काठमाडौँ, जेठ १४ गते। नेपाल स्टक एक्सचेन्जमा साताको पहिलो दिन भएको कारोबारमा नेप्से १४.३३ अङ्कको वृद्धिसहित ४१२.९२ को बिन्दुमा पुगेको छ।
मुलुकमा लामो समयदेखि राजनीतिक अस्थिरता कायम रहँदै आएको भए पनि दलहरूबीच अन्तिम सयममा संविधान निर्माण र शासकीय स्वरुपका बारेमा सहमति हुने सङ्केत देखा परेकोले नेप्सेमा त्यसको सकारात्मक असर देखिएको हो।
नेप्सेमा आइतबार तीन दशमलव ६ प्रतिशतको वृद्धि भएर पुनः चार सयको अङ्क पार गरेको छ भने कारोबार पनि उच्च भएको छ।
आइतबार नेप्सेमा जम्माजम्मी ७५ कम्पनीका एक हजार ५०६ वटा कारोबारबाट दुई लाख ९१ हजार ९३१ कित्ता सेयरको कारोबार भई, दस करोड सात लाख ३७ हजार ६२० रुपियाँ बराबरको सेयर खरिद-बिक्री भएका छन्।
राजनीतिक अस्थिरता व्याप्त भएको कारण समाचारको आधारमा नै नेप्से घट्ने र बढ्ने क्रम जारी नै रहेको भए पनि संविधान निर्माण गर्ने तिथि अन्तिम अवस्थामा आइपुगेको हुनाले संविधान जारी हुने भएको अवस्थामा नेप्से आगामी हप्ताभित्रै पाँच सयको हाराहारीमा पुग्ने विश्वास विज्ञहरूले गरेका छन्।
संविधान जारी नभएको अवस्थामा भने नेप्से बढ्ने क्रम रोकिने निश्चित भएको पनि विज्ञहरूले बताएका छन्।
आइतबारको कारोबारमा कमाउने प्रमुख कम्पनीहरूमा क वर्गका वाणिज्य बैङ्कहरू नै प्रमुख रहेका छन् भने सबैभन्दा बढी कारोबार हुने कम्पनीमा बैङ्क अफ काठमाण्डू नै रहेको पाइएको छ।
सो बैङ्कको कुल दुई सय पाँचवटा कारोबारबाट ३८ हजार ८४४ कित्ता सेयर कारोबार भई दुई करोड ६० लाख १५ हजार ७१ रुपियाँको सेयर खरिद-बिक्री भएका छन्।