नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा भएको तीनदिने नेपाल बन्दको पहिलो दिन आइतबार आन्दोलनकारीले सञ्चारकर्मीमाथि छानीछानी आक्रमण गरे। दोस्रो दिन पनि सञ्चारमाथिको आक्रमण रोकिएको छैन। नेपालको इतिहासमा सञ्चारक्षेत्रमाथि यति ठूलो आकारमा भौतिक कारबाही भएको यो पहिलो घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ। नेपालमा पत्रकारिताको विकास नहँुदाका बखत नेपाली आदिवासी आन्दोलन कहाँ थियो। आज आदिवासी आन्दोलनले जुन उपलब्धि पाएको छ त्यसको सफलताको कति हिस्सा पत्रकारितालाई दिनसकिन्छ भनेर सोचियो भने सञ्चारमाथि भइरहेका आक्रमणमलाई उचित मान्नसकिदैन। बेलायती चर्चित नाटककार टोम स्टोपार्डले "संसारलाई परिवर्तन गर्ने सबैभन्दा छिटो हतियार पत्रकारिता हो" भनेर पत्रकारितालाई परिवर्तनको साधन बताएका छन्। यदि नेपाली पत्रकारिताले समाज परिवर्तन गर्दैनथ्यो भने पञ्चायतले राजनीतिक आन्दोलनकारीलाई अराष्ट्रियतत्व, मधेसी आन्दोलनलाई पृथकतावादी, आदिवासी आन्दोलनलाई विखण्डनवादी र छुवाछूतविरुद्धका अभियानलाई सामाजिक सहिष्णुताविरोधी अभियान भनिरहँदा हाम्रा बुझाइ, भोगाइ र चेतना कहाँ थियो भनेर हेर्नुपर्दछ। आज यी सबै आन्दोलन/अभियानलाई अधिकार र पहिचानको सवाल बनाउन के नेपाली पत्रकारिताले योगदान दिएन ? हाम्रा माध्यम उदार भएनन् ? पटकपटक भइरहेका आन्दोलनका क्रममा सञ्चारमाध्यम र पत्रकारहरू पीडित हुनु भनेको उनीहरूको पेशा अर्थात स्वतन्त्र पत्रकारिता सङ्कटमा पर्नुमात्र नभएर सूचना पाउने सम्पूर्ण नेपालीको अधिकार कुण्ठित हुनु हो।
हिजो भएका आक्रमणका बारेमा आन्दोलनको संयोजनकर्ता नेपाल आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले संस्थागत प्रतिक्रिया दिएका छैनन्। 'महासङ्घ' नेपाली आदिवासीहरूको प्रतिनिधि र दातृराष्ट्रहरूले विश्वास गरी आदिवासीहरूको विकासका लागि करोडौ रुपियाँ लगानी गरिएको संस्था भएकाले उसले अवश्य पनि पत्रकारितामाथिको आक्रमणमलाई जायज भन्ने छैन तर महासङ्घका अध्यक्ष राजकुमार लेखी र महासचिव आङकाजी शर्पाले भिन्नभिन्न प्रतिक्रिया दिनुभएको छ। लेखीले सो आक्रमण सरकार संरक्षित भिजिलान्तेले गराएको आरोप लगाउनुभएको छ भने शेर्पाले आफ्नो आन्दोलनको समाचार नलेखिएकाले आक्रमण गरिएको र आवश्यकता परे नेपाल पत्रकार महासङ्घलाई पनि नछाडिने, ठीक पारिने बताउनुभएको छ। यस्ता भनाइले वातावरणलाई संगिन बनाएको छ। लेखीको भनाइ सत्य हो भने सरकारले भिजिलान्तेका बारेमा स्पष्ट पार्नुु पर्दछ अन्यथा रेडिमेड वक्तव्य जारी गर्नुको कुनै अर्थ रहँदैन। यसो होइन र शेर्पाको भनाइ सत्य हो भने अब पत्रकारहरू पत्रकारिता गर्न छाडेर आन्दोलनका पर्चा बाँड्न हिँड्नुपर्ने भएको छ। यो दुर्भाग्य हो। पत्रकारिता कसैको नारा उराल्ने संयन्त्र होइन, बरु कसैले उरालेका नारालाई समाचार बनाउने विवेकी पेसा हो पत्रकारिता। के समाचार हो, के होइन ? भन्ने अधिकार र विवेक पत्रकारलाई छ। यो कसैले पत्रकारितालाई दिएको नभई आफैले स्थापित गरेको उसको अधिकार र विवेक हो। यही दायित्व बुझेर बेलायती सांसद् एडमण्ड बर्कले पत्रकारितालाई चौथो अङ्ग भनेर सम्मानमात्र गरेनन् यसको औचित्यलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासँग तुलना पनि गरे। पत्रकारितालाई आवाजविहीनहरूको आवाज पनि भनिन्छ। यस अर्थमा आवाजविहीनहरूका आवाजलाई राज्य/सरकारसम्म पुर्याउन प्रेस संवेदनशील हुनैपर्दछ तर आफ्ना मागहरूको प्रचार प्रसार गरी आफूप्रति पत्रकारितालाई संवेदन बनाउनसक्नु सरोकारवालाको कला हो। यस्ता पक्षमा सबैले विशेष ध्यान दिनैपर्दछ। पत्रकार वा पत्रकारिताले गलत काम गरेको छ भने, उसको तटस्थता र सत्यतामा विश्वास गर्न नसक्ने हो भनेे त्यसको प्रतिरोध गर्ने विशेष प्रक्रिया स्वयं पत्रकारिताले अपनाएको छ। यस्ता शाश्वत प्रक्रिया छाडेर पत्रकार र सञ्चारगृहमाथि भौतिक धावा बोल्ने हो भने मुलुक कहाँ पुग्दछ ? सोचनीय प्रश्न भएको छ। आधुनिक नेपाली पत्रकारिता सत्तासीनहरूको भनाइ र गराइको प्रचार गर्ने १६ औं/१७ औं शताब्दीको अधिनायकवादी चरण पारगर्दै सामाजिक उत्तरदायी प्रेस सिद्धान्तमा आधारित जनताको बीचमा आएको छ। ऊ सबैभन्दा पहिला पेसा, मुलुक र समाजप्रति उत्तरदायी हुनुपर्दछ।