काठमाडौँ, जेठ १० गते। विगत केही दिनदेखि पत्रपत्रिकमा बैङ्कहरूका धितो लिलामसम्बन्धी सूचनाहरू प्रशस्तै मात्रामा देखिन थालेका छन्। राष्ट्र बैङ्कको नीतिअनुसार बैङ्कहरूको ऋण र त्यसको ब्याज उठ्न नसकेकाले ऋण असुलीका लागि कानुनी प्रक्रिया अगाडि बढाउन बैङ्कहरूले लिलामी सूचनाहरू प्रकाशित गर्न थालेको बैङ्कर्स सङ्घका उपाध्यक्ष राजनसिंह भण्डारी बताउनुहुन्छ। ६ सय अर्ब रुपियाँ बैङ्कको ऋण लगानी भएको ठाउँमा केही लिलामीका सूचनाहरू आउन स्वभाविक भएको उहाँको भनाइछ।
कुनै पनि बैङ्कले तीन महिनाभित्र आफूले गरेको कुल लगानीको ब्याजसहित २५ प्रतिशत ६ महिनाभित्र ब्याजसहित ५० प्रतिशत र नौ महिनाभित्र ब्याजसहित शत प्रतिशत ऋण उठाउन पर्ने राष्ट्र बैङ्कको प्रावधान रहेको छ। नेपाल राष्ट्र बैङ्कको सोही प्रावधान पूरा गर्न बैङ्कहरूले लिलामका सूचनाहरू जारी गर्न थालेको सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन बताउनुहुन्छ। राष्ट्र बैङ्कको प्रावधानअनुसार ऋण र ब्याज उठ्न नसके बैङ्कको नाफा घट्नेस्थिति हुन्छ त्यसैले सयममा उठ्न नसकेको ऋण असुलीका लागि दबाब दिन पनि बैङ्कहरूले लिलामीका सूचनाहरू प्रकाशित गर्न थालेका हुन सक्ने अर्का एक बैङ्कका अधिकारीले बताए।
लिलामीको सूचना प्रकाशित गर्न शत प्रतिशत असुली नभएकै अवस्था पुग्न नपर्ने भएकाले कुनै पनि ऋण आर्थिक वर्षको अन्त्यसम्ममा असुली नहुने मूल्याङ्कन बैङ्कले गर्यो भने ऋणीलाई दबाब दिन पनि लिलामी सूचना जारी गरिने प्रमुख कार्यकारी अधिकृत महर्जन बताउनुहुन्छ।
लिलामीको सूचना निकाल्नु भनेको बैङ्कको सकारात्मक नभएर नकारात्मक सूचाङ्क हो। लिलामीका सूचनाहरू बढी देखिए भने बैङकिङ क्षेत्रको लगानीमा समस्या छ भनेर बुझ्नुपर्ने बैङकिङ क्षेत्रका अधिकारीहरू बताउँछन्।
बैङ्कले गरेको लगानी समयमा उठ्न नसकेपछि ऋणीको धितो बिक्री गरेर बैङ्कले ऋण उठाउने गर्दछ। धितो बिक्रीका लागि सार्वजनिक सूचना जारी गर्नुपर्छ। यसरी गरिने धितो लिलामीका सूचनाले एकातिर ऋणीलाई ऋण तिर्न दबाब सिर्जना गर्छ भने अर्कातिर धितो बिक्रीका लागि कानुनी बाट खोल्ने बैङ्कर्सहरू बताउँछन्।
घरजग्गा, सवारी सधान र व्यक्तिगतरूपमा लिएको ऋणमा धेरै समस्या रहेको र अहिले प्रकाशित भएका लिलामीका सूचनाहरू पनि प्रायः तिनै ऋणसँग सम्बन्धित बढी रहेको बैङ्कर्सहरू बताउँछन्। अहिले घरजग्गा क्षेत्रको कारोबार माथि उठ्न नसकेकाले त्यस क्षेत्रको ऋणमा बढी जोखिम रहेको बैङ्कर्स सङ्घका उपाध्यक्ष राजनसिंह भण्डारी बताउनुहुन्छ। "अरू पनि कारोबार भएकाहरूले त तानतुन गरेर तिर्लान तर जसको घरजग्गाको मात्र कारोबार छ उसले तिर्न सक्ने अवस्था छैन" सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत महर्जन भन्नुहुन्छ। ं