काठमाडौँ, वैशाख ३० गते। आयातीत खेलाडीद्वय सन्तोष साहुखल र भरत खवासको गोलको सहयोगमा शनिबार नेपाल पुलिस क्लबले मैत्री खेलमा भारतको मोहन बगानलाई २-० ले हराएको छ।बि्रटिस गोर्खा कप विजेताको रूपमा मोहन बगानविरुद्ध खेल्ने मौका पाएको पुलिसले एएफसी प्रेसिडेन्ट्स कपमा पहिलो चरणबाट पाखा लागेको घाउमा हल्का मल्हम लगाएको छ। पुलिस क्लब एक दिनअघि मात्र कम्बोडियाको पेनम फेनबाट फर्केको हो।
पुलिसले दुवै गोल अन्तिम दस मिनेटभित्र गर्यो। पूर्वार्द्ध र उत्तरार्द्धको अधिकांश समय गोलरहित बनेपछि घरेलु दर्शक गोल हेर्न नपाई घर र्फकने सम्भावना थियो। तर, खेलको ८०औँ मिनेटमा पाहुना खेलाडी साहुखलले एकल खेलमार्फत गोल गरे। भोला सिलवालको लामो पासलाई सदुपयोग गर्दै साहुखलले मोहन बगानका दुई डिफेन्डर र गोलरक्षक संग्राम मुखर्जीलाई समेत झुक्याएर गोल गरेका हुन् जुन गोलले पुलिस टिम जित नजिक पुग्यो भने घरेलु दर्शकको गोलको प्रतीक्षा पनि पूरा भयो।
छ मिनेटपछि मैदानको मध्य भागबाट एक्लै बल लगी पाँच डिफेन्डरलाई पछि पार्दै सशक्त प्रहारद्वारा गोल गरी भरतले यस सत्रमा आफूलाई आबद्ध नगरेर गल्ती गरेको महसुस पुलिस क्लबलाई गराए। पुलिसले करार नथप्दा भरत यस सत्रमा अहिलेसम्म क्लबविहीन छन्। यद्यपि पुलिसले यसलाई भरतको बिदाइ खेलका रूपमा लिएको थियो। पुलिस क्लबका प्रशिक्षक विराटव[mष्ण श्रेष्ठले खेलपछि भने, "यो मैत्री खेल भरतको बिदाइ खेल पनि थियो।" यसैगरी भरतको गोलको प्रशंसा खेलपछि विपक्षी टिमका कप्तान सुनील क्षेत्रीले पनि गरे।
आˆना प्रायः खेलाडी घाइते भएपछि पुलिसले मोहन बगानविरुद्ध भरतसहित थि्रस्टारका पाँच राष्ट्रिय खेलाडी किरण चेम्जोङ, सन्दीप राई, विराज महर्जन र सन्तोष साहुखललाई आˆनो जर्सीमा खेलाएका थिए।
पूर्वार्द्ध गोलरहित बने पनि दुवै टिम कैयौँपटक गोलको नजिक पुगेका थिए। खेलको २४औँ मिनेटमा कप्तान सुनिल क्षेत्री र ४४औँ मिनेटमा असीम विश्वासले प्रहार गरेको बल पुलिस क्लबको गोलपोस्टमा लागेर फर्किनु पनि मोहन बगानको दुर्भाग्य बन्यो। क्षेत्रीले करिब २० गजबाट दर्शनीय प्रहार गरेका थिए भने क्षेत्रीको क्रसमा विश्वासले उत्कृष्ट हेड गरेका थिए। तर, दुवैपटक पुलिस क्लबका गोलरक्षक रीतेश थापा 'विट' भए पनि गोलपोस्ट बाधा बन्यो। यसैगरी मध्यान्तर हुनु पाँच मिनेटअघि पुलिसका कप्तान दीपेन्द्र पौडेल छ गजबाट प्राप्त खुला अवसरमा विफल बनेका थिए।
"मोहन बगान सशक्त टिम हो, उनीहरूको टच, पास, क्रस र आक्रमणको स्तर आजकै खेलमा पनि देखियो तर मेरो टिमले निकै राम्रो खेल्यो, हामीले गल्तीको फाइदा पनि उठाउन सक्यौँ", प्रशिक्षक श्रेष्ठले भने।
मोहन बगानका कप्तान सुनिल क्षेत्रीले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको प्रतिक्रिया दिए। "नेपाली खेलाडीहरूको फुटबल खेल्ने कौशल राम्रो छ, उनीहरूलाई भारतीय लिगमा 'एक्सपोजर' दिन सकिन्छ", क्षेत्रीको भनाइ छ। नेपाली मूलका क्षेत्रीले नेपालले अहिलेसम्म चार खेल खेलिसक्दा पनि गोल गर्न नसक्दा दुःखी भएको बताए। गत फागुनमा काठमाडौँमा भएको एएफसी च्यालेन्ज कपमा भारतको राष्ट्रिय टिमको जर्सीमा तीन खेल खेले पनि क्षेत्री गोलविहीन बनेका थिए।
आइलिगमा चौथो स्थानमा रहेको मोहन बगान तीन दशकपछि नेपाल आएको हो। यसअघि सन् १९७८ मा नेपालको भ्रमणमा मोहन बगानले पुलिस र काठमाडौँ ११ विरुद्ध खेलेको थियो।