अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
धर्म र संस्कृतिमा चित्रकला
गेहेन्द्रमान अमात्य
 

विश्वमा हरेक देशको साँस्कृतिक वैशिष्ट्य ती देशमा बेलाबखत मनाइने जात्रा, चाडपर्व, धार्मिक संस्कृति र संस्कारले प्रतिनिधित्व गरेको हुन्छ। हिन्दु धर्मअनुसार नेपालको समाजमा जन्मेदेखि मृत्युसम्मको संस्कार १६ प्रकारका छन्। नेपालमा मनाइने र गरिने चाडपर्व, धर्म, संस्कृति र संस्कारमा चित्रकलाको महत्त्वपूर्ण स्थान रहिआएको छ। नयाँ वर्ष सुरु भएदेखि चैत मसान्तसम्म मनाइने चाडपर्व, धार्मिक र सामाजिक कर्मकाण्ड पूजादि कर्मसँग सम्बन्धित प्रतीकात्मक चित्रहरू चित्रकारले सिर्जना गरिरहेका हुन्छन्। विभिन्न संस्कारमा गरिने पूजामा माटोको भाँडामा चित्र अगाडि राखेर पूजा गर्ने चलन छ। कागज र कपडामा पनि चित्र बनाइ पूजामा राखिन्छ। विभिन्न चाडपर्वका लागि माटोको मूर्तिमा चित्रकारले आकृतिलाई पूर्णता दिनुपर्ने हुन्छ। साथै नरसिंह नाच, हरिसिद्धि नाच, गथु नाच, लाखे नाच, नवदुर्गा नाच, बज्रयोगिनी नाच आदिका लागि प्रयोग हुने मुखुन्डोमा देवदेवीको मुहारको आकृति विभिन्न रङ्ग प्रयोग गरी चित्रकारले सिर्जना गर्ने गरिन्छ। प्रत्येक वर्षको भित्तेपात्रो र पञ्चाङ्गमा पनि कलाकारको सिर्जना रहेको हुन्छ।

प्रत्येक वर्ष वैशाखमा मनाइने मच्छिन्द्रनाथको जात्राका लागि ललितपुरको पुल्चोकमा तयार गरिने ३२ हात अग्लो मच्छिन्द्रनाथको रथको चार पाङ्ग्रामा तीनतिर भैरवको आँखाको आकृति चित्रकारले लेख्ने गर्छन्। रथका अग्रभागमा रहेको घःमाः मा राख्न कपडामा भैरवको चित्र लेख्नुपर्ने हुन्छ। रथको सबैभन्दा माथिदेखि तलसम्म पुग्नेगरी अष्टमङ्गलको चित्र भएको वता पनि चित्रकारले तयार पार्छ। यसैगरी, बुद्ध जयन्तीको दिनमा विभिन्न बुद्ध विहारमा भगवान् बुद्धसँग सम्बन्धित चित्र र नेपाली मौलिक परम्परागत पौभा तथा थाङ्का चित्रद्वारा सिँगारिएको हुन्छ जुन चित्रहरू चित्रकारद्वारा सिर्जना गरिएको हुन्छ।

साउन कृष्णपक्ष चतुर्दशीका दिन ऐतिहासिक पर्वका रूपमा रहेको घन्टाकर्णमा पनि चित्रकारकै महत्त्वपूर्ण भूमिका रहन्छ। साउन शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमीमा चित्रकारले सिर्जना गरेका नागको चित्रहरू घरको मूलढोका र अन्य कोठाको ढोकामाथि टाँसेर नागको पूजा गरिन्छ। यसरी नागको तस्बिरमा पूजा गरेपछि त्यस घरमा एक वर्षसम्म नागको भय हुँदैन भन्ने चलन छ। नाग देवताको शक्तिले एक वर्षसम्म त्यस घरमा बज्रपात, अग्निकाण्ड र अनावृष्टि तथा अन्य प्राकृतिक प्रकोप नहुने र देशमा समयमा वषर्ा भई धनधान्यले समृद्ध हुनेछ भन्ने जनविश्वास छ।

अर्को महत्त्वपूर्ण र आकर्षक चाड गाईजात्रा भाद्र कृष्ण प्रतिपदाको दिन पर्छ। गाईजात्राको दिन गत साल परलोक भएका आफन्तको नाममा चित्रकारले कागजमा तयार पारेको गाईको अनुहार अङ्कित चित्र र भगवान् गणेशको चित्र अघिल्लो र पछिल्लो भागमा राखिएको पेरुङको टोपी लगाई पटुकाको दुई टुप्पा भुइँमा लतारी एकजना आफन्तलाई सहर परिक्रमा गराइन्छ। सोही अवसरमा चित्रकारले सिर्जना गरेर राखेको दिवङ्गत परिवारको सदस्यको पोटे्रट चित्र पनि प्रदर्शन गराइन्छ। गाईजात्रा राजा प्रताप मल्लले आˆनो रानीलाई सान्त्वना दिन चलाएको पर्व हो। काठमाडौँ, ललितपुर र भक्तपुरमा फरकफरक रूपमा मनाइने गरे पनि यस पर्वमा चित्रको भूमिका रहेको हुन्छ।

भाद्र कृष्ण पक्ष अष्टमीका दिन भव्य रूपमा कृष्णाष्टमी पर्व मनाइन्छ। सो अवसरमा घरघरमा भगवान् श्रीकृष्णको तस्बिर सजाएर भव्य रूपमा पूजा गरिन्छ। टोलटोलमा रहेको सत्तलमा र अन्य सभागृहमा पनि भगवान् श्रीकृष्णको जन्म र लीलासम्बन्धी चित्रकारले सिर्जना गरेको चित्रहरू सजाएर भजनकीर्तन गर्ने गरिन्छ।

भाद्र महिनाको वामन द्वादसी तिथिमा हनुमानढोका परिसरमा चित्रकारले सजाएर राखेको ध्वजापताका र चित्र भएको ३२ हात लामो इन्द्रध्वजा गाडेपछि सप्ताहव्यापी इन्द्रजात्रा सुरु हुन्छ। इन्द्रजात्राको रथ यात्राको दिन कुमारी, गणेश र भैरवको मुहारमा पनि चित्रकारले विभिन्न रङ्ग प्रयोग गरी परम्पराअनुसार सिँगार्ने काम हुन्छ। बाँस र मान्द्रो प्रयोग गरी सेतो कपडाले हात्तीको आकार बनाई त्यसमा चित्रकारले मुख, आँखा, कान, टीका र विभिन्न आकृति लेखेर इन्द्रको वाहन ऐरावती हात्तीका रूपमा तयार पारी सहर परिक्रमा गराइन्छ। हात्तीभित्र दुई मानिस रहेका हुन्छन् भन्ने बाहिर एकजनाले एक हातमा चिराग समाएर अर्काे हातले हात्तीलाई तान्ने गर्छन्। पुलुकिसीको साथै साताव्यापी इन्द्रजात्रालाई महाकाली नृत्य, देवी नृत्य, सवः भक्कु, मजिपा लाखेले रौनक बढाइरहेको हुन्छ। त्यस नृत्यमा प्रयोग हुने मुखुन्डो पनि चित्रकारले तयार पारेका हुन्छन्।

बडादसैँमा पनि घरघरमा नवदुर्गाको तस्बिर पूजाकोठामा सजाएर राखिएको हुन्छ। यसैगरी, तिहारको तेस्रो दिन लक्ष्मीपूजाको दिन चित्रकारले सिर्जना गरेको चित्र आ-आˆनो ढुकुटीमा राखेर पूजा गरिन्छ। घरघरमा र विभिन्न ठाउँमा चित्रकारले तयार पारेको आकृतिअनुसारको मन्डला पाउडर रङ्गद्वारा तयार पारिन्छ। आकृति चित्रकारको डिजाइन र रेखदेखअनुसार हुन्छ।

सेतो मच्छिन्द्रनाथको रथयात्रामा रथ तयार पार्दा पनि रातो मच्छिन्द्रनाथको रथमा जस्तै चार पाङ्ग्रामा भैरवको त्रिनेत्र रथको अग्रभागमा रहेको खम्बामा रहेको कपडामा भैरवको चित्र लेख्नुपर्ने र रथको सबैभन्दा माथिदेखि तलसम्म पुग्ने अष्टमङ्गलको चित्र अङ्कित वता पनि लेख्नुपर्ने हुन्छ।

चाडपर्वमा मात्र नभई मानिसको जन्मदेखि मृत्युसम्मको संस्कार कर्मकाण्डमा पनि चित्रकलाको महत्त्वपूर्ण स्थान रहेको छ। मानिस जन्मेपछि तयार पार्नुपर्ने चिनोमा गणेशको चित्र र जन्मकुन्डली चित्रकारले बनाउने गर्छन्। पास्नी गर्दा, गुफा झिक्दा, व्रतबन्ध गर्दा र विवाह गर्दा पनि चित्र आवश्यक पर्छ। कतैकतै विवाहमा दुलही घरमा भित्र्याउनका लागि केटाको घरको मूलढोकामा चित्र लेख्नुपर्ने चलन पनि छ। मूलढोकामाथि विभिन्न देवताको चित्र लेखाइन्छ भने ढोकाको दायाँबायाँ खम्बामा कलश, आँखा र सुगाको चित्र लेख्ने गरिन्छ। यसो गर्दा नयाँ दुलहीलाई सत्कारका रूपमा देवदेवीको दर्शन गराउनु हो भनिन्छ। भीम रथारोहण, चन्द्र दर्शन, देव रथारोहण तथा महारथारोहणजस्तो संस्कारमा पनि चित्रको आवश्यक पर्छ। गरुडको चित्र रथको दायाँबायाँ राखिन्छ, खम्बामा अष्टमङ्गल श्रीवत्स, पुन्डरिक -कलश) ध्वज -झन्डा), कलश, चमर, माछा जोडी -मत्स्य) छत्र शङ्खको चित्र रहनुपर्नेछ। यो काम पनि चित्रकारले नै गर्छन्। चित्रकार जातको मानिस मर्दा अन्तिम संस्कारका लागि शव घाटमा लैजाँदा पनि शव राखिएको खाटमा चित्रकारले तयार पारेको विभिन्न देवताको चित्रहरूले सिँगार्ने गरिन्छ।

विभिन्न समयमा गरिने भागवत सप्ताह, नवाह, सत्यनारायण व्रत कथा आदिमा पनि भगवान् विष्णु गरुडमाथि बसेको चित्र कपडामा लेख्न लगाई बाँसको टुप्पोमा झुन्ड्याइ कौसीमा राख्न लगाउने चलन छ। नयाँ घर बनाउँदा वा पुरानो घरमा भूतपे्रत भगाउन शान्तिपूजा गर्दा होस् चित्रकारलाई अष्टमातृका ब्रह्मायणी, कुमारी, वाराही, वैष्णवी, इन्द्रायणी, चामुन्डा, रुद्रायणी र महालक्ष्मीको चित्र बनाउन लगाइन्छ। त्यस्ता पूजामा भैरवको डरलाग्दो चित्र पनि लेख्न लगाएर राखिन्छ।

हिन्दु र बौद्ध धर्मअन्तर्गतका विभिन्न साँस्कृतिक, धार्मिकग्रन्थमा पनि धार्मिक चित्रकलाको महत्त्वपूर्ण स्थान रहिआएको छ।

मानव शरीरमा आउने एक किसिमको जनै खटिरामा पनि शक्तिको प्रतीक देवी भगवतीको वाहन सिंहको चित्र लेखाउन चित्रकार घरघरमा जाने गर्छन्। महिषासुर दैत्य र हिरन्यकश्यप दैत्यलाई वध गर्न सक्ने सिंहलाई शक्तिशाली जनावर मानिन्छ। शरीरमा जनै खटिरा सुरु भएको ठाउँमा र फैलिएर गएको अन्तिम ठाउँमा टाउको खटिरातिर पारेर सिंहको चित्र लेखाइन्छ। यसरी सिंहको चित्र लेखेपछि अन्य बाँकी ठाउँमा खटिरा फैलँदैन। अन्यथा खटिराको सुरु र अन्य भाग जोडिएमा जनै खटिरा आउनेको मृत्यु हुन्छ भन्ने जनविश्वास रहेको छ। सिंहको चित्र लेख्दा सेतो, कालो र रातो रङ्गमात्र प्रयोग गरिन्छ। यी रङ्गहरू वैज्ञानिक तवरले छनोट गरिएको हो। जनैजस्तै गरी खटिराको सुरु र अन्त्य आपसमा नजोडियोस् भन्नलाई जनै खटिरा भनिएको हो। जनैको अबहेलना भएर र जलनागको दोष लागेर जनै खटिरा आउँछ भन्ने धार्मिक विश्वास छ। चिकित्सकले यसलाई 'हर्पेस जोस्टर' नामक भाइरल इन्फेक्सनबाट हुने रोग भन्छन्।

यस प्रकारले चाडपर्व, रीतिरिवाज, धार्मिक कर्मकाण्ड र धार्मिक आस्थाले गरिने उपचारमा चित्रकलाको महत्त्वपूर्ण स्थान रहेको छ। नेपालको परम्परागत चित्रकलाको इतिहासमा मल्लकालीन राजा जयस्थिति मल्लले लागू गरेको नियम कानुनअनुसार नेपालको नेवार जातिको 'पुँ' अर्थात् चित्रकारले मात्र धार्मिक रीतिरिवाज, संस्कृति, धार्मिक पूजादिसँग सम्बन्धित चित्रहरू लेख्ने परम्परा रहँदै आएको देखिन्छ। यस्तै तराई क्षेत्रमा पनि धार्मिक समारोह र कर्मकाण्ड आदिमा मिथिलाकलाको प्रयोग गर्ने गरिन्छ। यसरी नेपालको परम्परागत चित्रकलाको विकासमा धार्मिक आस्थाले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home