काठमाडौँ, वैशाख ३१ गते। प्रथम अन्तर्राष्ट्रिय कात्सुहिको गिबो स्मृति कराँते प्रतियोगितामा नेपाल आइतबार च्याम्पियन बनेको छ। नेपालले १७ स्वर्ण, १३ रजत र २८ कास्य पदक जित्यो। भारत पाँच स्वर्ण जितेर दोस्रो भयो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप)को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५० केजीमा एपीएफका विजय लामा, ५५ केजीमा सुनील लामा, ६० केजमा पश्चिमाञ्चलका गणेश पाइजाले स्वर्ण पदक जिते। यसैगरी, ६७ केजीमा राष्ट्रिय टिमका मुकुन्द महर्जन, ८४ केजीमा भीमबहादुर तामाङ, ८४ केजीमाथि एपीएफका लालबहादुर बढुवाल, ७५ केजीमा आर्मीका लेखनाथ मैनाली प्रथम भए।
पुरुष टिम कातामा राष्ट्रिय टिम पहिलो भयो भने आर्मी दोस्रो स्थानमा रहृयो। पुरुष एकल कातामा राष्ट्रिय टिमका पर्शुराम बाँस्तोला पहिलो, आर्मीका सुवास कार्की दोस्रो तथा मध्यपश्चिमाञ्चलका मोलङ घर्ती मगर र एपीएफका गोपीराम घले तेस्रो भए। महिला वर्गअन्तर्गत ४५ केजीमा मल्लिका थापा, ५० केजीमा अनु अधिकारी, ५५ केजीमा रोजी नगरकोटी, ६१ केजीमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठ, ६८ केजीमाथि गङ्गादेवी अधिकारी तथा ६८ केजीमुनि राष्ट्रिय टिमकी कल्पना बस्नेत पहिलो भए। महिला टिम कातामा राष्ट्रिय टिमले स्वर्ण तथा मध्यमाञ्चलले रजत जिते। एकल कातामा राष्ट्रिय टिमकी विमला तामाङले मध्यपश्चिमाञ्चलकी शान्ति लामालाई पछि पार्दै पहिलो भइन्।