अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
चिन्तन राष्ट्रहितमा हुनुपर्छ
डा. विश्वदीप अधिकारी
 

लागू भएको छ वर्षमा अन्तरिम संविधान १२ पटक संशोधन भइसकेको छ। हाल १३ पटक संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ। ग्राफ चार्टको लागि यो प्रगति हो। तर संवैधानिक दृष्टिकोणबाट यो राजनीतिक अपरिपक्वता हो। राजनीतिमा दूरदर्शिता भएन भने यस्तै कुरामा अल्मलिनु पर्छ।

आगो लाग्न सक्छ भन्ने सम्भावनाकै कारण वारुणयन्त्रको व्यवस्था गरिएको हुन्छ। ठाउँ ठाउँमा पोखरी बनाएर राखिएको हुन्छ, बालुवा थुपारिएको हुन्छ जसबाट आगो लाग्नेबित्तिकै झट्ट नियन्त्रण गर्न सकियोस्। हरेक मान्छेले आफूभित्र रहेको काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यरूपी आगो नियन्त्रण गर्न सत्य, धर्म, शान्ति, प्रेम, अहिंसाजस्ता पानीको व्यवस्था गरेकै हुुनपर्छ। हरेक मान्छेको मनमा अविश्वासको आगो बलिरहेको छ तर प्रायः हृदयमा पनि त्यस्तो आगो निभाउने पानी छैन।

यतिबेला कुन उद्देश्यले आन्दोलन हुन्छ। त्यो कहाँ गएर अवतरण हुन्छ र त्यसपछिको परिणति के हुन्छ भन्ने कुरा आफैंमा रहस्यमय हुँदै गइरहेको छ।

आज हामी जति राम्रो बीउ रोप्छौं भविष्यमा हुर्कने बिरुवाले त्यत्तिकै राम्रो फल दिने हो। भोलिको लागि हिजोलाई राम्ररी नियालेर आज असल बीउ रोप्नु हरेक नागरिकको कर्तव्य हो। आज हामीले राम्रो संस्कार बसाउन सकेनौं भने हिजो संस्कार नबसेर आज हामी बरालिएजस्तो हाम्रा भोलिका पिंढीले पनि हामीले जस्तै असरल्ल परिस्थिति बेहोर्नुपर्नेछ।

आजका मान्छेले आजै सोच्नुपर्नेछ- हामी हाम्रो भोलि कस्तो बनाउन गइरहेछौं। यहींनेर आएर सबैलाई ठेस लाग्ने गरेको छ। हिजो गइहाल्यो, भोलि के हो के हो यसैले आज नै मनचाह गरौं भन्ने भावना दरोसँग गडेको छ। निश्चय नै आज मनचाह गर्ने नै हो तर काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यको वशमा नपरी 'समस्त लोकाः सुखिनो भवन्तु' को लयमा लयबद्ध भएर मात्र।

पूर्वदेखि पश्चिमसम्म सर्वत्र असन्तोष व्याप्त छ। देशलाई बन्दको बन्धक बनाएर हामी सबै आत्मरति गरिरहेका छौं। तोते बोली बोल्ने हाम्रा लालाबालाहरू यिनै प्रवृत्तिलाई क्रमशः हाम्रो संस्कृति ठान्दै गइरहेका छन्। भोलिका लागि हामीले ठीक पारेको उपहार के हामी, हाम्रो समाज र हाम्रो सन्ततिको लागि उपयोगी छ त ? यस बारेमा हामीले एकरति पनि सोच्न भ्याएका छैनौं।

एकैछिनमात्र एकान्तमा बसी चित्तलाई शान्त पारेर सोच्ने हो भने हामीलाई थाहा लाग्नेछ हामीले पकडेको गलत बाटोले हामीलाई हरेक कुरामा गरिब बनाइरहेको छ हामी धन सम्पत्तिमा मात्र होइन विचार, बुद्धिमा पनि निरन्तर गरिब हुँदै गइरहेका छौं।

हाम्रो अहिलेको समस्या भनेको आत्मविश्वासको कमी हो। हामीले जबसम्म पहिले आफूलाई नेपाली भनेर हेर्दैनौं, तबसम्म हामी आफ्नो देशलाई हाम्रो नेपाल भनेर सोच्न सक्दैनौं। प्रतिदिन फराकिलो हुनुपर्ने हाम्रो सोच्ने क्षमता साँघुरो हुँदै गएको छ।

नेपाल सबै नेपालीको एउटा सिङ्गो देश हो। यहाँको सडकमा हरबखत छरपस्ट माग पस्किएको पाइन्छ। मागकै बिस्कुन सुकाइएको छ। मागमै मजेत्रो ओढिएको छ। मागकै घुम्टो हालिएको छ। मागकै टोपी लगाइएको छ। मागकै बख्खु ओढिएको छ।

आज सडकमा बस्नेले भोलि सदनमा पुग्ने अवसर आउँछ र आज सदनमा बस्नेले भोलि सडकमा आउनुपर्ने अवस्था आउँछ। तर सबैलाई तातै खाउँ जल्दी मरुँ भएको छ। सडकमा बसेर कराउनेलाई सदनमा बस्ने कौरवझैं केही पनि दिन चाहँदैन। भोलि सडकमा पुग्यो भने ऊ फेरि सदनवाला विरुद्ध नारा लगाउन आइपुग्छ। यसैले पनि माग्ने र दिनेभन्दा पनि आपसमा मिलेर अमनचैन राखी मुलुकलाई समृद्ध बनाई सबै नेपाली सुकिलोमुकिलो हुनु नै सबैको साझा सोच हुुनपर्ने हो। तर कुनै न कुनै अदृश्य तत्वले यस्तो स्थिति आउन नै दिएको छैन।

कत्रो सङ्घर्ष गरेर धर्मरिनरपेक्षता, गणतन्त्र र सङ्घीयता ल्याउन सकियो तर सत्तामा बस्नेले यिनको सही व्यवस्थापन गर्न नजान्दा आज यसको विरोध गर्नेको पनि कमी छैन। सङ्घीयताको अर्थ र मर्मलाई नै प्रहार हुने गरी अखण्डताको नाराबाजी सुरु भएको छ। अखण्डता भन्नु र केन्द्रीयता भन्नु एकै हो भन्ने कुरा कसले बुझाइदिने। धार्मिक, सांस्कृतिक, मानसिक, सामाजिक, जातीय सहिष्णुता विना कुनै पनि मुलुक समृद्ध हुन सक्दैन। जो जे जस्तो भए पनि जुन प्रदेशको भए पनि सबैले बोक्ने त नेपालकै झण्डा हो।

एकताको बल भनेकै देश र झण्डा नै हो। आफ्नोपनलाई पालन गरी अर्काको पनलाई सम्मान गर्ने बित्तिकै त्यहाँ झगडा भन्ने कुरा नै उठ्दैन। रुखलाई जराले अडयाएजस्तो सहिष्णुता र इमनदारी नै प्रत्येक मानिसको जग हो। मान्छेको प्रवृत्ति राम्रो भएन भने संविधानका अक्षरहरू जतिसुकै सुन्दर र बलिया भए पनि ती लौरो न हतियार हुन पुग्छन्।

मान्छेको मन भड्कियो भने के हुन्छ भन्न सकिंदैन। सभ्य युरोपमा मान्छेले सरकारको विरोध गरी ढुङ्गा हान्लान्, सडकमा फोहोर थुपार्लान् भन्ने कसले सोचेको थियो ? तर नसोचेको कुरा भइदियो। त्यसो हुुनुको प्रमुख कारणमा सरकारमा पुग्नेहरूको चिन्तन देशवादी नभई व्यक्तिवादी भएर नै हो।

हामीभन्दा पनि तल रहेछ उनीहरूको सोच्ने शैली। राजनीति बहुलायो भने जनताले के गर्दारहेछन् भन्ने एउटा नमुना पनि हो त्यो। किन प|mान्सका पूर्व राष्ट्रपति सार्कोजीले आफ्नो तलब १७० प्रतिशत बढाए किन, भर्खर निर्वाचित राष्ट्रपतिले त्यो तलबमा ३० प्रतिशत घटाए ? मुलुकको राजनीति असल मान्छेको हातमा नपरी भोको मान्छेको हातमा पर्‍यो भने जनताले नै दुःख पाउने हुन्। त्यसैले जनताले नेता छान्दा विवेक पुर्‍याउनुपर्छ भनिएको हो।

नयाँ संविधानमा प्रतिनिधिसभामा राख्ने मानिसको सदस्य सङ्ख्यालाई हेरेर नै राजनीति गर्नेहरू देश र जनताप्रति कति इमानदार छन् भन्ने कुरा छर्लङ्ग हुन्छ। यसैबाट अहिले राजनीतिक वृत्तमा भइरहेको रस्साकस्सी मुलुकको हितका लागि नभई दल र तिनका नेताको स्वार्थ सिद्ध गर्न हो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन। प्रदेशको नाउँ र सङ्ख्यामा म र तँ भनी पाखुरा सुर्कने राजनीतिकर्मीहरू र मेरो क्षेत्र मेरो जात भनी सडक तताउने जनता सबैले देशको हितमा पहिले नेपाली भएर सोच्ने हो भने कसैले पनि आफ्नो रगत उमाल्नुपर्ने खण्ड नै छैन।

प्रदेशको नाम नदिएर संविधान बनाउने सोच ल्याउनु भनेको नितान्त कमजोर राजनीतिक मनोवृत्ति हो। राजनीति भनेको निर्णय गर्ने अखडा हो मुख ताक्ने पँधेरो होइन तर अहिलेका पार्टीहरू त पार्टी नभई भत्केको पाटीभन्दा माथि देखिन सकिरहेका छैनन्।

संविधानलाई बन्न नपाई संशोधनको सिकार बनाउने काम गर्नु भनेको विजय नभएर काँतरपनाको एउटा छरपस्ट रूप हो। संविधानसभाबाट निर्मित संविधानलाई पनि अन्तरिम संविधानजस्तै पटक-पटक संशोधन गर्दै जानुपर्ने अवस्था आयो भने जनताको लगानी बालुवामा पानी हालेभन्दा बढी हुनेछैन। देशको मुहार नहेरी शासक र दलको मुहार हेरी बनाएको संविधान त हिजो पनि थियो। संविधानसभालाई बाइपास गरेर कोठे सहमतिमा बन्ने टालटुले संविधानले देशलाई दिशा निर्देश गर्न सक्दैन।

मै हुँ भन्ने सबैले राष्ट्रिय स्वार्थको घोटिचौथी खाइदिएमा जनताले बन्दाबन्दै भत्कने संविधानको व्यग्र प्रतीक्षा गर्नुपर्ने छैन। आफ्नो पक्षमा संविधान बनाउन कस्सिएकाहरूले आफ्नो स्वार्थ छाडेर देश र भावी पुस्ताको हितमा संविधान बनाउन खोजेमा अझै पनि सबैलाई समेट्ने सुन्दर संविधान नबन्ने भन्ने होइन। तर सबैले बुझ्नुपर्ने कुरा के हो भने सामाजिक सद्भाव र अमनचैन संविधानले मात्रै ल्याउने होइन हामी प्रत्येकको भावनाले ल्याउने हो। खराबै संविधान आएछ भने पनि हामी उत्तेजित नभएर देश बनाउन लागेमा समयले संविधानलाई आफैं ठीक पारेर लैजान्छ। यस सन्दर्भमा हामीले बेलायत विना संविधान पनि चलेकै छ भन्ने कुराको ख्याल राख्नैपर्छ।

कदाचित् संविधान कमजोर नै बनेछ भने पनि त्यसमा समाविष्ट मौलिक हकमा अर्काको हकको हनन हुनेगरी बन्द जस्ता कार्यद्वारा आफ्नो हकको प्रयोग गर्न नपाइने जस्ता देशबन्द विरुद्धको हक पनि समावेश भएर आयो भने त्यसलाई उत्तम संविधान मान्न सकिन्छ। कहिल्यै पनि बन्द गर्न नपाइने हकले हामीलाई उँभो लाग्न सघाउनेछ।

सत्तामा बस्नेले आफूलाई जनताको सेवक ठानेर र जनताले आफू देश विकासको एउटा आधार हो भन्ने जानेर काम गर्न सक्ने संविधान आउँछ भने त्यहाँ धर्म निरपेक्षता चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ अखण्ड प्रदेश चाहिन्छ, जातीय पहिचानको प्रदेश हुुनहुन्न, मेरो पहिचान के हो भनी कराउँदै हिंड्नुपर्ने अवस्था नै आउँदैन। यसैलेे नेताहरूले आफ्नो हैसियत सतही हुन नदिई गहन तुल्याउनु जरुरी छ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home