|
काठमाडौँ, जेठ ११ गते। राष्ट्रपति डा. रामवरण यादवले संविधान, कानुन र अदालतको आदेशलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काको नेतृत्वमा गएका कानुन व्यवसायीहरूसँग बिहीबार शीतल निवासमा भएको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो।
संविधानसभाको म्याद थप्न नपाइने सर्वाेच्चको फैसलाविपरीत सरकारले अन्तरिम संविधान संशोधन विधेयक व्यवस्थापिका संसद्मा प्रस्तुत गरेपछि त्यसविरुद्ध नेपाल बारले विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिसमक्ष अनुरोधपत्र बुझाएको थियो।
अनुरोधपत्र बुझ्दै राष्ट्रपति डा. यादवले आफू कानुन र संविधानअनुसार चल्ने बताउँदै कानुन र संविधान सबैले पालना गर्नुपर्ने बताउनुभएको नेपाल बारका केन्द्रीय सदस्य योगेन्द्र अधिकारीले बताउनुभयो। "कानुनभित्र सबै बस्नुपर्छ, अदालतको फैसलालाई अवज्ञा गर्नु हुँदैन", राष्ट्रपतिलाई उद्धृत गर्दै उहाँले भन्नुभयो।
कानुन, संविधान र अदालतको फैसला नमान्दा दण्डहीनता बढ्छ, संविधानको संरक्षकको हैसियतले खेल्नुपर्ने भूमिका आफूले खेल्ने विश्वास राष्ट्रपतिले त्यस क्रममा व्यक्त गर्नुभएको अधिवक्ता अधिकारीले जानकारी दिनुभयो। |