काठमाडौँ, जेठ १ गते। पञ्चायतकालभरि प्रजातन्त्रको पक्षमा खरो कलम चलाउँदा सधैँ सत्ताको कोपभाजन बन्दै आउनुभएका वरिष्ठ पत्रकार चन्द्रलाल झा सिकिस्त अवस्थामा अस्पताल भर्ना हुनुभएको छ।
२०१५ सालदेखि पत्रकारितामा लाग्नुभएका वरिष्ठ पत्रकार झा बोल्नसक्ने अवस्थामा हुनुहुन्न र उहाँलाई नाकबाट खाना खुवाइएको छ। साथै पिसाबमा पनि सङ्क्रमण रहेको छ। त्रिपुरेश्वरस्थित काठमाडौँ अस्पतालमा भर्ना भएपछि उहाँको स्वास्थ्यमा सामान्य सुधार भएको छ।
झन्डै चार वर्षदेखि पार्किन्सस, मधुमेह, अल्जाइमरलगायतका रोगबाट पीडित ७४ वषर्ीय पत्रकार झाको स्वास्थ्यमा जटिलता आएपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो।