काठमाडौँ, जेठ १४ गते। देशकै इतिहासमा पहिलोपटक जनताले चाहेजस्तो संविधान बनाउने उत्साहका साथ ठीक चार वर्षअघि संविधानसभामा प्रवेश गरेका सभासद्हरू आइतबार राति करिब ११ बजेतिर संविधानसभा भवनबाट निराश हुँदै बाहिरिनुभयो। केही महिला सभासद्ले मन थाम्न सक्नुभएन, सुकसुकाउँदै र सलले आँसु पुच्छ्दै संविधानसभाबाट बाहिर लाग्नुभयो।
बिहान ११ बजेका लागि बोलाइएको संविधानसभा बस्न नसकेर राति ११ बजेतिर सरकारले निर्वाचनको घोषणा गरेको सूचना प्राप्त गरेपछि उहाँहरू बाहिरिनुभएको हो। संविधानसभाको बैठक बस्छ कि बस्दैन भन्ने अन्योलबीच केही सभासद्हरू '१२ बजेसम्म बस्नुपर्छ कि Û' भन्दै आशामिश्रति शब्द व्यक्त गरिरहनुभएको थियो।
बाहिर निस्किएका अधिकांश सभासद्हरूले नयाँ निर्वाचन घोषणाको विरोध गर्नुभयो। संविधानसभालाई थाहै नदिइ भङ्ग गराउनु ठूला दलहरूको निरङ्कुशता भएको उल्लेख गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीका प्रमुख सचेतक अरविन्द साहले नयाँ निर्वाचनमा जानु ठीक नभएको बताउनुभयो। साहले भन्नुभयो, 'भङ्ग नै गर्ने भए पनि कमसेकम प्रधानमन्त्रीले हाउसमा आएर उत्तर दिनुपथ्र्यो।'
एकीकृत नेकपा माओवादीका तर्फबाट भोजपुरबाट निर्वाचित सभासद् पदम
राईले पनि निर्वाचन घोषणाको विरोध गर्दै प्रश्न गर्नुभयो- निर्वाचन कसरी घोषणा गरियो ? दुई वर्षमा संविधान बनाउने भनेर आएको चार वर्षमा पनि लेखिएन। अब फेरि अर्को चार वर्ष ठग्नका लागि किन निर्वाचन गर्ने ?'
संविधान घोषणा गर्ने अन्तिम दिन आइतबार नयाँबानेश्वरको संविधानसभा भवन राजनीतिक कारणले मात्र होइन, छिनछिनमा आउने फरक फरक सूचनाको कारण पनि वातावरण निक्कै तनावपूर्ण भयो।
सधँै अन्तिम घडीमा मात्र सहमति गर्ने राजनीतिक दलहरूको यस अगाडिको अभ्यासलाई उदाहरण दिँदै यहाँ उपस्थित प्रायः अधिकांश जसरी पनि संविधान जारी हुन्छ' भन्ने अनुमानका साथ आशावादी देखिन्थे। छिनमै 'मिल्यो मिल्यो' भन्ने सूचना आउने फेरि छिनमै 'मिलेको छैन' भन्ने खबरले संविधानसभा भवन परिसरमा उत्साह र निराशाको वातावरण
बराबर फेरिन्थ्यो।
यसबीचमा सञ्चारकर्मीहरूबीच कहिले 'पार्टीहरूबीच कुरा मिल्यो रे Û' भन्ने समाचार आउँथ्यो त कहिले 'होइन अझै कुरा मिल्न बाँकी नै छ रे' भन्ने खबर आउँथ्यो। सञ्चारकर्मीहरूको आ-आˆनो स्रोतबाट कहिले १० प्रदेशमा कुरा मिलेको त कहिले १४ मा कुरा मिलेको, कहिले बहुजातीय पहिचानमा आधारित आठ प्रदेशमा कुरा मिलेको त कहिले जातीय पहिचानविहीन ११ प्रदेशमा सहमति भएको कुरा आउँथ्यो।
यस्ता सानो सम्भावनाको जानकारी पाउनेबित्तिकै कतिपय विद्युतीय सञ्चारमाध्यमका सञ्चारकर्मीहरू तत्काल आˆनो स्टेसनमा जानकारी गराउनुहुन्थ्यो। शीर्ष दलका नेताहरू संविधानसभाको भवनबाहिर सहमतिको प्रयास गरिरहँदा भवन परिसरमा उपस्थित विभिन्न पार्टीका नेताहरूले छलफल जारी रहेको र कुरा सकारात्मक भएको बताउँथे। यसक्रममा एकीकृत नेकपा -माओवादी)का पोलिटब्युरो सदस्य लोकेन्द्र विष्ट मगरले करिब २ बजेतिर ८० प्रतिशत कुरा मिलिसकेको जानकारी गराउनुभएको थियो। यसबाट उत्साहित भएर कतिपय सञ्चारमाध्यमले सहमति भएको भन्दै प्रचार गरे।
दिउँसो ३ बजेदेखि दलहरूबीचको छलफल सकारात्मक भएको सूचनाहरू ब्ाारम्बार आइरहेपछि भवन परिसरभित्र संविधान बन्ने भो भन्ने उत्साह देखियो। साँझ ७ बजेसम्म पनि यही खबरले संविधानसभा परिसरको वातावरण निक्कै उत्साहित थियो। यसबीचमा सभासद्हरूले बैठक सुरु गर्न आग्रह गर्दै दुईपटक भवन परिसरमा नाराबाजी पनि गर्नुभयो भने संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीलाई राति ८ बजेदेखि घेराउ गर्दै बैठक सुरु गर्न दबाब दिनुभयो। भवनको उत्तरपट्ट िपानीट्याङ्कीछेउमा क्षत्री, ब्राहृमण, दशनामीलगायतका समुदायको धर्नामा अचानक झडप भएपछि वातावरण एकएक तनावपूर्ण भयो।
दिउँसैदेखि आक्रोशित नारा लगाउँदै धर्ना दिइरहेको यो समूहमा साँझ अन्तिमतिर माइकमा बोल्ने एक वक्ताले बहुजातीय प्रदेशमा सहमति भएको खबर छ, त्यो हामीलाई स्वीकार्य छैन भन्दै धर्नाका सहभागीलाई 'प्रहरीको घेरा तोड्न' आग्रह गरेपछि धर्नामा झडप भएको थियो। अँध्यारो बढ्दै गएपछि धर्नाकारीहरू चर्को नाराबाजीमा उत्रिएका थिए। धर्नामा झडप हुने सम्भावना बढ्दै गएपछि प्रहरीले पानीको फोहरा हान्ने यन्त्र ल्याएको थियो। यसले प्रदर्शनकारीलाई झन् उत्तेजित बनायो। संविधानसभाको बैठक सुरु नभए पनि बीचबीचमा विभिन्न दलका नेता तथा सभासद्हरूको आउने जाने क्रम भने निरन्तर चलिरहृयो।