काठमाडौँ, जेठ १० गते। वाणिज्य विभागले बुधबार तीनकुने र सुविधानगरका विभिन्न खाद्यान्न तथा किराना पसलहरूमा अनुगमन गरी म्याद नाघेका खाद्य पदार्थ फेला पारेको छ। अनुगमनका क्रममा पुरानो चामललाई नयाँ राम्रो देखिने गरी विभिन्न नामको बोरामा भरी बेचबिखन गरेको, व्यवसाय प्रमाणपत्रमा कारोबार थप नगरिएको तथा मूल्यसूचि नराखेको पाइएको विभागका निर्देशक शंकरप्रसाद पौडेलले जानकारी गराउनुभयो।
विभागले तीनकुने संगमचोकको परि इण्टरप्राइजेजमा पुराने चामललाई नयाँ राम्रो देखिने गरी विभिन्न नामको बोरामा भरी बेचबिखन गरेकोमा सोको कारण खुलाई स्पष्टीकरणसहित तीन दिनभित्र वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
यसैगरी विभागले तीनकुने सुविधानगरस्थित आयुष जनरल स्टोर्स र विलर्स जनरल स्टोर्सलाई व्यवसाय दर्ताको प्रमाणपत्रमा कारोबार थप गरी सात दिनभित्र प्रमाणपत्र पेस गर्ने, मूल्यसूची राख्ने, बील बनाई ग्राहकलाई दिन निर्देशन दिएको छ। तीनकुनेस्थित हाम्रो किनमेल सपलाई मूल्य अभिवृद्धि कर
-भ्याट) बीलमात्र प्रयोग गर्न निर्देशन दिएको छ भने शंखमूलको साइराम स्टोरलाई व्यवसाय दर्ता प्रमाणपत्रहरू नवीकरण गरी तीन दिनभित्र विभागमा पेस गर्न निर्देशन दिएको छ ।