काठमाडौँ, जेठ ६ गते। नेकपा -एमाले)का वरिष्ठ नेता केपी ओलीले शासकीय स्वरूप र सङ्घीयताबारे प्रमुख तीन राजनीतिक दलबीच भएको बालुवाटार सहमतिलाई एनेकपा -माओवादी)ले एकतर्फी रूपमा भङ्ग गरेको आरोप लगाउनुभएको छ।
नेता ओलीले १९औँ मदन-आश्रति स्मृति दिवसको सन्दर्भमा अखिल नेपाल महिला सङ्घद्वारा शनिबार राजधानीमा आयोजित 'नयाँ संविधानमा महिला अधिकार' विषयक अन्तरक्रियामा यस्तो आरोप लगाउनुभएको हो।
"बिहीबारको व्यवस्थापिका-संसद् बैठक अवरुद्ध माओवादीकै केन्द्रीय सदस्यको नेतृत्वमा भएको थियो", बैठक अवरुद्धको निमित्त नायक अरू कोही भए पनि त्यसको योजनाकार माओवादी नै भएको ठोकुवा गर्दै नेता ओलीले भन्नुभयो, "सहमतितिर होइन, समस्या अल्झाउने र बल्झाउने काम सुरु भएको छ। नेपाली राजनीतिलाई जटिलतातिर फसाइएको छ।"
उहाँले अधिकारबाट वञ्चित महिला, आदिवासी जनजाति, मधेसी र आधारभूत तहका जनताको समस्यालाई एमालेले राजनीतिक नाराका रूपमा मात्र नभई दृढता एवं आत्मविश्वासका साथ उठाउँदै आएको बताउनुभयो।
कार्यक्रममा ऊर्जामन्त्री राधा ज्ञवालीले नेपाली महिलाको हकअधिकारका लागि दशकौँदेखि अनेमसङ्घले लड्दै आएको स्मरण गर्दै सरकारमा रहेर नेपाली महिला, देश र जनताको हितविपरीत काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अन्तरक्रियामा सभासद् बिन्दा पाण्डेले नेपाली महिलाका हक र अधिकारलाई संविधानमा स्थापित गर्नुपर्नेमा जोड दिँदै विदेशीका हकमा नागरिकताको व्यवस्था सहज बनाउन नहुने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै युवा सङ्घका अध्यक्ष महेश बस्नेतले नेपालको आन्तरिक राजनीतिमा चलखेल नगर्न नेपालस्थित विदेशी कूटनीतिज्ञहरूलाई चेतावनी दिँदै विदेशीले नै नेपालमा जातीय लडाइँको षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो।
यसैगरी अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले मुलुकलाई जातीय सद्भावभन्दा भिडन्ततिर लैजाने षड्यन्त्र भइरहेकोप्रति सजग हुनुपर्नेमा जोड दिँदै युवा-विद्यार्थी मिलेर जेठ १० गते सद्भाव र्याली गर्न लागिएको जानकारी दिनुभयो।
कार्यक्रमकी सभापति अनेमसङ्घकी अध्यक्ष विद्या भण्डारीले महिलामुक्तिलाई नाराका रूपमा नभई व्यवहारमा उतार्ने पार्टी एमाले नै भएको बताउनुभयो।