, नृत्य, एवम् कला संस्कृतिसँग सम्बन्धित कार्यक्रमको आयोजना हुने गर्छ। यहाँ प्रशस्त दर्शनीय एवम् पर्यटकीय स्थल रहेका हुनाले धर्मावलम्बी एवम् पर्यटकको आवतजावत भइरहन्छ। यहाँ रहेका अमरनारायण मन्दिर, वीरेन्द्र फूलबारी, आनन्दविहार, तानसेन दरबार, भगवती मन्दिर, श्रीनगरडाँडा आदि यस सहरका मुख्य पर्यटकीय महत्त्वका सम्पदा हुन्।
समुद्र सतहबाट करिब १३७५ मिटर उचाइमा अवस्थित यो स्थान अति सुन्दर अनि स्वच्छ छ। नेपालको ताजमहलका रूपमा रहेको रानीमहल यही स्थानबाट करिब आठ किलोमिटरको दक्षिण-पश्चिमतिर अवस्थित छ भने नेपालको वनारस अर्थात् रिडी पनि यही स्थानबाट ३० किमि उत्तर-पश्चिममा रहेको छ। यस तानसेन क्षेत्रमा प्रशस्त पर्यटन विकासको सम्भावना रहेको छ। अझ यहाँको एकीकृत ढङ्गबाट विकास गर्न सके यो पाल्पाको मात्रै होइन नेपाल अनि विश्वकै गौरवपूर्ण पर्यटन केन्द्र बन्न सक्ने प्रचुर सम्भावना रहेका छन्।á