टोक्यो, जेठ २ गते। गत वर्षको सुनामीका कारण जापानको आर्थिक विकासमा निकै ठूलो धक्का व्यहोरिरहेको जापानका उत्पादनहरूले विस्तारै सुधार गरिरहेको बताइएको छ।
गत हप्ता मात्र जापानी विश्वप्रसिद्ध कार उत्पादक कम्पनी टोयोटाले पनि गत वर्षको तुलनामा मुनाफामा वृद्धि गरेको आँकडाहरू सार्वजनिक भएलगत्तै अर्काे कार उत्पादक कम्पनी निसानको पनि मुनाफामा वृद्धि भएको जनाइएको छ।
निसानले तीव्ररूपमा विकास भइरहेको बजारहरूमा आफ्नो उत्पादनलाई आक्रामकरूपमा प्रस्तुत गरेसँगै जनवरीदेखि मार्च महिनासम्मको त्रैमासिकमा मुनाफा तीव्ररूपमा वृद्धि भएको जनाएको छ। कम्पनीले एक वर्षअघिको ३० अर्ब ८० करोड येनको तुलनामा जनवरीदेखि मार्च महिनाको अवधिमा खुद मुनाफा ७५ अर्ब ३० करोड येन भएको बताएको छ।
निसानले उसको अन्तर्राष्ट्रिय स्तरको बिक्री सङ्ख्या आर्थिक वर्ष २०११ मा ४८ लाख युनिट पुगेको र यो कम्पनीका लागि अहिलेसम्मकै सबैभन्दा बढी भएको जनाएको छ। गत वर्षको जापान र थाइल्यान्डको विपत्तिका कारण निसानले आफूलाई चाँडै सुधार गरेको बताइएको छ। ती विपत्तिबाट उसको आपूर्ति शृङ्खलामा अवरोध आएको थियो।
यसका साथै सन् २०१२ को मार्चमा समाप्त हुने आर्थिक वर्षमा निसानले खुद आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा सात प्रतिशतले बढ्ने पनि जनाएको छ। जापानको दोस्रो सबैभन्दा ठूलो कार निर्माता निसानले गत वर्षको मार्चमा आएको सुनामीपछि आफ्ना प्रतिद्वन्द्वीहरू टोयोटा र होन्डाको तुलनामा राम्रो सुधार गरेको जनाइएको छ।
मार्च महिनाको सुनामी र महाभूकम्पपछि विद्युत्को कमी र उत्पादनको वितरणमा देखिएको समस्याका कारण कार निर्माताहरू उत्पादनमा कटौती मात्र नभई उत्पादन योजना नै बन्द गर्न बाध्य भएका थिए।