औरही , जेठ २ गते। सिरहाको औरही गाविसमा भीषण आगलागी भएको छ। आगलागीमा परी एक हजार पाँच सय परिवारको करिब चार हजार पाँच सय घर तथा गोठ जलेर नष्ट भएको छ। मङ्गलबार वडा नं. ३ का नथुनी यादवको घरबाट दिउँसो २ः३० बजेबाट सुरु भएको आगलागीबाट करिब डेढ अर्ब रुपियाँबराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
आगलागीमा परी तीन महिला र दुई बालक गरी पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई जिल्ला अस्पताल सिरहामा उपचारार्थ भर्ना गरिएको छ। आगलागीबाट औरही गाविसको वडा नं. २, ३, ४, ५, ६ र ७ का सम्पूर्ण घर जलेर पूर्णतया नष्ट भएका छन् भने वडा नं. १ र ८ को आधा बस्ती जलेको छ। आगलागीबाट पूरै गाविस नै जलेको छ।
करिब ११ हजार आगलागीपीडितहरू घरवारविहीन भएर आकासमुनि धान खेतमा बास बसेका छन्। आगो नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन भएका थिए तर तेज गतिमा हावा चलेको कारण आगो नियन्त्रणमा लिन ढिलाइ भएको बताइन्छ। लहान नगरपालिकाबाट गएको दमकल पनि घटनास्थलमा निकै ढिलो गरी पुगेको कारण धेरै क्षति भएको अग्निपीडितहरूले बताएका छन्।
औरही गाविसका पूर्व गाविस अध्यक्ष सुबरत्न यादवले गाविसको ३, ४, ५, ६, ७ र ८ वटा वडाका करिब एक हजार पाँच सय घरपरिवारका तीन हजारभन्दा बढी घरमा आगलागी भएको र सो आगलागीका कारण गाविसका पाँच हजारभन्दा बढी व्यक्ति प्रभावित भएको जानकारी दिनुभएको छ।
'पूरै गाउँको मतदाता सङ्ख्या मात्र ६ हजार छ, त्यसमध्ये कम जनसङ्ख्या भएका १, २ र ९ नम्बर वडाका करिब आठ सय जनाको ३५० वटा घरमात्र बाँचेको छ,' पूर्वगाविस अध्यक्ष यादवले भन्नुभयो- तर गाविसमा भने मतदाताको सङ्ख्याभन्दा जनसङ्ख्याको चाप बढी छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक राजेशलाल कर्णले घरको क्षतिबारे स्पष्ट अनुमान लगाउन मुस्किल भएको बताउनुभयो। आगलागीका कारण २० करोडभन्दा बढीको क्षति हुनसक्ने प्रारम्भिक अनुमान छ।
'सम्पूर्ण गाउँ नै जलेको हुनाले क्षतिको विवरण लिन निकै समय लाग्नसक्ने भएकाले क्षतिको अवस्थाबारे
सिरहाको ...
भन्न कठिन छ तर पनि आगलागीमा ठूलै क्षति भएको छ,' प्रहरी उपरीक्षक कर्णले भन्नुभयो- साँझ ५ः४५ बजेतिर नेपाल प्रहरी, सशस्त्र, नेपाली सेनाको टोली तथा स्थानीय बासिन्दाको सक्रियतामा आगलागी नियन्त्रण भएपछि मात्र क्षतिको विवरण लिने काम सुरु भएको छ।
तातो हावाका साथ भीषण आगलागीको रापका कारण उद्धारकर्मीलाई समेत उद्धार गर्न गाह्रो भएको थियो। आगलागी नियन्त्रण गर्ने क्रममा स्थानीय बासिन्दाले गाविसभित्रको पोखरीबाट पम्पिङ्गसेट र मोटर लगाएर पानी प्रयोग गरेका थिए। आगलागी नियन्त्रणका लागि लहान, राजविराज र अलिक ढिलो गरी जनकपुर नगरपालिकाको वारुणयन्त्रसमेत आगलागीस्थलमा गएपछि नियन्त्रणमा आएको थियो।
'अब औरहीमा केही बाँकी छैन, सबै घर जलेर ध्वस्त भएको छ,' उद्धारकार्यमा आउनुभएका नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवले भन्नुभयो-सम्भवतः औरहीमा भएको यो आगलागी नेपालमै सबैभन्दा भीषण हुनसक्छ।
साँझ ५ बजेपछि घटनास्थलमा राजविराज र लहान नगरपालिकाको दुईवटा दमकलले जलेर नष्ट भइसकेपछि आगो निभाउन पुगेका थिए। दुईवटा दमकले मात्र पूर्ण रूपमा आगो निभाउन सात दिन लाग्ने अग्नि नियन्त्रणमा खटिएका कर्मचारीहरूले बताउनुभएको छ।
उनीहरूले राति अबेरसम्म अझ थप दमकल मगाउन स्थानीय प्रशासनसँग आग्रह गरेका छन्। आगलागीमा परी तीन दर्जनभन्दा बढी चौपाया मरेको सिरहा प्रहरीले जनाएको छ। आगलागी भएको स्थानमा पानीको अभाव भएको कारण आगो नियन्त्रणमा लिन नसकेको प्रहरीको भनाइ छ।
करिब ३ किलोमिटर दूरीमा फैलिएको औरही गाविसभरि अग्नि ज्वाला दन्किएको र धुवाँका कारण १० किलोमिटरसम्म तुवाँलो लागेको थियो। सिरहाका प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद ढकालले आगलागीपीडितहरूको नामावली र धनमालको क्षतिबारे विवरण सङ्कलन गर्न एक साता लाग्ने बताउनुभयो।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी भएको विज्ञप्ति अनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगलागीको घटनाबाट आफू मर्माहत भएको बताउनुभएको छ। उहाँले त्यहाँ अग्निपीडितलाई सुरक्षित ठाउँमा बास र खानपिनको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशनसमेत दिनुभएको छ। घटनाको यथार्थ विवरण सङ्कलन कार्य भइरहेको हुँदा सो प्राप्त भएपछि पूर्ण विवरण प्रकाशमा ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएकेा छ।