आजको दिन खुसीका साथ भन्नुपर्ने हुन्छ कि अब विवाहित मुख्य विषयको छिनोफानो मोटामोटी टुङ्गिइसकेको छ। यसबाट संविधान जारी गरिसक्नुपर्ने समयावधि जेठ १४ भित्र हामी संविधान जारी गर्नसक्छौँ भन्ने दरिलो आधारसमेत खडाभएको मान्न सक्छौँ। अब एक हप्ता मात्रै बाँकी छ, संविधान जारी गर्नुपर्ने समय/यहाँसम्म आइपुग्दा मुख्य विवादित एवं जटिल विषय राष्ट्रशक्तिको स्वरूपमा विषयमा मिश्रतिमा जाने गरी सहमति भइसकेको छ। सङ्घीय राज्यको नामकरण र राजधानी तोक्ने कार्यमात्र बाँकी रहेको स्थितिमा तटस्थरूपले सोच्ने हो भने यो पनि टुङ्ग्याउनु बुद्धिमानी ठहर्छ। यसका लागि उपयुक्त हुनेगरी सुझाव, सल्लाह तटस्थरूपले दलहरूलाई दिनु आवश्यक छ। यसै सन्दर्भमा यहाँ एउटा प्रदेश, जसको नामकरण 'पाणिनी' प्रदेश र राजधानी 'सन्धिखर्क' हुनु उपयुक्त हुने सुझाउसँगै अन्य प्रदेशका सम्बन्धमा पनि यस्तै सुझाउ आउन सकून् भन्नेतर्फ ध्यान केन्दि्रत गरिएको छ।
दलहरूको पूर्व सहमतिअनुसार राज्य पुनः संरचनाका सम्बन्धमा प्रदेशहरूको सङ्ख्या निश्चित गरी त्यसको नामकरण र राजधानीबारे प्रादेशिक सभाहरूले टुङ्ग्याउने मोटामोटी सहमति जुटाइएको छ। तत्काललाई यो निष्कर्ष संविधान समयमै जारी गर्ने उद्देश्यले आएको स्पष्ट हुन्छ, जुन एक हदसम्म सकारात्मक मान्न सकिन्छ। तर, यसको पनि विरोधका रूपमा 'स्वरहरू'घन्किरहेको स्पष्ट छ। जुन स्वाभाविक पनि छ। अहिले नै यसको छिनोफानो गरिएन भने प्रादेशिक सभामा त्यसको टुङ्गो लगाउन झन् कठिन हुने अतः यसबारे सम्बद्ध पक्ष, तप्का र विशेषज्ञहरूबाट स्वतन्त्र र तटस्थरूपबाट सामर्थ, भूगोल एवं सिमाना लगायतका आधारमा विचार-विश्लेषणसहित प्रदेश र तिनीहरूका पायक पर्ने राजधानीहरूबारे स्पष्ट खाका आउनसकेमा यसको छिनोफानो संविधान अघि नै सम्भव छ। यसो हुनसके पछिका लागि विवाद रहन्न र सम्बद्ध सबैका स्वर मत्थर हुने निश्चित छ।
प्रादेशिक सभालाई प्रदेशहरूको नामकरण र तिनीहरूको राजधानीबारे टुङ्गो लगाउन जिम्मा दिने र त्यसका लागि विशेषज्ञहरूको आयोग गठन गर्ने पछिल्लो दलहरूको निर्णय एक किसिमले ठीक मानिए पनि पछिलाई थाती राख्नु विवाद कायमै राख्नु हो। अतः संविधानभित्रै नामकरण र राजधानीबारे स्पष्ट व्यवस्था गरी विवाद सुल्झाउनु बुद्धिमत्ता ठहर्छ। बरु प्रदेशको सङ्ख्या किटान गरिसकेपछि मुलुकको नक्सालाई अगाडि राखेर विशेषज्ञसहितको टोलीबाट दुई तीन दिनमै सीमाङ्कन, नामकरण र राजधानीहरू तय गर्नु उपयुक्त हुन्छ, जुन असम्भव छैन। यस सन्दर्भमा यहाँ ती प्रदेशमध्ये एक प्रदेश र त्यसको राजधानीबारे सुझाउ प्रस्तुत गरिन्छ, जुन त्यसरी नै अन्य प्रदेशका बारे पनि जानिफकारहरूबाट उपयुक्त, वस्तुनिष्ठ र ठोस सिमाङ्कनसहित सुझाउ आए दलहरूलाई निर्णय लिन सघाउ पुग्दछ। त्यस्तै यससम्बन्धी आयोगलाई पनि सजिलो हुनसक्छ। अर्घाखाँची, गुल्मी, प्यूठान, पाल्पा, रोल्पा, रुकुम, सल्यान र कपिलवस्तुलाई एक प्रदेश बनाई त्यसको राजधानी अर्घाखाँचीको सदरमुकाम 'सन्धिखर्क' लाई तोक्नु सबै दृष्टिकोणले उपयुक्त हुन्छ।
सङ्घीय राज्य एवं प्रदेशको अवधारणा राज्यशक्ति बाँडफाँडसँगै अधिकार प्रत्यायोजनका दृष्टिबाट जनतालाई पायक पर्ने गरी सहज तुल्याउनु हो।आफ्नो भूगोलभित्रको प्राकृतिक उपलब्धतालाई समूचित उपयोग गरी उत्पादन बढाउनु र वितरण सहज गर्नुसँगै प्रशासनिक कामकारवाहीमा स्थानीय एवं प्रदेशबाट निर्णय लिनु, दिनु हो। प्रत्येक कामकारवाहीमा केन्द्रमा धाउनुको सट्टा स्थानीय तह एवं प्रदेशबाट सहज निर्णयसँगै लाभ लिनु हो। सहज जनताको पहुँच पुर्याउनु हो। अतः यसका लागि भूगोल र सहज पहुँच हुनेगरी पायक स्थान राजधानी बनाउनु पहिलो प्राथमिकता हो। यसर्थ नेपाली काङ्ग्रेसले प्रस्ताव गरेको नामकरण विनाको पाँचौ प्रदेशमा अङ्कित कपिलवस्तुबाहेकका जिल्लाका आधारमा पनि अर्घाखाँची जिल्ला भूगोलका दृष्टिले मध्यभागमा परेका कारण पनि त्यहाँको सदरमुकाम सन्धिखर्कलाई प्रदेशको राजधानी बनाउनु सबैभन्दा उपयुक्त ठहर्छ।
नेपाली काङ्ग्रेसले प्रस्ताव गरेको ११ प्रदेशमध्ये पाँचौँ प्रदेशमा सात जिल्ला प्रस्तावित छन्, जुन उपरोक्त जिल्ला कपिलवस्तुबाहेक पर्दछन्। नेकाले प्रस्तावित गरेका जिल्लालाई हेर्ने हो भने पनि मध्यभागमा अर्थात् केन्द्रमा अर्घाखाँचीको 'सन्धिखर्क' पर्दछ। सन्धिखर्कदेखि उत्तरमा गुल्मी पर्दछ भने पूर्वमा पाल्पा जिल्ला पर्दछ। त्यस्तै पश्चिममा प्यूठान, रोल्पा, पश्चिम-उत्तर, रुकुम-पश्चिम उत्तर, सल्यान-पश्चिम, दक्षिण दिशामा अवस्थित छन्। भौगोलिक पायक एवं सामर्थका दृष्टिले पनि 'सन्धिखर्क' सबैभन्दा उपयुक्त स्थानमा पर्दछ। त्यस्तै नरपानी सिमेन्ट उद्योग यही जिल्लामा प्रस्तावित छ। झिमरुक जलविद्युत् आयोजना यसैको सिमानामा छ भने यसैको दक्षिण-पश्चिम सिमानामा झण्डै ४४५ मेगावाट क्षमताको प्रस्तावित नौमुरे जलविद्युत आयोजना छ। महेन्द्रराजमार्गदेखि ६८ कि.मि.को दुरीमा सन्धिखर्क पर्दछ भने पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मार्ग ढोरपाटन जाने बाटो यसै स्थानबाट जान्छ। साथै सन्धिखर्कबाट अन्य सबै जिल्लामा सहज हुने गरी यातायात सुविधा पनि छ। यससँगै क्षेत्रकै उत्कृष्ट सभागृह पनि यहाँ छ।
प्रदेश बढी भयो र मधेसलाई टुक्राटुक्रा पारियो भन्ने जनगुनासो आइरहेको बेला प्रदेश शृङ्खला घटाउने हो भने कपिलवस्तु समथर जिल्लालाई यसै प्रदेशमा गाभेमा झन उपयुक्त हुन्छ। प्रदेश नामकरण गर्दा जिल्ला नटुक्र्याउने, जिल्लाको नाममा नामकरण नगर्ने गर्दा विवाद रहन्न। अन्यथा आ-आफ्नै जिल्लामा नामकरण गर्न सबै उद्यत रहन्छन्। त्यसैले ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकीयरूपले सबै यी जिल्लाहरूको साझा हुने गरी यहाँ अव्यवस्थित 'पाणिनी' ऋषिका नाममा नै यहाँको प्रदेश 'पाणिनी', प्रदेश गर्नु उपयुक्त हुन्छ।