अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
राज्य पुनःसंरचनामा वास्तु
कमल रिजाल
 

अन्ततः जेठ १४ भित्र संविधान नबन्ने सम्भावना निकै बढेर गएको छ। बितेका चारवर्षमा नदीनालामा निकै पानी बगे। नेपाली धर्तीमा कति बेमौसमी बाजा बजे कति बेमौसमी बाढी पनि आए। नेताहरूले भाषणमा त मानो आकाश पाताल जोड्न पनि पछि परेनन्। सारा समस्या चुड्कीको भरमा समाधान गर्नसक्छौं भन्ने जस्तो अहम् प्रदर्शन गर्न पनि भ्याए तर जनताको नाममा खाएको कसम भने जस्ताको तस्तै रहे। उनीहरूले यसतर्फ ध्यानै दिन भ्याएनन्। दुनियाँलाई थाहा छ उनीहरूले संविधान निर्माणको काम असी प्रतिशत सकिएको भनेका दुईवर्ष अघि नै हुन् तर मुख्यमुख्य विवादित विषय भने अहिले पनि जस्ताको तस्तै छ। यस्तो अवस्थामा विवादित विषयलाई थाती राखेर संविधान जारी गर्ने आँट गरे भने त छुट्टै कुरो हो होइन भने जेठ १४ भित्र संविधान आउन नसक्ने निश्चित प्राय भइसकेको छ।

अहिले पनि एउटा पक्ष एकल जातीय पहिचान सहितको राज्यपुनःसंरचना नभए मुलुकको विकास हुनैसक्दैन भन्दै त्यसैको पक्षमा वकालत गरिरहेको छ भने अर्को पक्ष जातीय राज्यले सामाजिक सद्भाव विथोल्ने भएकाले त्यस्तो. राज्य कुनै पनि हालतमा हुनुहुँदैन भनिरहेको छ। कोही जातजातिको आधारमा मुलुक टुक्र्याउन पाइन्न भनिरहेका छन्। कोही त्यसलाई पनि प्रतिगामी सोच र चिन्तनको प्रतिफल भनिरहेका छन्। अखण्ड सुदूर पश्चिमको नाममा झण्डै तीन हप्तादेखि सुदूर पश्चिम ठप्प छ। उनीहरूको मागलाई जिम्मेवार निकायले समयमै सम्बोधन गर्नेतर्फ ध्यान नदिंदा स्थिति यति पर पुगिसकेको छ कि मध्यपश्चिम र पश्चिमाञ्चल हुँदै पूर्वाञ्चलसम्म त्यसैको राप आइसकेको छ।। ठाउँ-ठाउँमा यसैको नाममा जनता पक्षविपक्षमा बाँडिएर आपसमा हानाहान गर्न थालिसकेका छन्। यद्यपि पछिल्लो अवस्थामा समस्या वार्ताको टेबुलसम्म पुगेको त छ तर उनीहरूको माग समुचित सम्बोधन भने अझै हुनसकेको छैन।

त्यस्तै जातीय राज्यको विरोधमा हुँदै आएको ब्राहृमण, क्षेत्री, दसनामी सन्न्यासी, दलित आदि छ वटा जातीय सङ्गठनका संयुक्त सङ्घर्ष समितिले दुईदिनसम्म सिङ्गो मुलुक ठप्प पारे। हिजो शनिवारबाट आन्दोलन सुस्ताएजस्तो देखिए पनि पूर्णतः रोकिएको छैन र कुन बेला के कस्ता्े सुनामी लिएर प्रकट हुने हो यसै भन्न सकिने अवस्था छैन। उता केही जनजाति र मधेसी मूलका सभासद् भने यस्तो अवस्थामा पनि ककसमा आबद्ध भई जातीय राज्यको पक्षमा उभिने धम्की दिइरहेका छन्।

विशेषगरी माओवादीले जनयुद्धकालमा सस्तो लोकप्रीयताका लागि बाँडेको सपना अहिले उसैका लागि निल्नु र ओकल्नु हुनपुगेको छ। आˆनै अदूरदर्शी सोचका कारण माओवादी यतिबेला कान्छा बाबुको अनुहार र दिनभरिको शिकारको नियति भोगिरहेको छ। शान्त तलाउमा ढुङ्गो हान्दा तरङ्ग उठ्नु स्वाभाविक हो तर त्यसपछि आउने प्रतिक्रियालाई सोच्दै नसोची ढुङ्गा हान्दाको अवस्था जहाँ पनि यस्तै हुन्छ। पहिलो कुरो त शान्त तलाउमा ढुङ्गा हान्नैहुँदैन। कसैले हान्दछ भने त्यसपछिको अवस्थाको जिम्मा पनि उसैले नै लिनु पर्दछ तर विडम्बना यहाँ त के भइदियो भने जो चोर उसैको ठूलो स्वर भने जस्तो जसले ठूलो माछाको लोभमा तलाउको पानी धमिलो बनायो ऊ आफै अझ बढी पानी धमिलो बनाउँदै दोष जति अरूलाई दिने पक्षमा देखिएको छ। जसले गर्दा कुनबेला मुलुकमा गृहयुद्धको आगो दन्किने हो भन्न पर्ने अवस्था आइसकेको छ।

यतिबेला मुलुक दोहोरो चेपमा छ। एकथरी जातीय राज्य नभई हुन्न भनिरहेका छन्। अर्काथरी जातीय राज्यमा जानै हुन्न भनिरहेका छन्। न अगाडि जाने ठाउँ छ। न पछाडि फर्किने ठाउँ छ। उठी सुख पनि छैन। बसी सुख पनि छैन। त्यसैले यी पक्ष, विपक्षलाई छाडेर अब राज्य पुनःसंरचना गर्दा वास्तुचक्रलाई मूल आधार बनाउनु उपयोगी हुनेछ। उनीहरूको अडान अडानकै लागि मात्र हो भने त भन्नु केही छैन होइन सङ्घीयतामा जानुको आशय सुख, शान्ति र समुन्नतिका लागि हो भने यसमा कसैले विरोध गर्नुपर्ने अवस्था पनि देखिन्न। यसो त कतिलाई राज्य पुनःसंरचनामा वास्तुको के काम भन्ने पनि लाग्नसक्छ तर कुरो त्यसो होइन। गाउँ, घरको निर्माणमा वास्तुको जति बढी भूमिका रहेको हुन्छ नगर वा राज्य निर्माणमा पनि त्यत्तिकै हुन्छ।

वैदिक ग्रन्थहरूमा उल्लेख भए अनुसार नवनिर्माणमा विश्वकर्माको विशेष योगदान रहेको छ। विश्वकर्मा शिल्पशास्त्री मात्र होइनन् कुशल वास्तुविद् पनि हुन् तर उनलाई ईश्वरले एउटै व्यक्तिमा असीम अधिकार प्रकृतिको नियम विरुद्ध भएकाले वास्तुको अधीनमा रहेर मात्र निमाणकार्यमा लाग्ने छुट दिइएका छन्। त्यसैले उनी वास्तुलाई बेवास्ता गरेर एक पाइलो पनि अगाडि बढ्न सक्दैनन्। जहाँसम्म वास्तुको कुरो छ यसको भने छुट्टै कथा छ। मत्स्यपुराणमा उल्लेख भए अनुसार नवनिर्माण गर्दा वास्तुदोष बचाइएन भने समग्र काम चौपट हुन पुग्दछ। वास्तु पुरुषलाई वास्तुदोषमा ध्यान नदिएर निर्माण कार्य गर्नेलाई दुःख दिनू भन्ने आशीर्वाद स्वयं ब्रहृमाजीबाटै प्राप्त छ। त्यसैले राज्य पुनःसंरचना गर्दा पनि यसमा ध्यान दिनुपर्छ भनिएको हो। यसो त यहाँ पनि पुनःसंरचनामा वास्तुको काम भन्ने शङ्का उठ्नसक्छ तर पुनःसंरचना र नव निर्माण दुवै भनाइमा मात्र फरक हो। आशय दुवैको एउटै हो। पुनःसंरचना पनि भएको नै बिगारेर बनाउने हो पुनर्निमाण भनेको पनि भएकालाई भत्काएर नै अर्को बनाउने हो। बरू के चाही बिर्सन हुन्न भने गृहनिर्माणमा वास्तु दूषित भए एउटा व्यक्तिमा मात्र दुःखित हुन्छ तर राज्य निर्माणमा दूषित हुनपुग्यो भने त समग्र मुलुक र मुलुकवासीले नै दुःख पाउनुपर्दछ। त्यसैले राज्य पुनर्संरचाना गर्दा वास्तु अनुसार गर्नु अपरिहार्य भएको छ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home