काठमाडांैँ, वैशाख ३१ गते। आयोजक मलेसियाले आइतबार नेपाललाई एक विकेटले हराएर एसीसी यु-१६ इलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। नेपाल लगातार दोस्रोपटक फाइनलमा निराश बन्यो। पहिलो संस्करणको उपाधि भिडन्तमा सिङ्गापुरसँग नेपाल पराजित भएको थियो। मलेसियाले नेपाललाई हराएको यो पहिलोपटक हो। यसैगरी, उमेर समूहमा पनि मलेसियाको यो पहिलो उपाधि हो।
किनरा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित पूरा ओभर पनि खेल्न नसकी ३३ ओभरमा ११७ रनको सामान्य योगफमा अलआउट भएको थियो। मलेसियाले ३९.१ ओभरमा नौ विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो। यसअघि, समूह चरणमा नेपालले मलेसियालाई एक विकेटले नै हराएको थियो। यसैले मलेसियाले फाइनलमा सो हारको बदला पनि लिएको छ।
मलेसियाको जितमा वरुणदीपले नायकीय भूमिका निर्वाह गरे। पहिलो ओभरमा नै क्रिजमा आएका वरुणदीपले आउट नभई सर्वाधिक ५४ रन बनाएर मात्र पभेलियन फर्के। उनले नै विजयी चौका प्रहार गरेका थिए। फाइनलका म्यान अफ द म्याच वरुणदीपले ११९ बलमा सात चौका प्रहार गरे।
नेपालका आकाश विष्ट म्यान अफ दि सिरिज घोषित भए। उनले फाइनलमा पनि दुई विकेट लिए। आकाशले सुरुमा नवीन डे सिल्वालाई एलबीडब्लूको धरापमा पारेपछि मलेसियाको सुरुवात कमजोर बनेको थियो। नेपालले सामान्य योगफल जोगाउने क्रममा सटिक बलिङ गर्दै मलेयिालाई ३३ ओभरमा ८७-८ को कमजोर अवस्थमा पुर्याएको थियो तर प्रारम्भिक ब्याट्सम्यान वरुणदीपले अन्तसम्म क्रिजमा डटेर नेपालको फाइनल जित्ने सपना यसपटक पनि अधुरो पारे।
यसअघि, नेपालको ब्याटिङ सुरुवातमा राम्रो भएर पनि धराशयी बनेको थियो। दीपेन्द्र चन्द -२१ रन) तथा नुरुध्वज सेन -१९ रन)ले पहिलो विकेटका लागि २४ रनको साझेदारी गरे। वरुणदीपले दीपेन्द्रलाई बोल्ड गरेपछि एकपछि अर्को विकेट गुमाउँदा नेपालको पालि सम्हालिन पाएन। आकाशले ४५ बलको सामना गर्दै सर्वाधिक ३५ रनको योगदान दिए।
नेपालका प्रशिक्षक मन्जुर खानले फाइनलमा लय गुमाएर उपाधि विमुख हुुनु पर्दा दुःखी भएको प्रतिक्रिया दिए। 'फाइनलमा केटाहरूले धर्यपूर्वक ब्याटिङ, बलिङ तथा फिल्डिङ गर्न सकेनन्। ब्याटिङमा धेरै गल्ती भयो, धेरै गलत सटमा आउट भए, सङ्क्षेपमा भन्नुपर्दा केटाहरूले फाइनलका दबाब झेल्न सकेनन्, प्रशिक्षक खानले भने।
विजेता टिमका प्रशिक्षक विलाल असाद स्वयं नेपाललाई हराएर उपाधि जित्न सफल भएकोमा आश्चर्यमा देखिए। विलालले भने, सुरुमा यो टोलीले उपाधि जित्छ भन्ने विश्वास थिएन तर यही टोलीले मलेसियालाई पहिलो एसीसी उपाधि दिलाए। उनले नेपाली बलरहरूको प्रशंसा गर्दै भने, नेपाललाई सामान्य योगफलमा रोकेपछि सहजै खेल जित्ने विश्वास गरेको थिएँ तर नेपाली खेलाडीले अन्तिम ओभरसम्म लडाकूझैँ खेले, उनीहरूलाई सलाम छ।