सल्लेरी, वैसाख ३० गते। सगरमाथाको पर्यटन रोयल्टीबापतको रकम जिल्लाको विकासमा सदुपयोग हुनुपर्छ भन्दै जिल्लाका प्रमुख राजनीतिक दलहरूले आन्दोलन सुरु गरेका छन्।
जिल्ला विकास समितिको कार्यालयमा शुक्रबारदेखि धर्ना गरिरहेका छन्। शुक्रबारको दिन धर्ना कार्यक्रम रहेको थियो भने आज शनिबार सल्लेरी बजारमा जुलुस र्याली निकालेका छन्।
जिल्लाको पर्यटन रोयल्टीबापतको रकम अहिलेसम्म जिल्लाले चालु आर्थिक वर्षसम्म नपाएको १८ करोड रुपियाँ पुगेको छ। जिल्लामा तीन वर्ष अगाडि ५ करोड र तीन महिना अघि दुई करोड गरी जम्मा सात करोड रुपियाँ जिल्लामा आइसकेको छ।
जिल्ला विकास समितिले पारदर्शीरूपमा काम नगर्नुका साथै कनिका छरे जस्तो गरेको हुँदा बाँकी रकम अर्थ मन्त्रालयबाट विनियोजन हुन नसकेको धर्ना कार्यक्रमका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर के.सी.ले बताउनुभयो।