काठमाडौँ, जेठ १८ गते। संविधानसभा विघटनको राजनीतिक घटनाक्रमसँगै मुलुकको अर्थतन्त्रमा प्रतिकूल प्रभाव पर्नसक्ने आशङ्का बीच अर्थमन्त्रालयले बजेटको तयारीलाई तीव्रता दिएको छ।
यताका दुई दिनमा उच्चस्तरीय बैठक र छलफल गरेपछि बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी बजेटको तयारीबारे अर्थमन्त्रालयले स्पष्ट गरेको हो। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट साझा सहमतिकै आधारमा ल्याउने स्पष्ट गर्नुभयो।
अर्थमन्त्री पुनले व्यवस्थापिका संसद् नरहेको अवस्थामा दलहरूको सहमतिमै सबै प्रक्रिया अगाडि बढाइने जानकारी दिँदै पारदर्शीता र जिम्मेवारीताका आधारमा बजेट बन्नेछ भन्नुभयो। प्रमुख राजनीतिक दलका आर्थिक क्षेत्र हेर्ने प्रमुखहरूसँग बजेट निर्माणबारे छलफल गरेर बजेट ल्याइने र त्यसैका लागि प्रयास भइरहेको भन्दै उहाँले देशको समग्र अर्थतन्त्र सकारात्मक दिशामा रहेको र लगानी मैत्री वातावरण बन्दै गएको अर्थमन्त्रीको भनाइ छ। पत्रकार सम्मेलनमा अर्थतन्त्रको मौजुदा अवस्थाको जानकारी पनि दिइयो। अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म एक खर्ब ९० अर्ब आठ करोड राजस्व सङ्कलन भएको छ। वैशाख मसान्तसम्म कुल लक्ष्यको ९८.६२ प्रतिशत राजस्व सङ्कलन भइसकेको छ। त्यसमा कर राजस्व रु. एक खर्ब ६३ अर्ब १८ करोड रहेको छ भने सो रकम वाषिर्क लक्ष्यको ९७.६७ प्रतिशत हो। त्यसमा वैशाखको लक्ष्यमा १०६.८८ प्रतिशत रहेको छ भने गैरकर राजस्वमा रु. २६ अर्ब ८९ करोड सङ्कलन भएको छ।
यसैगरी सरकारी खर्च रु. एक खर्ब ९० अर्ब ४२ करोड भएको छ सो रकम विनियोजित रकमको ४९.४७ प्रतिशत भएको मन्त्रालयले जनाएको छ। चालू खर्चमा एक खर्ब ५० अर्ब ७५ करोड रहेको छ। यसैगरी पुँजीगत खर्च रु. २१ अर्ब ६५ करोड छ भने वित्तीय व्यवस्था रु. १८ अर्ब एक करोड रहेको जनाइएको छ।
यसैगरी मुद्रास्फीति सात प्रतिशत रहेको छ भने विदेशी विनिमय सञ्चिति रु. तीन खर्ब ८६ अर्ब ९६ करोड र भारतीय मुद्रा -भारु) को सञ्चिति रु. ९० अर्ब रहेको छ। धितोपत्र बजारमा पनि वैशाख मसान्तसम्मको अवस्था सूचीकृत कम्पनीहरूको सङ्ख्या दुईसय १५ रहेको छ। जसमा धितोपत्र पुँजीकरणतर्फ रु. तीन खर्ब ६४ अर्ब २० करोड रहेको छ। यो गत महिनाभन्दा २१ प्रतिशतले बढी हो। कारोबारतर्फ भने रु. एक अर्ब ८६ करोड ९३ लाख रहेको छ जुन गत महिनाभन्दा ४५ प्रतिशतले बढी हो।
यस्तै बिहीबारको नेप्से परिसूचाङ्क ३७३.५५ रहेको छ भने जीवन बीमातर्फ रु. ३३ अर्ब ८९ करोड ८५ लाख लगानी रहेको छ। यो गत महिनाभन्दा दुई दशमलव ७५ प्रतिशतले बढी हो भने निर्जीवन बीमातर्फ रु. सात अर्ब ४१ करोड ६९ लाख रहेको छ। यो पनि गत महिनाभन्दा एक दशमलव ९२ ले बढी हो। यस्तै वैदेशिक व्यापारतर्फ वैशाख मसान्तसम्म ३० अर्ब ४१ करोड रहेको छ भने व्यापार घाटातर्फ वैशाख मसान्तसम्म रु. तीन खर्ब सात अर्ब ५३ करोड रहेको छ। सुनचाँदी र हीराको आयात वैशाख मसान्तसम्म ३ अर्ब ९ करोड रहेको छ भने शोधानान्तर स्थिति धनात्मक रही रु. ९१ अर्ब ३७ करोड रहेको पत्रकार सम्मेलनमा दिइएको छ।
पत्रकार सम्मेलनमा अर्थ सचिव कृष्णहरि बाँस्कोटाले सरकारले घोषणा गरेको निर्वाचनलाई ध्यान दिएर आगामी आर्थिक वर्षको बजेट तयार गर्ने बताउँदै आर्थिक क्षेत्र सन्तोषजनक रहेको र यसले लगानीमैत्री वातावरण समेत बनाएको बताउनुभयो। उहाँले आगामी बजेटले निजी क्षेत्रलाई अरू बढी प्राथमिकता दिने छ भन्नुभयो।