काठमाडौँ, जेठ ७ गते। अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेट समयमा जारी हुने विश्वास व्यक्त गर्नुभएको छ। मन्त्री पुनले राजनीतिक कार्यक्रमबाहेक नियमित र यसअघि प्रतिबद्धता जनाइएका कार्यक्रमहरूमाथि मन्त्रालयमा छलफल चलिरहेको जानकारी पनि दिनुभयो।
राजनीतिक सहमतिको सरकारमा पुन अर्थमन्त्री पद सम्हाल्न पुग्नु भएका पुनले आइतबार मन्त्रालयमा पद बहालीका क्रममा पत्रकारहरूसँग कुरा गर्दै दलहरू राजनीतिक अन्योलता अन्त्य गर्ने क्रममा रहेको र सहमतीय सरकार निर्माण भएकोले यस वर्ष पनि समयमा बजेट आउन सक्ने विश्वास व्यक्त गर्नुभएको हो।
उहाँले राजनीतिक रूपमा धेरै कुराको टुङ्गो लाग्दै गएको र बाँकी विवादका कुरा पनि दलहरूले चाँडै टुङ्ग्याउने भन्दै राजनीतिक अन्योलताले बजेट ल्याउन अप्ठ्यारो नपर्ने विश्वास व्यक्त गर्नुभयो। बढी समय खटेर पनि बजेट ल्याउन मन्त्रालय लागि पर्ने पुनको भनाइ थियो।
उहाँले रजनीतिक एजेण्डाले प्राथमिकता पाएको र मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि राजनीतिक मुद्दाहरूको निरुपण जरुरी रहेको भन्दै सहमतीय सरकार भएपछि बजेट निर्माणमा अप्ठ्यारो नपर्ने बताउनुभयो।
पुँजीगत खर्च वृद्धि गर्ने विषयमा मन्त्रालयका सचिवहरूस्ाँग छलफल गरी यसलाई बढाउन पहल गर्ने मन्त्री पुनले बताउनुभयो। राजनीतिक अन्योलता धेरै दिन नलम्बिने भएकोले पुँजीगत खर्च बढ्ने आशा उहाँको थियो।
पुनले राजस्व सङ्कलनको स्थिति राम्रो रहेको भन्दै आर्थिक वर्षको अन्त्यसम्म लक्ष्य अनुसार राजस्व सङ्कलनका लागि उपाय अपनाइने बताउनुभयो। वैशाखसम्म १९२ अर्ब रुपियाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा १९० अर्ब रुपियाँ सङ्कलन हुन सकेको छ।
राजनीतिक अस्थिरताका कारण भन्सार, व्यापारबाट आउनुपर्ने राजस्व आउन नसके संस्थान वा राजस्व उठाउन बाँकी क्षेत्रलाई कडाई गरेर पनि लक्ष्य अनुसार राजस्व असुलीको प्रयास हुने अर्थ मन्त्रालयलको योजना रहेको छ।
मन्त्री पुनले जेठ १४ पछिको सम्भावित तनावलाई सहयोग नपुगोस् भनेर पेट्रोलियम पदार्थमा अनुदान थपिएको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजनको विकल्प नरहेको स्पष्ट पार्नुभयो। मूल्य स्थिरीकरण कोष खडा गरेर भए पनि सस्तो हुँदाको रकम कोषमा राख्ने र महँगो हुँदा त्यही कोषबाट रकम अनुदान दिने व्यवस्था गर्न सकिने अर्थ मन्त्रालयले सोच बनाएको छ।
सुधारका कार्यक्रम ल्याउँछु ः ज्ञवाली
त्यसैगरी पद बहालीका क्रममा ऊर्जामन्त्री राधा ज्ञवालीले ऊर्जा क्षेत्रमा सुधारका कार्यक्रम ल्याउन र दीर्घकाीन महìवका नयाँ आयोजनाहरू ल्याउन आफूले काम गर्ने बताउनुभएको छ।
उहाँले पूर्वमन्त्री गोकर्ण विष्टले अघि सार्नुभएका सुधारका कार्यक्रमलाई निरन्तरता दिँदै थप केही सुधारका कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि आफ्नो वर्कतले भ्याएसम्म इमान्दारितापूर्वक काम गर्ने स्पष्ट पार्नुभयो।
माथिल्लो तामाकोसीजस्ता आयोजनालाई समयमा सम्पन्न गर्न, नेपाल विद्युत् प्राधिकरणलाई प्रभावकारी बनाउन, विद्युत् अनुमतिपत्र वितरणलाई व्यवस्थित र छिटोछरितो बनाउने ज्ञावालीको भनाइ थियो। आफूले राजनीतिक दबाबमा नभई विज्ञहरूको सुझाव र अध्ययन गरेर मात्र कुनै पनि निर्णय गर्ने उहाँको प्रतिबद्धता थियो।