काठमाडौँ, वैशाख ३१ गते। मेरो केही छैन हजुर...। मेरा आफ्ना मान्छे पनि कोही छैनन्। २०३० सालदेखि बागमती नदी किनारमा एक्लै बस्दै आएकी छु। मरो घर डोजरले भत्कायो हजुर... बस्ने बासको व्यवस्था गरिदिनुपर्यो सरकार...।
६९ वषर्ीया सावित्री गिरीले रुँदै प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सरकारले घर भत्काइदिएपछि आफू खुला आकाशमा बस्नुपरेको भन्दै बिन्ती गरेपछि प्रधानमन्त्रीको पनि स्वर अवरुद्ध भयो।
मलिन अनुहारमा प्रधानमन्त्री डा. भट्टराईले गिरीलाई 'चिन्ता नगर्नुस्, नरुनुस् आमा हामी व्यवस्था गर्छौं' भन्दै सम्झाएर सुम्सुम्याउँदा वरिपरि रहेका सुकुम्बासीहरू पनि गम्भीर हुन पुगे।
यो दृश्य आइतबार थापाथलीस्थित सुकुम्बासी बस्तीको हो। सरकारले गत २६ गते थापाथलीस्थित यु्एन पार्कको २५८ सुकुम्बासी घर भत्काएपछि उक्त बस्तीको अवलोकन गर्न पुग्नुभएका प्रधानमन्त्री भट्टराईलाई सावित्री गिरीले जस्तै अधिकांश सुकुम्बासीहरूलेे बस्ने बासको छिटो व्यवस्था गरिदिन अनुरोध गरेका छन्।
केहीछिन सुकुम्बासीका कुरा सुनेपछि प्रधानमन्त्री भट्टराईले सरकारले सुकुम्बासीको व्यवस्था गरेर मात्र हटाउने योजना रहेको तर दुर्भाग्यबश बुझाइमा समस्या हुँदा यो घटना हुन पुगेको बताउनुभयो।
उहाँले सरकारले वैकल्पिक व्यवस्था गर्दै गर्दा उक्त घटना हुन पुगेको भन्दै घुमाउरो तरिकाले सुकुम्बासी बस्ती भत्काइएको बारे अनभिज्ञता जनाउनुभयो।
प्रधानमन्त्री भट्टराईले सुकुम्बासीहरूलाई वैकल्पिक व्यवस्था गर्न एक/दुई महिना लाग्न सक्ने भएकाले तत्काल अप्ठेरो नहोस् भनेर १५ हजार रुपियाँको व्यवस्था गरिएको बताउनुभयो। यसको मतलब १५ हजार दिएर तपाइँहरूको व्यवस्था नगर्ने भन्ने होइन भन्दै उहाँले शङ्का नगर्न आग्रह गर्नुभयो।
प्रधानमन्त्री भट्टराईले व्यवस्थापनका लागि दुई/तीनवटा विकल्प तयार गरिएको बताउनुभयो। पहिलो, जग्गा नै दिने र त्यसमा घर बनाउन सहुलियत ऋण दिन सकिने वा सरकारले घर बनाएर सहुलियत दरमा त्यो घर सुकुम्बासीकै हुने व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो।
प्रम भट्टराईले स्थायी व्यवस्थापनका लागि समय लाग्ने भन्दै तत्कालका लागि अस्थायी रूपमा चोभारस्थित हिमाल सिमेन्टको सरकारी जग्गामा बस्ने व्यवस्था मिलाइएको बताउनुभयो। थापाथलीका सुकुम्बासीलाई मात्र नभई उपत्यकाका नदी किनारमा बसोवास गर्ने सबै सुकुम्बासीलाई यसरी नै व्यवस्थापन गरिने उहाँले बताउनुभयो।
प्रधानमन्त्री भट्टराई बोलिसकेपछि नजिकै रहेकी रिता विकले चोभारमा गएपछि फेरि अन्यत्र सर्न पर्छकी पर्दैन भन्ने प्रश्न गर्दा उहाँले स्थायी बसोवास नहुँदासम्मका लागि मात्र त्यहाँ बस्नुपर्ने बताउनुभयो।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख केशव स्थापितले एक हप्ताभित्रमा थापाथलीका सुकुम्बासीहरूलाई चोभारमा सार्न सुरु गरिने बताउनुभयो।
सरकारले २६ गते बस्ती भत्काए पनि सुकुम्बासीहरूले भने उक्त ठाउँ छोडेका छैनन् तर केही सुकुम्बासी हुँ भनेर बसेकाहरूले भने उक्त ठाउँ छाडिसकेको विकले बताउनुभयो। उहाँका अनुसार २५८ घरधुरी सुकुम्बासीमध्ये झन्डै २५ प्रतिशतले उक्त ठाउँ छाडेको र बाँकी सोही ठाउँमा बस्दै आएका छन्।
सोही ठाउँमा बसेका सुकुम्बासीहरूले उचित बसोवासको व्यवस्था हुनुपर्ने माग गर्दै सरकारले दिने १५ हजार रुपियाँ राहत अहिलेसम्म कसैले पनि नलिएको जानकी थापाले बताउनुभयो।