काठमाडौँ, वैशाख ३० गते। अखिल नेपाल फुटबल सङ्घ -एन्फा)ले शनिवार एएफसी यू-२२ एसिया कप छनोटअन्तर्गत समूह घ मा खेल्न तेस्रो चरणमा २७ खेलाडी चयन गरेको छ। काठमाडौँको दशरथ रङ्गाशालामा एएफसी यू-२२ एसिया कप छनोट जेठ २० देखि ३० गतेसम्म हुँदैछ। नेपालको समूहमा उज्वेकिस्तान, यमन, जोर्डन र बंगलादेशको यू-२२ टिम पनि छन्।
तेस्रो चरणको छनोटमा चार गोलरक्षक विकेश कुथु, विशाल श्रेष्ठ, अमृतकुमार चौधरी र दिनेश थापा मगर छन्। डिफेन्डर सविन्द्र श्रेष्ठ, विकास सिंह क्षेत्री, रविन श्रेष्ठ, दिपक भुसाल, पाल्साङ लामा, अजित भण्डारी, रवि थापा तथा मिडफिल्डर विशाल राई, शिव श्रेष्ठ, रोशन लामिछाने, प्रविन कार्की, गणेश खड्का, रूपेश के.सी., अनिल ओझा, अमिर श्रेष्ठ र जगजीत श्रेष्ठ श्रेष्ठ पनि चयनमा परेका छन्।
यसैगरी, फरवार्डका लागि सुजल श्रेष्ठ, जाङ्बु शेर्पा, असिमजङ्ग कार्की, सुशील के.सी., भरत खवासबीच प्रतिस्पर्धा हुनेछ। हाल भारतीय आई लिगमा आबद्ध भएका रोहित चन्द पनि टिममा छन्।