काठमाडौँ, जेठ १७ गते। नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले परिवर्तित समयमा नेपालका राजनीतिक दलहरूबीच आम सहमति निर्माण हुन नसके देश विपतमा फस्ने खतरा रहेको बताउनुभएको छ।
बुधबार राजधानीमा सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त कुराकानीमा राजदूत डेलिसीले आम सहमतिका आधारमा मात्रै मुलुक स्थिरतातर्फ उन्मुख हुन सक्ने भन्दै दलहरूलाई सहमतिको राजनीतिक अवलम्बन गर्न आग्रह गर्नुभयो।
"नेपालका राजनीतिक दलहरू सहमतिका आधारमा अगाडि बढ्ने छन्। हालको अस्थिर राजनीतिक वातावरण स्थिरतातर्फ रूपान्तरण गर्न राजनीतिक दलहरूबीच आम सहमति बन्नेछ। यति बेला नेपाली जनताले अप्ठेराहरूको सामना गरिरहेका छन्, तर मलाई के विश्वास छ भने दलहरूबीच छिट्टै आम सहमति बन्नेछ", राजदूत डेलिसीले भन्नुभयो।
उहाँले नयाँ संविधान निर्माण तथा मुलुकमा सौहार्द वातावरण निर्माणका लागि राजनीतिक दलहरूबीच कठिन परिश्रम आवश्यक रहेको कुरा औँल्याउनुभयो।